६ जेष्ठ २०८१, आइतबार

अशोक राई नेतृत्वको पार्टी जसपा निर्वाचन आयोगमा दर्ता


अशोककुमार राई

काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) दर्ता गरेको छ । जसपा नेपालबाट विभाजित भई नयाँ पार्टी दर्ताका निम्ति हिजो आइतबार दिएको निवेदनलाई आयोगले आज सोमबार पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ । राईले आधिकारिकता दाबी गर्दै हिजो निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उपेन्द्र यादव नेतृत्वको जसपासँग संघीय संसदमा १२ सांसदहरुमध्ये ७ सांसद लिएर राई निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोग पुग्ने सांसदहरुमा अशोक राई, नोबलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका थिए ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएका छन् । जसपा अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका छन् ।

आयोगले राई समूहले दिएको निवेदन २४ घण्टा नबित्दै दल दर्ताको निर्णय गरेको हो । नयाँ दर्ता भएको पार्टीमा राजेन्द्र श्रेष्ठ संघीय परिषद्का अध्यक्ष, अशोक राई अध्यक्ष, रेणुकुमारी यादव सहअध्यक्ष र मोहमद इस्तियाक राई महासचिव रहेका छन् ।

यता जसपा नेपालले नयाँ दल दर्ताको निवेदन अवैधानिक भएकोले पार्टी विभाजन नभएको दावी गरेको छ । आज सोमबार एक विज्ञप्ति जारी गर्दै जसपाका प्रवक्ता मनीष सुमनले अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् ।

प्रवक्ता सुमनले हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य दलप्रति नै प्रतिबद्ध रहेको दाबी गर्दै पार्टी विभाजन नभएको दाबी गरेका हुन् ।

केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको दाबी समेत उनले गरेका छन् । उक्त विज्ञप्तिमा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न समेत आग्रह गरिएको छ ।

उनले जसपा दल विभाजनसम्बन्धी समाचारबारे पार्टीको ध्यानाकर्षण भएको समेत जनाएका छन् । नेता अशोक राईको नेतृत्वमा केही केन्द्रीय सदस्य र सांसद जसपा नेपालबाट अलग भई नयाँ पार्टी दर्ताका निम्ति आइतबार निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

यो पनि पढ्नुहोस्

नयाँ दल दर्ताको निवेदन अवैधानिक भएकोले पार्टी विभाजन भएको छैन : जसपा

जसपा फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई पुगे निर्वाचन आयोग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !