२५ बैशाख २०८१, मंगलबार

यौन व्यवसायी भन्छिन्, “यदि मैले यौनसम्पर्क गरिन भने म भोकले मर्नेछु”


यौन

ब्राजिलको रियो द जेनेरियो शहरका गल्लीहरु खाली छन् र सडकहरु सुनसान छन् । सामाजिक दूरीका कारण मानिसहरु एक अर्काबाट टाढा छन् । यसको सबैभन्दा ठूलो असर यौनकर्मीहरुमाथि परेको छ । खास गरी ट्रान्सजेन्टर यौनकर्मीहरुमाथि । ट्रान्सजेन्डरको मामिलामा ब्राजिल पहिलेदेखि नै सबैभन्दा खतरनाक देश मानिँदै आएको छ । यहाँ ट्रान्सजेन्डर यौनकर्मीहरुमाथि कोरोनाको दाहोरो मार परिरहेको छ । ग्राहक र आम्दानी नभएका कारण यहाँ ट्रान्स यौनकर्मीहरुले कैयौं गम्भीर समस्याहरुको सामना गर्नु परिरहेको छ ।

उत्तर पूर्वी ब्राजिलकी ४४ वर्षकी एल्बा तबरेज भन्छिन् ‘तपाइँ खाली सडकहरु, बन्द पसलहरु र गिर्दो अर्थव्यवस्था देख्न सक्नुहुन्छ । म अहिले वेश्यावृत्तिको त्यो दौडमा छैन । तर, हो, मैले अहिले पनि यो काम गर्छु । यहाँ अब धेरै कम ग्राहक छन् । ब्राजिलमा डर र पक्षपातका कारण कैयौं ट्रान्सजेन्डर देह व्यापार गर्न बाध्य छन् । तर, उनीहरुको लागि यो बाटो सजिलो छैन । एल्बा तबरेज भन्छिन् ‘यहाँ त्यो मात्र जीवित रहन सक्छ जो निकै बलियो छ र म निकै कमजोर छु । गरिब र ट्रान्सजेन्डर हुनुले मलाई अझै कमजोर बनाउँछ । यद्यपि यदि म गरिब नभएर ट्रान्स मात्र हुन्थें भने पनि यो भेदभाव जारी रहन्थ्यो ।’

ट्रान्सजेन्डरहरुको लागि काम गर्ने संगठन ट्रान्सजेन्डर युरोपका अनुसार ब्राजिलमा यिनीहरुको लागि कैयौं आन्दोलन भइरहन्छन् तर यति हुँदाहुँदै पनि यो ट्रान्सजेन्डरहरुको लागि विश्वका सबैभन्दा खतरनाक देशहरुमध्ये एक हो । पूरै विश्वमा ट्रान्सजेन्डरहरुको हत्याको सबैभन्दा बढी दर यहीँ छ । कोभिड १९ को चुनौतीहरुको सामना गरिरहेकी उल्बा भन्छिन् ‘हामीलाई सरकारको तर्फबाट धेरथोर सहयोग प्राप्त भइरहेको छ तर त्यो पर्याप्त छैन । यहाँ अपराध र भ्रष्टाचार अत्यन्तै धेरै छ र यिनीहरुलाई रोक्नको लागि सरकारको प्रयास निकै कम छ ।’ एल्बा रियो द जेनेरियोमा बसेको २० वर्ष भयो । एल्बाका अनुसार उनका धेरैजसो ग्राहक पुरुष छन् ।

उनी भन्छिन् ‘यो वास्तवमा कठिन छ किनकि सडकमा लगभग कोही छैन । म एक यौनकर्मी हुँ र यो मेरो लागि भयानक छ । ग्राहकको खोजीमा म अहिले पनि बाहिर जान्छु किनकि यदि म आफ्नो काममा गइन भने म भोकले मर्नेछु ।’ २६ वर्षकी स्टेफनी गोनक्लेभ दक्षिणपूर्वी ब्राजिलमा एक ट्रान्स यौनकर्मी हुन् । स्टेफनीका अनुसार रियोमा कोरोनाभाइरस फैलिएपछि जिन्दगी निकै कठिन भएको छ । स्टेफनीले भनिन् ‘ट्रान्सजेन्डर भएका कारण हाम्रो लागि पहिले पनि कठिनाइ कम थिएनन् र अब यो अझै बढी भएको छ । कोरोनाको खतरा हामीलाई धेरै छ त्यसैले अब म घरमै छु ।’

स्टेफनी अगाडि भन्छिन् ‘यौन कामको अलावा मैले कहिल्यै कुनै अरु काम गरिन । खुसीको कुरा यहाँ केही मानिसहरु यस्ता छन् जो हाम्रो बाध्यता बुझ्छन् र मलाई खाना दिएर जान्छन् । यद्यपि यता मानिसहरु धेरै कम छन् ।’ एलजीबीटी समुदायको लागि काम गर्ने कैयौं संगठनले यिनीहरुको लागि खानाको व्यवस्था गरिरहेका छन् । यी संगठनले घरमा बसिरहेका यौनकर्मी ट्रान्सजेन्डरहरुलाई अन्य कामको विकल्प पनि दिइरहेका छन् । यीमध्ये केही यौनकर्मी अब घरमा बसेर फेस मास्क बनाउने काम गरिरहेका छन् ।-द गार्डियन/डिसीनेपालको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !