२४ बैशाख २०८१, सोमबार

कोभिड १९ : देशभर आधा लाख नमूना परीक्षण


डीएनए परीक्षण

काठमाडौँ, १३ वैशाख । सरकारले हालसम्म कूल ४९ हजार ३३६ बराबरको परीक्षण गरेकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर परीक्षण सङ्ख्या नौ हजार ६६६ रहेको छ भने ¥यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट गरिएको परीक्षण ३९ हजार ६७० पुगेको छ ।

त्यस आधारमा कूल परीक्षण ४९ हजार ३३६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा मात्रै थप एक हजार ९४५ नमूना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार १६० परीक्षण गरिएको छ । प्रदेश नं २ मा कूल पाँच हजार ४४, वाग्मती प्रदेशमा कूल सात हजार ४६७ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा कूल चार हजार ८७१, प्रदेश नं ५ मा दुई हजार ९५०, कर्णाली प्रदेशमा चार हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा कूल १० हजार २०४ नमूना परीक्षण गरिएको छ ।

हालसम्म कूल १४ हजार ७३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कूल ८७ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौँमा तीन र बाहिर ८४ रहेका छन् । पछिल्लो २४ घण्टामा मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कूल एक हजार ९०० जनाले फोन सम्पर्क गरेका थिए । उक्त फोन सम्पर्कलाई सम्बन्धित चिकित्सकले आवश्यक समाधान गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एपमा कूल २५ हजार ९०६ जनाले मूल्याङ्कन फाराम भरेकामा तीन जनाको अवस्था जोखिमपूर्ण देखिएकाले टे«सिङ गर्ने कार्य जारी रहेको छ । हालसम्म कूल रेड जोनमा भने २९० जना रहेका छन् । शुक्रबार साँझ झापाको दमकका एक ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ फेला परेको थियो । गत चैत ४ गते दुबईबाट नेपाल आएका ती पुरुषको छोरासहितको परीक्षण गर्दा ६५ वर्षीय पुरुषमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

यस्तै धौलागिरि अस्पतालले शुक्रबार साँझ नै एक कोरोना सङ्क्रमित युवतीलाई घर पठाइएको थियो भने भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि घर पठाउने तयारी गरिएको छ । हालसम्म देशभर कूल ४९ जना कोरोना सङ्क्रमित देखिएकामा १२ निको भएर घर फर्किसकेका छन् । हाल धनगढीमा एक, वीरगञ्जमा पाँच भरतपुरमा एक विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपचारमा रहेकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

सो अवसरमा गर्मी बढ्दै गएको अवस्थामा औलो रोगको जोखिम बढ्न जाने अवस्था रहेकाले त्यसबाट पनि सुरक्षित रहनसमेत मन्त्रालयले आम जनसमुदायमा आग्रह गरेको छ । आज संसारभर नै विश्व औलो दिवस मनाइएको छ । यस वर्षको औलो दिवसको नारा ‘आफैँबाट शुरु गरौँ, औलोलाई शुन्य बनाऔँ’ रहेको छ । संसारभर नै प्रतिदुई मिनेटमा औलाका कारण एक जनाको ज्यान जाने गरेको छ । लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले घर वरपर विशेष स्वास्थ्य सफाइ गर्नसमेत सो अवसरमा प्रवक्ता डा देवकोटाले आग्रह गर्नुभयो ।

नेपालले सन् २०२५ सम्म औलो पूर्णरुपमा उन्मूलन गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ । “गर्मी याम शुरु भएकाले क्वारेन्टाइनमा रहेकाकोसमेत औलोको परीक्षण गरिएको छ, औलोको जोखिमबाट आफू पनि बचाँै र अरुलाई पनि बचाऔँ”, प्रवक्ता डा देवकोटाले भन्नुभयो । औलोबाट विशेष गरी गर्भवती महिला र बच्चालाई जोगाउनुपर्ने जानकारी दिँदै उहाँले कोभिड– १९ बाट जोगिँदै गर्दा औलोको पनि जोखिम बढ्न सक्ने भएकाले त्यसमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा जागेश्वर गौतमले लकडाउनको समयमा घरमै रहँदा गर्भवती महिलाले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले स्यानिटाइजर तथा हात साबुन पानीले हात धुन, सकभर भिडभाडमा नजान, चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नसमेत आग्रह गर्नुभयो ।

उहाँले ठूलो समस्या नपरी अस्पताल नजान आग्रह गर्दै ज्वरो आए, प्रेसर बढ्यो शरीर सुन्निएको अवस्थामा भने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल आउनसमेत आग्रह गर्नुभयो । गर्भवती महिलालाई केन्द्रित गरेर नै अस्पतालले सेवा दिएको उल्लेख गर्दै उहाँले कोभिड– १९ भएका गर्भवती महिलालाई समेत आवश्यक सेवा दिने गरी श्यया तयार गरिएको र चिकित्सकको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !