२० बैशाख २०८१, बिहिबार

काठमाडौं उपत्यका कोरोनाको ‘हट स्पट’ बन्ने खतरा : संक्रमितको संंख्या ११०० नाघ्यो


लकडाउनको समयमा काठमाडौँ उपत्यकाको जनजीवन

काठमाडौं, साउन २५ । काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड-१९) संक्रमणको’हट स्पट’ बन्ने खतराको संकेत देखिन थालेको छ । योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ११०० नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना संक्रमितको कुल संख्या ११३६ पुगेको हो । काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडौं उपत्यकामा आज थप ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ९० जना र ललितपुर जिल्लाका २ जनामा कोरोना संक्रमण देखिएको छ । भक्तपुर जिल्लामा आज कोरोना संक्रमण देखिएको छैन । हिजो काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आइतवार मात्र देशभरका कुल ३८० जना संक्रमितमध्ये ९२ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँमा मात्र ९० जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले आज आईतबारदेखि १५ दिनसम्म सटडाउनको निर्णय गरेका छन् भने सवारी साधनहरुमा पनि जोरबिजोर प्रणाली लागू गरिएको छ । राती ९ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन निषेध गरिएका छन् ।

कोरोना संक्रमण नियन्त्रण बाहिर जाने संकेत

कोरोना महामारी सहर केन्द्रित हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साउन २१ गते मंगलबार विज्ञ र राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण बाहिर जाने त होइन भनेर विज्ञहरुसँग कसरी कोरोनामाथि नियन्त्रण जारी राख्ने भन्ने सुझाव लिएका छन्  ।

गत ६ गते रातिदेखि सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेपछि सहरी क्षेत्रमा कोरोनाको महामारी देखिन थालेको छ । वीरगञ्ज, विराटनगर, जनकपुर, राजविराज, नेपालगञ्ज लगायतका सहरको साथै काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । यही रुपमा कोरोना बढ्दै जाने हो भने जनस्वास्थ्य क्षेत्रमा कमजोर रहेको नेपालले कोरोनालाई नियन्त्रणमा राख्न हम्मेहम्मे पर्नेछ ।

विज्ञहरुको अनुसार यही रुपमा कोरोना संक्रमण बढ्दै जाने हो भने काठमाडौंमा तथा मुख्य सहरहरुमा कोरोना नियन्त्रण बाहिर जाने पक्का जस्तै छ । विज्ञहरुको कुरा सुनेपछि सरकारले कोभिड-१९ संकट व्यवस्थापन सेन्टरको निर्णय अनुसार थप कदम चाल्ने भएको छ । पूर्णलकडाउन लगाउँदा अर्थतन्त्र थला पर्ने भएकाले सरकारले तोकेका मापदण्ड पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न दिनेछ ।

केही विज्ञहरुले भने अब बढीमा दुई साता कोरोनाको संक्रमण बढ्ने भन्दै त्यसपछि पनि अन्तर्राष्ट्रिय सीमानाका भने बन्द नै गर्नुपर्ने सुझाएका थिए । विदेशबाट आउनेहरुमा कोरोना जोखिम धेरै भएको कारण सिमाना बन्दै गर्नुपर्ने सुझाव आएको हो । सरकारले कोरोना परीक्षणको दायरा अझै फराकिलो पार्न काठमाडौं उपत्यकामा १४ वटा अस्पताललाई कोरोना परीक्षणको जिम्मा दिएको छ । यसले पनि कोरोना संक्रमण तीव्र बढेको र नियन्त्रणबाहिर जान लागेको संकेत गर्छ ।

काठमाडौं उपत्यकामा २७ प्रतिशतले मास्क लगाउँदैनन्, लगाउनेले पनि जान्दैनन् ’

काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा पालना नभएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले देखाएको छ । ३९ जना टोलीले २ दिनसम्म तरकारी बजार, बैंक तथा वित्तीय संस्था, मालपोत, सार्वजनिक यातायात मठ मन्दिर लगायतका सार्वजनिक स्थलहरुमा अवलोकन विधिबाट अध्ययन गरेको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले अनुसन्धानको नतिजा सार्वजनिक गर्दै ४५०२ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मास्क लगाएका थिए भने २७.१ प्रतिशतले मास्क नलगाएको बताएका छन् । मास्क लगाउनेमध्ये कपडाको मास्क १५.८ प्रतिशतले लगाएका थिए । मास्‍क लगाउने २७०३ मध्ये सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६६ रहेको छ ।

उनका अनुसार नाकमुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुण्ड्याउने, हातमा झुण्ड्याउने वा मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउनेको संख्या २७.३४ रहेको पाइएको छ । तरकारी बजार, मल, बैंक, मालपोत, मठमन्दिर, होटलको अनुगमन गर्दा कमै स्थानमा मात्र भौतिक दुरी अर्थात २ मिटरको मार्किङ कमै स्थानमा मात्र गरिएको पाइएको छ ।

उनका अनुसार मार्किङ गरिएका स्थानहरुमा समेत ३१.२५ प्रतिशत स्थानमा मात्र भौतिक दुरी कायम भएको भेटिएको छ । साबुन पानी र स्यानिटाइजर लगभग ६० प्रतिशतमा मात्र थियो’ उनले भने । निजी र सरकारी अस्पतालहरुमा ओपीडी, फार्मेसी र किटक काउन्टरमा भौतिक दुरीका लागि मार्किङ गरिएको भेटिएको । तर कुनै पनि अस्पतालको चमेना गृहमा मार्किङ छैन । २० प्रतिशत अस्पतालमा मात्र भौतिक दुरी कायम भएको थियो ।

यस्तै ३० वटा सार्वजनिक यातायातको अनुगमन गर्दा ५० प्रतिशतभन्दा कम यातायातमा मात्र एक पङ्तिको एक सिटमा यात्रु बस्ने लगायतका मापदण्ड पालना भएको पाइएको छ । अध्ययन प्रतिवेदनको निष्कर्ष सार्वजनिक गर्दै उनका अनुसार जनमानसमा जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’ प्रभावकारी ढंगबाट पालना भएको नपाइएकोले गर्दा सार्वजनिक स्थलमा अनुगमन गर्न आवश्यक छ ।

अत्यावश्यक काम भन्दा बाहेक घरबाट ननिस्कन मन्त्रालयद्वारा आग्रह

सहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको र यही बेला लकडाउन अन्त्य हुँदा सहरमै मानिसको भीड बढेको छ । मानिसको भीड बढेको कारण नेपालले थोग्नै नसक्ने गरी कोरोना संक्रमण बढ्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरुको संख्या नियन्त्रण बाहिर जाने तरिकाले बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ भन्दा मुनि र ६० वर्षभन्दा माथिका कसैलाई पनि घर बाहिर ननिस्किन भनेको छ भने अरुलाई पनि अत्यावश्यक काम भन्दा बाहेक अरु बेला घरबाट ननिस्कन भनेको छ ।

काठमाडौं उपत्यका कोरोनाको ‘‘हट स्पट’ बन्ने खतरा

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्की बताउछन् ।

काठमाडौँ उपत्यकामा यातायात पूर्वाधारको राम्रो व्यवस्था नभएको र कार्यालय सञ्चालनमा रहेकाले आम मानिस जोरबिजोरबीच बाध्य भएर जोखिमपूर्ण यात्रा गर्दा रोगको सङ्क्रमण बढ्न थालेको महसुस भएको छ । गत बिहीबारदेखि जोरबिजोर लागू गरिएपछि सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउने भनी यसअघि यातायात व्यवस्था विभागले लागू गरेको नियमको पनि पालना नभएको यात्रुको गुनासो छ । भौतिक दूरी कायम नगरे कोरोनाको जोखिम जहाँसुकै हुने देखिन्छ । पछिल्लो समय उपत्यकाका रेष्टुरेन्टमा भीड बढेको छ ।

ट्राफिकले ३२ स्थानमा जाँच केन्द्र राखेर सार्वजनिक यातायातको अनुगमन गरिरहेको भने पनि स्थलगत रुपमा त्यस्तो नदेखिएको यात्रुको गुनासो छ । राजधानीको काठ क्षेत्रमा चल्ने सवारी साना छन् । दुईजना समेत बस्न नमिल्ने सिटमा विगतमा बस्दा पनि कोचिनुपर्ने पीडा भोगेका यात्रु हाल कोरोना सर्ने चिन्तामा आवतजावत गर्न बाध्य छन् । कोरोनाको महामारीका बेला सरकारले ५० प्रतिशतभन्दा बढी भाडा लिन पाउने भनी बनाएको नियम लागू गर्ने सवारीका परिचालकले सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्नुपर्ने नियमलाई भने बेवास्ता गरेका छन् । भीडभाड सवारीमा कोरोना सर्ने जोखिम उच्च हुन सक्ने यात्रुको गुनासो छ ।

कोरोना संक्रमितको संख्या उपत्यकामा दैनिक बृद्धि भएसंगै उपत्यकाको अवस्था जटिल बन्दै गएको छ । बाक्लो जनघनत्व भएको शहरी क्षेत्र भएका कारण पनि उपत्यकामा समुदायमा संक्रमण फैलिने खतरा बढेको छ । काठमाडौ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । साथै काठमाडौँ उपत्यकामा उपचार गर्ने स्वास्थ्यकर्मीहरु र सुरक्षा गर्ने प्रहरीहरु नै कोरोना संक्रमित भई सकेका छन् । स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

लकडाउन खुकुलो भएसँगै अन्य जिल्लाबाट काठमाडौं भित्रिनेहरुको संख्या पनि दिनहुँ बढिरहेको छ । जसले काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढ्दै गएको छ । दिनहुँ ठूलो संख्यामा संक्रमित थपिनु र सामाजिक दूरीलाई वेवास्ता गरिंदा काठमाडौं उपत्यका कोरोनाको ‘हट स्पट’ बन्ने खतरा देखिएको स्वास्थ्यकर्मीहरु नै बताउँछन् । काठमाडौँ उपत्यकामा यसरी कोरोना संक्रमण फैलिदै जाने हो भने यदि कोरोना संक्रमण समुदायमै फैलिएमा स्थित दयनीय हुने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !