१९ बैशाख २०८१, बुधबार

रक्सी सेवन गर्दा स्वास्थ्यमा हुने घातक असरहरु


रक्सी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सत्य युगमा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा अमृत, मदिरा लगायत अन्य अनेकौँ चिजहरू उत्पन्न भएको कुरा हाम्रा धर्मग्रन्थहरूमा उल्लेख भएकाले मदिराको उत्पत्ति आदिकालदेखि नै भएको अनुमान लगाउन सकिन्छ ।

आवश्यकता भन्दा अधिक मात्रामा मदिरा सेवन गर्दा अरू प्रकारका भोजनहरूबाट प्राप्त शक्ति सञ्चय हुँदै गएर मानिस मोटाउन सक्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । हप्तामा कतिसम्म मद्यपान गर्दा शरीरलाई हानि पुग्दैन भन्ने विषयमा ध्यान पुग्न आवश्यक छ ।

ठिक्क मात्रामा खाएको रक्सीले इन्सुलिनलाई क्रियाशील तुल्याउँछ भन्ने कुरा विशेषज्ञहरूले पत्ता लगाएका छन् । मद्यपानले प्लेटलेटलाई रक्तनलीहरूभित्र टाँसिन दिँदैन र रगतलाई जमाउने पदार्थहरूलाई नियन्त्रण गरेर रक्त नलीभित्र रगत जम्न दिँदैन । यसरी मुटुलाई रगत पुर्याउने रक्तनलीहरूमा रगत जम्न नदिएर हृदयाघात हुन दिँदैन ।

यो कुरा मद्यपानको राम्रो पक्ष भए तापनि ज्यादा रक्सी खानेहरूलाई कलेजोको नराम्रो रोग लाग्न सक्छ । यसर्थ ज्यादा मद्यपान नगर्नु नै बुद्धिमानी हुन्छ । अल्प रक्त प्रवाह र हृदय रोगबाट बच्ने अनेकौँ उपायहरू छन् । तीमध्ये मद्यपानलाई पनि लिन सकिन्छ ।

उचित मात्रामा जुनसुकै किसिमको मदिरा सेवन गरे तापनि अल्प रक्त प्रवाह र हृदय रोगको जोखिमलाई कम गराउन सकिन्छ भन्ने तथ्यलाई वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । रेड वाइन सेवन गर्नाले हृदयाघात हुनबाट बच्न सकिन्छ भन्ने कुरा बढी प्रचारमा आएको भए तापनि सबै प्रकारका मदिरा सेवन गर्नाले अल्प रक्त प्रवाह र हृदय रोग हुनबाट बच्न सकिने तथ्य अध्यनबाट सिद्ध भइसकेको छ ।

मद्यपानका बेफाइदाहरू

मदिरा सेवन गर्ने व्यक्तिहरूलाई विभिन्न प्रकारका रोगहरू लाग्न सक्ने सम्भावना हुन्छ । मानिसले सेवन गरेको रक्सीको दहन क्रिया कलेजोमा हुन्छ । अल्कोहल डिहाइड्रोजनेज नामक इन्जाइमको मद्दतले अल्कोहल एसिटल्डेहायडमा परिणत हुन्छ, जुन कलेजोमा गएर एसिटेटमा परिवर्तित हुन्छ ।

मदिराको सेवन बढी गर्नाले कलेजोमा प्रतिकूल प्रभाव पारेर सिरोसिस नामक कलेजोको रोग गराउन सक्छ भन्ने कुरामा विशेषज्ञहरू विश्वास गर्छन् । अत्यधिक मात्रामा मद्यपान गर्ने व्यक्तिहरूको कलेजो सुकेर हुने रोगलाई सिरोसिस भनिन्छ ।

कलेजोको यस्तो रोगमा खाने नलीभित्रका शिराहरू फुलेर अचानक रक्तश्राव हुने सम्भावना हुन्छ । एक पटक कलेजोको सिरोसिस भइसकेपछि यो रोग निको हुने सम्भावना हुँदैन । त्यसैले यो रोग हुन नदिनु नै बुद्धिमानी हुन्छ ।

रक्सी सेवन गर्ने मानिसहरूले आवश्यक मात्रामा प्रोटिन पदार्थ खानु बुद्धिमानी हुनेछ । धेरै समयसम्म अत्यधिक रूपमा मदिरापान गर्ने व्यक्तिहरूको मस्तिष्कमा प्रभाव परी विभिन्न रोग लाग्ने सम्भावना रहन्छ । रक्सी सेवन गर्ने बाबु आमाका सन्तान पुड्का मन्द मस्तिष्कका रोगी खालका जन्मन्छन । यस्ता बच्चाहरू लडाकु बाबु आमाको भनाई नमान्ने खालका हुन्छन् ।

नोट : स्वास्थ्यका दृष्टिकोणले कुनैपनि चिज बढी खानु हानीकारक हुन सक्छ । रक्सीको सेवनले कसैलाई पनि फाइदा नहुने भनेको छ । सेवन गर्दा स्वास्थ्यलाई ध्यानमा राखेर सेवन गर्नुस भन्ने हाम्रो राय छ ।

यो पनि पढनुहोस्

रक्सी छोड्ने सफल उपचार

रोग लाग्नुको मुख्य कारण हो खानपिन

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !