१५ बैशाख २०८१, शनिबार

निर्मला हत्याकाण्ड : एक वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सरकार असफल


निर्मला पन्त
राम मगर
     राम मगर

हामी नेपाली कुन युगमा छौं सरकार ? देशलाई बिगार्ने र सपार्ने सम्पूर्ण अभिभारा सरकारकै हो । सरकारले सहि बाटो देखाए त्यहि बाटोमा हिड्ने हामी नेपालीहरु हौ । सरकारले नै बनाएका ती ऐन, कानुन र नियमलाई परिपालना गरेर हिड्ने हामी सोझा नेपाली । देशलाई कुन दिशातर्फ लैजाने भन्ने सबै उत्तरदायित्व सरकारको नै हातमा छ । सत्तामा भएर पनि देशलाई सहि बाटोमा हिडाउन के कुराले रोक्यो सरकारलाई ?

सत्तामा रहेकाले एकचोटी सोचौ र समिक्षा गरौ त संगैका छिमेकी देशहरु कहाँ पुगिसके अनि आफुलाई तुलना गरौ त नेपाल कुन स्थानमा छ भनेर । केहि वर्ष अगाडी नेपाल जस्तै अन्य देशहरु अहिले आर्थिक र विधिको शाशन कायम गर्ने हिसाबले धेरै माथि उठी सकेका छन् । तर नेपालमा भने एउटा महिलामाथि बलात्कारपछि हत्या भएको १ वर्ष पुग्दा पनि पत्ता लगाउन नसक्ने सरकारलाई कुन शब्द प्रयोग गरेर सम्मान गरौं ।

सन्दर्भ हो कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त । पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको हत्या भएको आज १ वर्ष पुरा भएको छ । तर पनि सरकारले बलात्कार गर्ने दोषी समेत पत्ता लगाउन सकेको छैन । न्यायको लागि उनका बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त धर्ना बसेका थिए । त्यहि धर्ना र छोरीको न्यायको भिख माग्ने क्रममा उनका बुबा पन्तको मानसिक सन्तुलन गुमेको संकेत देखिएको थियो ।

यतिमात्र नभईकन निर्मला पन्तका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त आफ्नो छोरीको न्यायको लागि काठमाडौंसम्म भौतारिदै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रामवहादुर थापा वादलसँग पनि न्यायको भिख माग्दै भेट गरेका थिए । भेटघाटमा हत्यारा चाँडो भन्दा चाँडो पत्ता लगाइनेछ र न्याय दिइनेछ भन्दै विश्वास दिलाएका थिए । तर आज १ वर्ष बितिसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन । हत्याको छानविनका विशिष्ट समितिहरुलाई निलम्वन गरेर पनि नँया समितिलाई खटाएका थिए । तर खास हत्यारा को हो भन्ने अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् ।

आफ्नो छोरीको बलात्कारपछि हत्या गरिएको हत्यारालाई सजाय माग्दै एक वर्षदेखि तड्पिरहेका निर्मलाका बुवा र आमाको आश त्यतिकै मर्ने बेला भइसकेको छ । तर पनि सरकार मौन देखिन्छ । यस मुद्धा अन्तर्राष्ट्रियकरण हुनुको साथै सरकारमाथि पटक-पटक दवाव परेपनि सरकारले भने अझसम्म हत्यारा पत्ता लगाई कारबाही गर्न सकेको छैन ।

आन्दोलन

यस विषयमा विभिन्न संसस्थादेखि मानव अधिकार कर्मीदेखि लिएर विभिन्न राजनीतिक दलका नेताहरुले पनि मुद्दा उठाउँदै आएका छन् विभिन्न खालका आन्दोलनहरु पनि मानव अधिकार कर्मीले नगरेको होइन शान्तिपूर्ण आन्दोलन गर्दै गर्दै मानब अधिकार कर्मीमाथि दमन पनि गरेकै हो सरकारले तर पनि आज एक वर्ष बितिसक्दा पनि सरकारले हत्यारा भने पत्ता लगाउन सकेको छैन

प्रहरी निलम्बन

निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्वन गरिसकेको छ । प्रहरी प्रधान कार्यालयले निर्मला पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा धामी र साउदलाई खटाएको थियो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले अनुसन्धानका क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले धामी र साउदलाई गत असोज २२ निलम्वन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई दोषी भन्दै प्रहरीले नियन्त्रणमा लिएको थिए तर पनि डीएनए परिक्षण गर्दा नमिलेको भन्दै प्रहरीले बिष्टलाई छाडेका थिए यस मुद्धाकै क्रममा जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले सार्वजनिक न्याय र यातना विरुद्धको कसुर मुद्दाका आरोपित निलम्बित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीलाई रु ९ लाख धरौटीमा रिहा गर्न आदेश जारीसँगै धरौटीमा रिहा भएका थिए ।

निर्मलाको आमालाई राहत

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले गत जेठ ९ गते सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् । तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख) कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए । विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान उनको परिवारले राख्दै आएको थियो । तर पनि निर्मलाका परिवारले हत्यारा पत्ता लाग्ला भन्ने आश गर्दा गर्दै १ वर्ष बितिसक्दा पनि उनीहरुको आश भने त्यतिकै रहेको छ सरकारले यस विषयलाई चासो नदिएको होकी हत्यारा लुकाएको हो भन्ने कुरा भने जनता र निर्मलाका परिवार अनमोलमा छन् ।

प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरुको अभिव्यक्ति

निर्मला पन्तको हत्या प्रकरणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष अगाडीदेखि नै हत्यारालाई छोड्ने छैन हत्यारालाई पत्ता लगाएर कठघरामा उभ्याउनेछु भन्दै आएका छन् । तर आजसम्म आउँदा ओलीले निर्मला हत्याकाण्ड मात्र होइन अन्य विभिन्न खालका काण्डमा आलोचित बन्दै आएका छन् । निर्मलाका बुबा र आमा न्याय खोज्दै ओलीलाई भेट्दा गरेको बाचा पनि एक वर्ष पुगीसकेको छ तर अहिलेसम्म हत्यारा कहाँ छ, को हो भन्ने अत्तोपत्तो छैन ।

बाम गठबन्धनको सरकारवाट ५ वर्षसम्म गृहमन्त्रीको कार्यकाल पाउन सफल हुन् रामबहादुर थापा बादल । उनले पनि यस मुद्धामा निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्दै आएको पनि जम्मा एक वर्ष भइसकेको छ । मन्त्री बादलले राष्ट्रियसभा अन्तर्गत प्रत्योजित बिद्यायन तथा आश्वासन समितिको बैठकमा निर्मला हत्याकाण्डको बारेमा भएको बिगतको अनुसन्धान पद्धतिलाई नै बिस्थापित गर्दे नयां शुत्र लगाएर अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिएका छन् । अनुसन्धानको प्रक्रिया नै हेर्ने हो भने पनि धेरै चोटी हेरफेर भइसकेको छ । तर हत्यारा भने पत्ता लगाउन सरकार असफल छ । मन्त्री थापा आफै यस मुद्धामा र सुन काण्डदेखि अन्य काण्डमा आलोचित बन्दै आएका छन् ।

त्यसैगरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको गत मङ्सिर २४ गते कै दिन राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको बैठकमा अभिव्यक्ति दिएका थिए । उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताएका थिए । तर अहिलेसम्म निष्कर्षमा अड्किएको होकी अनुसन्धानमा हो त्यो कुरा खनाललाई नै थाहा हुने कुरा हो ।

यस विषयमा सत्ता पक्ष र प्रतिपक्षका विभिन्न तहका नेताहरुले पनि आपत्ति जनाउंदै आएको १ वर्ष भइसकेको छ । जुन पार्टीका नेताहरुले आपत्ति जनाए पनि यस मुद्धा भने त्यतिकै जटिल बन्दै गएको छ ।

निष्कर्ष

एउटा बालिकामाथि जघन्य जस्ता अपराध भएको १ वर्ष बितिसकेको छ । आफ्नो छोरीको न्याय मागेका निर्मलाका बुवाको आश पनि त्यतिकै मरिसकेको छ । तर यो सरकार अझै मौन देखिन्छ । केहि गर्न सकिरहेको छैन । एउटा नारीमाथि भएको बलात्कार को हो भन्ने पत्तासम्म लगाउन नसक्ने यो सरकारले के जनता र देशको विकासका लागि काम गर्ला भनेर नागरिकले कसरी विश्वास गर्ने ?

अहिलेको समयमा हेर्ने हो भने, निर्मला पन्त मात्र नभई विभिन्न क्षेत्रका समाजका नारीहरु दिनानुदिन बलात्कृत, हत्या भएका छन् । अहिले सबै नारीहरु असुरक्षित छन् । निर्मला पन्त जस्ता अन्य बालबालिकदेखि वृद्धासम्म बलात्कृत भएका छन् । आखिर किन यस्तो घटना हुन्छ ? किन न्यूनीकरण गर्न सकिरहेको छैन ? नेपाल सरकारले के अव सबै नारीहरु सधै यसरी नै बलात्कारको सिकार बनाइराख्ने होकी के हो ?

नेपालको राष्ट्रपति पदमा महिला भएर पनि अहिले एउटा महिला बलात्कृत हुँदासम्म कुनै खालको चासो देखाएको देखिदैनन् । एउटा नारीमाथि हुने अन्याय, अत्याचार नारीले बुझ्दैनन् भने कसले बुझ्लान त । दिनानुदिन बालबालिकहरु बलात्कृत भएका छन् । निर्मला पन्तको हत्यारालाई अहिले चार महिना वितिसक्दा पनि पत्ता लगाउन सकेको छैन ।

नारी भनेको आमा हुन् । नारीको रक्षा गर्न सिक्नुपर्छ । हामी सबै मानिसहरु नारीको कोखवाट यो धर्तीमा जन्मिएको हो । त्यसैले गर्दा नारीलाई सम्मान गर्नुपर्छ । यस्ता घटनाहरुलाई न्यूनीकरण गर्नको लागि सबै व्यक्तिहरु शिक्षित हुनुपर्छ । सबै पुरुषहरुमा नारीलाई सम्मान गर्नुपर्छ भन्ने भावना हुनुपर्दछ । निर्मलाको बुवालाई मानसिक सन्तुलन गुमाउने अवस्थासम्म पुर्याउने होइन । हौसलाका साथ नेपाल सरकारले न्याय दिनुपर्दछ । बलात्कार, हिंसा जस्ता घटनालाई न्यूनीकरणको लागि सरकारले पनि संविधानमा लेखिएका कानुनहरुलाई व्यवहारमा उतार्नु पर्दछ । हत्यालाई चाँडोभन्दा चाँडो कानुनी कारवाही गरी पिडितलाई न्याय दिलाउनु पर्दछ । अनि मात्र निर्मला पन्त जस्ता अन्य महिलाहरुले न्याय पाउने छन् ।

*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।

यो पनि पढ्नुहोस्

सरकारको मौनताले न्याय खोज्दा निर्मलाका बुवाको गुम्यो मानसिक सन्तुलन  

के निर्मलाले न्याय पाउलिन त ? 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !