१३ बैशाख २०८१, बिहिबार

के निर्मलाले न्याय पाउलिन त ?


nirmila
ram
     राम मगर

कंचनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या भएको दुई महिना बितिसक्दा पनि हत्यारा को हो भन्ने पत्ता लगाउन सकेको छैन । एउटा बालिकामाथि भएको बलात्कार त्यसमाथि हत्या हुँदा पनि अहिलेसम्म हत्यारालाई सजाय दिन सकेको छैन । हाम्रो जस्तो समाजमा दिनानुदिन महिला हिंसा, बलात्कारका घटनाहरु घटिरहेको छ । तर यसलाई न्यूनीकरण गर्न सकिरहेको देखिदैन । आखिर किन ?

तीन तहको सरकार भइसकेको छ । त्यसमाथि वाम गठवन्धनको सरकार छ । सात वटा प्रदेश मध्ये छ वटा प्रदेशमा पनि वाम गठवन्धनकै सरकार रहेको छ । बाकी एउटा प्रदेश नम्बर दुई संघिय समाजवादी फोरम र राजपा मिलेर सरकार चलाएको छ । यसरी प्रदेश-प्रदेशमै सरकार भएपनि यस्ता घटनाहरुलाई न्यूनीकरण गर्न र हत्यारा पत्ता लगाउन सकेका छैनन् । ती प्रदेशका मुख्यमन्त्री मन्त्रीदेखि लिएर अन्य मन्त्रीहरु पनि छन् । त्यस्तैगरी प्रहरीहरुको पनि सुरक्षा त्यतिकै बढ्दै गएको छ । यसरी तीन तहको सरकार भइसकेता पनि महिला हिंसा जस्ता जघन्य घट्नाहरु दिनानुदिन बढ्दै गएको छ । आखिर किन ? तिन वटा तहका सरकारहरु के हेरेर वसेका छन् त ?

देश र जनताको विकासको लागि काम गर्छु भन्दै भोट मागेर अनि जव जितीसकेपछि सरकारमा वस्ने, अनि जनता माथि भएका अन्याय र अत्याचार हेरिरहने होकी यसलाई न्यूनीकरण गर्ने तर्फ लाग्ने हो । निर्मला पन्तको बलात्कार पछिको हत्या भएको दुई महिना बितिसक्दा पनि कुनै सरकारले पनि चासो राखेको देखिदैनन् । न्यायको लागि स्थानीयवासीदेखि विभिन्न क्षेत्रमा व्यक्तिहरु सडकमा उत्रिएको पनि दुई महिना वितिसकेको छ । न्यायको लागि आन्दोलनमा उत्रिएकाहरुलाई पनि नेपाल प्रहरीको प्रयोग गर्दै गिरफ्तार गरी विभिन्न खालका पिडा दिदै आएका छन् ।

आफ्नो छोरीको न्यायको लागि निर्मला पन्तका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त काठमाडौंसम्म भौतारिदै आइपुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रामवहादुर थापा वादलसँग पनि न्यायको भिख माग्न भेटिसकेका छन् । भेटघाटमा हत्यारा चाडोभन्दा पत्ता लाग्ने छ र न्याय पाउने छ भन्दै झुटा आस्वासन दिएको पनि धेरैदिन भइसकेको छ । तर अहिले सम्म हत्यारा पत्ता लगाउन सकेको छैन । हत्याको छानविनका विशिष्ट समितिहरुलाई पनि निलम्वन गरिसकेका छन् र अर्को समितिलाई खटाएका छन् । तर खास हत्यारा को हो भन्ने अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् ।

अहिलेको समयमा हेर्ने हो भने, निर्मला पन्त मात्र नभई विभिन्न क्षेत्रका समाजका नारीहरु दिनानुदिन बलात्कृत, हत्या भएका छन् । अहिले सबै नारीहरु असुरक्षित छन् । निर्मला पन्त जस्ता अन्य बालबालिकदेखि वृद्धासम्म बलात्कृत भएका छन् । आखिर किन यस्तो घटना हुन्छ ? किन न्यूनीकरण गर्न सकिरहेको छैन ? नेपाल सरकारले के अव सबै नारीहरु सधै यसरीनै बलात्कारको सिकार वनिरहने होकी के हो ?

नेपालको राष्ट्रपति पदमा महिला भएर पनि अहिले एउटा महिला बलात्कृत हुँदासम्म कुनै खालको चासो देखाएको देखिदैनन् । एउटा नारीमाथि हुने अन्याय, अत्याचार नारीले बुझ्दैनन् भने कसले बुझ्लान त । महिला हिंसा, बलात्कार जस्ता घटनाहरुलाई अब चाडै न्यूनीकरण गर्छु भन्दै विभिन्न कार्यक्रमहरुमा भाषण गर्ने गर्छन् । तर यस्ता घटनाहरुलाई न्यूनीकरण गर्न सकेका छैनन् । दिनानुदिन बालबालिकहरु बलात्कृत भएका छन् । निर्मला पन्तको हत्यारालाई अहिले सम्म सजाय दिन सकेका छैनन् ।

नारी भनेको आमा हुन् । नारीको रक्षा गर्न सिक्नुपर्छ । हामी सबै मानिसहरु नारीको कोखवाट यो धर्तीमा जन्मिएको हो । त्यसैले गर्दा नारीलाई सम्मान गर्नुपर्छ । यस्ता घटनाहरुलाई न्यूनीकरण गर्नको लागि सबै व्यक्तिहरु शिक्षित हुनुपर्छ । सबै पुरुषहरुमा नारीलाई सम्मान गर्नुपर्छ भन्ने भावना हुनुपर्दछ । बलात्कार, हिंसा जस्ता घटनालाई न्यूनीकरणको लागि सरकारले पनि संविधानमा लेखिएका कानुनहरुलाई व्यवहारमा उतार्नु पर्दछ । हत्यालाई चाडोभन्दा चाडो कानुनी कारवाही गरि पिडितलाई न्याय दिलाउनु पर्दछ । अनि मात्र निर्मला पन्त जस्ता अन्य महिलाहरुले न्याय पाउने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !