४ बैशाख २०८१, मंगलबार

सरकारको मौनताले न्याय खोज्दा निर्मलाका बुवाको गुम्यो मानसिक सन्तुलन


निर्मला
ram
राम मगर

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज चार महिना भईसक्दा पनि सरकारले बलात्कार पत्ता लगाउन सकेको छैन । न्यायको लागि उनका बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त धर्ना बसेका थिए ।  त्यहि धर्ना र छोरीको न्यायको भिख माग्ने क्रममा उनका बुबा पन्तको मानसिक सन्तुलन गुमेको संकेत देखिएको छ ।

मानसिक सन्तुलन गुमेको संकेत देखिएपछि उनलाई उपचारको लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनलाई उपचारको लागि विमानबाट ल्याउने तयारी गरिएपनि विमान कम्पनीले पन्तलाई ल्याउन नमानेपछि उनलाई गाडीमा ल्याइएको थियो । महेन्द्रनगरबाट धनगढी ल्याउँदासम्म पन्तले गाडीमा एकोहोरो बोल्ने छटपटाउने गरेका कारण समस्या भएपछि उनलाई लठ्याउने सुई लगाएर काठमाडौं ल्याइएको थियो । कंचनपुरबाट शिक्षण अस्पताल ल्याई पुर्याउदा उनको खुट्टा समेत फ्याक्चर भएको छ । बाटोमा धेरै बर्बराउने र उफ्रिने गर्दा उनको खुट्टामा पनि समस्या भएको हो । एक्सरेको रिपोर्टमा पन्तको खुट्टा फ्याक्चर भएको देखिएको छ ।

शिक्षण अस्पताल ल्याइएका पन्तलाई आकस्मिक कक्षमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ । उनको उपचारमा डा. तीर्थमान श्रेष्ठ नेतृत्वको मेडिकल टिम खटिएको छ । उनलाई अस्पताल कै मानसिक वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको छ । बाटोमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले तीन जना सुरक्षाकर्मी समेत पठाएको थियो । छोरी निर्मलाको हत्या भएको ४ महिना पुग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै यज्ञराजले सरकारलाई अनुसन्धानमा दबाव दिन परिवारसहित धर्नामा बसेका थिए ।

यतिमात्र नभईकन निर्मला पन्तका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त आफ्नो छोरीको न्यायको लागि काठमाडौंसम्म भौतारिदै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रामवहादुर थापा वादलसँग पनि न्यायको भिख माग्दै भेट गरेका थिए । भेटघाटमा हत्यारा चाडोभन्दा पत्ता लाग्ने छ र न्याय पाउने छ भन्दै आशा दिलाएका थिए । तर चार महिना बितिसक्दा पनि अहिले सम्म हत्यारा पत्ता लगाउन सकेको छैन । हत्याको छानविनका विशिष्ट समितिहरुलाई निलम्वन गरेर पनि नँया समितिलाई खटाएका थिए । तर खास हत्यारा को हो भन्ने अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् ।

निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्वन गरिसको छ । प्रहरी प्रधान कार्यालयले निर्मला पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा धामी र साउदलाई खटाएको थियो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले अनुसन्धानका क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले धामी र साउदलाई गत असोज २२ निलम्वन गर्नुभएको थियो ।

आफ्नो छोरीको बलात्कार पछि हत्या गरिएको हत्यारालाई सजाय माग्दै चार महिनादेखि तड्पिरहेका निर्मलाका बुवा अहिले आएर मानसिक सन्तुलनसम्म गुम्ने संकेत देखिएको छ । तर पनि सरकार मौन देखिन्छ । तीन तहको सरकार भइसकेको छ । त्यसमाथि वाम गठवन्धनको सरकार छ । सात वटा प्रदेश मध्ये छ वटा प्रदेशमा पनि वाम गठवन्धनकै सरकार रहेको छ । बाकी एउटा प्रदेश नम्बर दुई संघिय समाजवादी फोरम र राजपा मिलेर सरकार चलाएको छ । यसरी प्रदेश-प्रदेशमै सरकार भएपनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन सकेको छैन । निर्मला जस्ता लाखौं युवतीहरु बलात्कारको सिकार भएका छन् । तर यो वाम गठवन्धनको सरकारले केहि गर्न सकेका छैनन् । के यस्ता घट्नाहरुलाई न्यूनीकरण गर्न त ? बलात्कार र हत्यारा पत्ता लगाउनसम्म सकिरहेको छैन, आखिर किन ? वाम गठवन्धनको सरकार जनताको पक्षमा काम गर्न सकेनन्  । किन जनताको मर्न बुझेनन् ?

एउटा बालिकामाथि जघन्य जस्ता अपराध भएको चार/चार महिना भइसकेको छ । आफ्नो छोरीको न्याय मागेका निर्मलाका बुवाको मानसिक सन्तुलन गुमिसकेको संकेत देखिन्छ  । तर यो सरकार अझै मौन देखिन्छ । केहि गर्न सकिरहेको छैन । एउटा नारीमाथि भएको बलात्कार को हो भन्ने पत्तासम्म लगाउन नसक्ने यो सरकारले के जनता र देशको विकासका लागि काम गर्ला भनेर विश्वास गरुम ?

अहिलेको समयमा हेर्ने हो भने, निर्मला पन्त मात्र नभई विभिन्न क्षेत्रका समाजका नारीहरु दिनानुदिन बलात्कृत, हत्या भएका छन् । अहिले सबै नारीहरु असुरक्षित छन् । निर्मला पन्त जस्ता अन्य बालबालिकदेखि वृद्धासम्म बलात्कृत भएका छन् । आखिर किन यस्तो घटना हुन्छ ? किन न्यूनीकरण गर्न सकिरहेको छैन ? नेपाल सरकारले के अव सबै नारीहरु सधै यसरीनै बलात्कारको सिकार बनाइराख्ने होकी के हो ?

नेपालको राष्ट्रपति पदमा महिला भएर पनि अहिले एउटा महिला बलात्कृत हुँदासम्म कुनै खालको चासो देखाएको देखिदैनन् । एउटा नारीमाथि हुने अन्याय, अत्याचार नारीले बुझ्दैनन् भने कसले बुझ्लान त । दिनानुदिन बालबालिकहरु बलात्कृत भएका छन् । निर्मला पन्तको हत्यारालाई अहिले चार महिना वितिसक्दा पनि पत्ता लगाउन सकेको छैन ।

एउटा बुवाले आफ्नो छोरीको न्यायको लागि भिख माग्दै भौतारी रहँदा मानसिक सन्तुलन गुमाउने अवस्थासम्म पुर्‍याई दिएको छ । नेपाल सरकारले एउटा नारीको हत्यारालाई पत्ता लगाएर सजाय र पिडितलाई न्याय दिनुपर्ने ठाउँमा उल्टै मानसिक सन्तुलन गुमाउने अवस्थासम्म पुर्‍याई दिएको छ । आखिर किन यो सरकार अतिधेरै मौन छ ?

नारी भनेको आमा हुन् । नारीको रक्षा गर्न सिक्नुपर्छ । हामी सबै मानिसहरु नारीको कोखवाट यो धर्तीमा जन्मिएको हो । त्यसैले गर्दा नारीलाई सम्मान गर्नुपर्छ । यस्ता घटनाहरुलाई न्यूनीकरण गर्नको लागि सबै व्यक्तिहरु शिक्षित हुनुपर्छ । सबै पुरुषहरुमा नारीलाई सम्मान गर्नुपर्छ भन्ने भावना हुनुपर्दछ । निर्मलाको बुवालाई मानसिक सन्तुलन गुमाउने अवस्थासम्म पुर्‍याउने होइन । हौसलाका साथ नेपाल सरकारले न्याय दिनुपर्दछ । बलात्कार, हिंसा जस्ता घटनालाई न्यूनीकरणको लागि सरकारले पनि संविधानमा लेखिएका कानुनहरुलाई व्यवहारमा उतार्नु पर्दछ । हत्यालाई चाडोभन्दा चाडो कानुनी कारवाही गरि पिडितलाई न्याय दिलाउनु पर्दछ । अनि मात्र निर्मला पन्त जस्ता अन्य महिलाहरुले न्याय पाउने छन् ।

*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।

यो पनि पढ्नुहोस्

के निर्मलाले न्याय पाउलिन त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !