३० कार्तिक २०८१, शुक्रबार

भानु स्कुललाई फर्केर हेर्दा


ई. वीरेन्द्र श्रेष्ठ र भानुजन माध्यमिक विद्यालय ताप्लेजुङ

ताप्लेजुङ । सिनामको आकाशमा, आक्कल झुक्कल हवाईजहाज र हेलिकप्टर उडेको देख्दा पाइलट बन्ने रहर अनि गाउँका मानिस बिरामी भई उपचार नपाउँदा, हिरुवादिनका एकजना कम्पाउण्डर तुम्बाले ठूला-ठूला घाउ सिलाएको अनि लुतो लागेको बिरामीलाई पेनिसिलिन इन्जेक्सन लगाइदिएर निको पारेको देख्दा डाक्टर बन्ने भोक जाग्थ्यो । सानै उमेरमा नुन चिनी पानीको विषय बुझेको र गाउँमा पखाला लाग्दा पानी खानु हुन्न भन्ने बुझाइलाई चिर्दै नुन चिनी पानी खुवाएर सयौंको उपचार गरेको थिए ।

भानुजन माध्यमिक विद्यालय ताप्लेजुङ

गाईवस्तु लडेर ठूलो घाउ लाग्दा पेनिसिलिन इन्जेक्सन लगाएर निको पार्ने र बाख्रा कुखुरा बिरामी पर्दा मात्रा मिलाएर शिवाजल गोली घोलेर खुवाउने गरेको थिए । सायद यसैको उपजले होला ? वाल्यावस्थादेखि नै भविष्यमा कुनै न कुनै विषयको प्राविधिक बन्ने सपना बोकेको “म” सिनाम स्कुलबाट स्थानान्तरण भई भानु माध्यमिक विद्यालयमा ९ कक्षाबाट आफ्नो अध्ययान सुरु गर्नुको मुख्य कारण ऐच्छिक गणितको अध्ययन थियो तर मेरो भानुको आगमनमा ढिलाई भएतापनि श्रद्धेय हेडसर शिव दाहालले मलाई औधी माया गर्नु भएको र पढ्न सक्छस् भन्ने आत्मविश्वास श्रद्धेय केशव दाहाल सरको रहेकोले आज म इन्जिनियर हुनुमा उहाँहरुको ठूलो शैक्षिक प्रेरणा रहेको छ ।

भानुजन माध्यमिक विद्यालयको विद्यार्थीको हैसियतले ७५औ वर्ष गाँठको पुनित उपलक्ष्यमा, आफु पढेको बिद्यालयको सस्मरण लेख्ने अवसर जुरेकोमा आफुलाई भाग्यमानी ठानेको छु ।

मेरा स्व. हजुरबुबा कृष्णदास श्रेष्ठका ४ छोरामध्ये मेरो स्व. बुबा टेक बहादुर श्रेष्ठ (माहिला छोरा) हुनुहुन्थ्यो । जेठो बुबा स्व. सुर्यकुमार श्रेष्ठ जो अदालतमा कार्यरत हुनुहुन्थ्यो, उहाँको फुङ्लिङको वडा नम्बर ४, कोठेवारीको घरमा बसेर भानुमा अध्ययन गरेको थिए । म भानु स्कुल अध्ययन गर्नुअघि देखिको चिनजान भएर पनि होला ? मेरो भानु स्कुलको पहिलो शनिवार नै लक्ष्मीकान्त सिवा (माइला बा) मलाई लिन घरमै पाल्नु भएको थियो । तविलदार तुम्बाको परिवार, मेरो साहिला फुपाजु मोहन राजभण्डारीको परिवार, देवीप्रसाद अजाको परिवार छिमेकमा रहेकोले अनि सायद आफ्नै घरको वास भएर पनि होला ? ठुलो आमा श्रद्धेय दुर्गादेवी श्रेष्ठ, समकक्षी बहिनी मुना, भाईहरु कुमार, प्रकाशले मप्रति गरेको ब्यबहारले मलाई घर अनि आमा छाडेको अनुभूति कहिले पनि भएन । भाई जनक र दिपक म भानुमा पढ्दा सानै थिए । हजुरबुबाका ४ छोराहरुमध्ये साहिला देवेन्द्र श्रेष्ठ, मोरङको राजघाट र कान्छा छोरा पूर्ण बहादुर मास्के, बेलायती सेनामा हुनुहुन्थ्यो उ बेला ।

भर्खरै टिन एजको एउटा दुइ वटा खुड्किला चढेका हामी, पढाइ भन्दा देखावटी सान त्यो उमेर समूहको प्राथमिकताका विषय बन्थे । भानु अध्ययनको क्रममा झण्डै १६/१७ महिना फुङलिङको बसाई धेरै कारणले मेरा लागि अविस्मरणीय बनेका छन् ।

जसरी एउटा पौडी पोखरीमा हरेक पौडिवाजको लागि तय गरिएका पोखरीको गहिराई, लम्बाई समान हुन्छ, त्यसैगरी वर्गीय असमानता नहेरी, हरेक नागरिकको बालबच्चाको पढ्न पाउने अधिकार समान नभएसम्म लोकतन्त्र र समाजवाद्को दुहाई कागजी पानामा मात्र सिमित हुनेछन् ।

पढाइमा चासो राख्ने अधिकतम विद्यार्थीहरु आफ्नो घर र विद्यालय मात्र गर्थे र गरिरहेका छन तर अहिले सामाजिक संजालको कारण ब्रह्माण्ड नै आफ्नो मोवाइलभित्र पाएका कारण उनीहरुलाई बाह्य दुनियाँको खासै प्रवाह नभएको पनि हुनसक्छ । इन्टरनेटको पहुँच बढेसंगै कुनाकन्धराका विद्यार्थीहरुले पनि सामाजिक संजालको माध्यमले आफूले चाहेका सूचना आफ्नो गोजी (मोबाइल) मै सुरक्षित गर्नसक्ने भएका छन् भने फेसन आदि समेतमा घर परिवारको उदारता ह्वात्तै बढेको छ । तर उ बेला, म जन्मिएको गाउँ सिनाम र यस्ता गाउँले परिवेशमा बसेका परिवारका सदस्यहरुको दशैंमा एक जोर लुगा सिलाउने र कोहि कसैको दई जोरसम्म लुगा (विद्यार्थीको लागि स्कुल ड्रेस) सिलाइदिने चलन थियो । रेडिमेड लुगाको चलन नै थिएन र त्यस्ता लुगाहरु विदेशबाट आफन्त कोहि लाहुरे आउँदा मात्र सम्भव हुने गर्थ्यो । हाट बजारमा फाटा, बंगला र लिलामीका कपडा कहिलेकाही किन्न पाइन्थ्यो तर अरुले प्रयोग गरेको हुन्छ रे ? भनेर हामी त्यस्ता कपडामा खासै चासो राखिदैन्थ्यो । मेरो सम्झनामा रहेका कक्षा १० का रविन सेनेहाङ, गंगादेवी गुरुङ, वीरेन्द्र नेयोहाङ, खेमराज चालिसे, नरेन्द्र खतिवडा, कृष्ण प्रसाद गौतम, सरिता श्रेष्ठ, विशाल शाक्य, रेणुका खरेल, धान्य प्रसाद पौडेल, युवराज श्रेष्ठ, प्रमिला श्रेष्ठ, राजदिप श्रेष्ठ, सकूल श्रेष्ठ, हरि प्रसाद बराल, लता पौडेल, सञ्जिव बराल, त्रिलोचन थेबे, पृथ्वी मादेन, देवेन्द्रराज पौडेल, अम्बर कुमार राई, उदय थलङ, विष्णु प्रसाद खतिवडा, बेदनिधि पौडेल, केदारनाथ पौडेल, जीवन खतिवडा, मायानाथ सिग्देल, इन्द्र कुमार सुनुवार, टासी तेन्जिङ शेर्पा, वसन्त मादेन, कुमार खवास, चुडामणि पौडेल, डिल्लीराज पौडेल, दुर्गा बराल, बाचस्पति भट्टराई, कृष्ण प्रसाद गुरागाई, अमिट बचन थेवे, सन्त कुमार राई, रिता पालुङवा, पदम गुरुङ, पूर्ण कुमार थापा, तुलसी माया विश्वकर्मा, दिपक नेयोहाङ, युवराज निरौला, सञ्चबीर सावाँ, लिला प्रसाद पौडेल, चन्द्र मादेन, काजीमान गुरुङ, राजेश श्रेष्ठ, डोमा भोटिया, निलु श्रेष्ठ, बद्रि केसी, मुना श्रेष्ठ, रोवर्ट लिम्बु, बालकृष्ण पौडेल, राजेश पौडेल, सुक बहादुर मादेन, इन्दिरा सुवेदी, गंगा कार्की, च्युमे शेर्पा, महेन्द्र गुरुङ, गुणराज लिम्बु, सन्तोष श्रेष्ठ, छिरिङ.आङजुमो, भीम गरुङ, यमनाथ पौडेल, राजु श्रेष्ठ, टंक प्रसाद सिग्देल, धर्मराज थापा, रमा खतिवडा, खिन बहादुर थापा, टंक बहादुर कट्वाल, प्रेम कुमार गुरुङ, टेकनाथ निरौला, महेन्द्र मादेन, शिव कुमार गुरुङ, सुनी भोटिया, मोहन मादेन, डिल्लीराम पौडेल, श्याम भक्त गौतम, खेमनाथ पौडेल, राधिका गुरुङ, टेकनाथ निरौला, कल्पना मादेन, जसोधा लिम्बु, सागर गौतम, पदम सुनुवार, भक्त येङ्देन, भिम मिश्र, धनराज नेयोहाङ लगायत सबै समकक्षी साथीहरुसँग मेरो सम्बन्ध प्रगाढ थियो । धेरै साथीहरुको नाम भुलेहोला, मैले नाम उल्लेख गरेका साथीहरुलाई भेट्दा नचिन्न पनि सकिन्छ होला, तर हरन्दी आधारभुत प्रा. वि. सिनाम, सिनाम मा.वि. र भानुका समस्त मेरा बाल सखाःहरुलाई आज यस लेख मार्फत न्यानो माया अनि नमन अर्पण गर्दछु ।

भानुजन माध्यमिक विद्यालय ताप्लेजुङ

समुन्द्री सतहदेखि झण्डै १७०० मिटरको आसपासमा रहेको ताप्लेजुङ बजार र त्यसकै आड अम्बिटारमा अवस्थित भानुजन माद्यामिक विद्यालयमा मंसिरदेखि फागुन १५ सम्म सर्ट पाइन्टले मात्र चिसोको सामना गर्नेको संख्या पनि ठूलै हुने गर्दथ्यो । विद्यार्थी माझ ज्याकेटको चलन खासै थिएन तथापि हातले बुनेका सुइटरको चलन भने मनग्य थियो । खुट्टामा जुत्ता र चप्पलको चलन बराबरी जस्तै थियो । म कक्षा ९ मा भानु स्कुल आउँदा हाम्रो ब्याचको क्लासटपर रविन सेनेहाङ थिए । ताप्लेजुङको शिक्षाका पर्याय एन.डि. सरका नाती, मैना मेम, विमला मेमका भदै रविन सेनेहाङ, निकै भद्र र पढाइमा अब्बल थिए । हाम्रो पालामा टेष्ट परिक्षामा औधी कडाइ भएको थियो रे जम्मा २३ जना मात्र पास भएका थियौ भने सोमध्ये ८ जनाले मात्र एसएलसीको नियमित तर्फबाट र ६ जनाले पूरक परिक्षाबाट एसएलसीको खुड्किलो पार गरेका थियौ ।

भानुजन माविको प्रधानध्यापक आदरणीय शिव प्रसाद दाहाल हनुहुन्थ्यो । हामीलाई प्राध्यापन गराउनुहुने अन्य शिक्षकहरुमा आदरणीय केशव प्रसाद दाहाल, बिमला सुब्बा, निर्मला श्रेष्ठ, रामचन्द्र नेपाल, भगिरथ न्यौपाने, कृष्ण निरौला, ईश्वरी निरौला हनुहुन्थ्यो । समस्त गुरुहरुको प्राध्यापन अब्बलता उच्च थियो केशव दाहाल सर, शिव दाहाल सर बिमला मेमसंग प्राय: सबै विद्यार्थी डराउने गर्थे । मलाई उहाँहरुले औधी माया गर्नुहुन्थ्यो तथापि सद्धाव वा आदर भनौ ? डर चाहिँ मलाई पनि निकै लाग्थ्यो नै ।

विद्यालय भगवानको एक पवित्र वासस्थान हो । विद्यार्थी त्यही भगवान प्राप्तिका लागि तपस्या गरिरहेका भक्तजन यानेकी साधक हुन् । शिक्षक त्यहाँका पुजारी हुन्, जो आफै निष्काम, पवित्र र सर्वगुणी हुन जरुरी छ । लक्ष्य हाँसिल गर्न कहाँ सजिलो छ र ? तर नियमित साधनाले तपाईको लक्ष्यलाई यति दृढ र निर्विकल्प बनाउछ कि, गन्तव्य हाँसिल सुनिश्चित भएरै छाड्नेछ ।

भानुजन माविमा विद्यार्थीको सङ्ख्या निकै राम्रो भएर पनि होला ? अथवा विद्यालयले खेललाई निकै ग्राहयता दिएर पनि हुन सक्छ ? खेलकुदमा भानु स्कुल ताप्लेजुङ जिल्लाको निकै उत्कृष्ट नै थियो । विशेषत: भलिवल राम्रो खेलेकै कारण नेपाल आर्मीमा जागिर गर्दै हाम्रो स्कुलमा अध्यनरत गङ्गा श्रेष्ठकोे कारण भलिबलमा हाम्रो स्कुलको उचाई निकै माथिल्लो स्तरमा थियो । हाम्रो ब्याचका धेरै साथीहरु उच्च अध्यनको मनोकांक्षा राख्थे, कोहि एसएलसी पश्चात् जागिर खाने इच्छा राख्थे भने कोहि लाहुरे हुने मनसायले विहान पढाइको साटो १०/१२ किलोमिटर दौड र अन्य ब्यायामहरु गर्ने गर्थे । मसंगै सिनाम स्कुलबाट स्थानान्तरण गरी भानुमा अध्ययनरत अमिट थेवे, बिहान ४ः३० दखि ७ बजेसम्म दौड र अन्य ब्यायाम गर्ने गर्थे । उनकै प्रभावले म र एकै कोठा सेयर गरी भानुमै पढ्ने समकक्षी इन्द्र सुनुवार (लिम्बुदिन) पनि भानुको चौरमा दौड्न जाने गथ्र्यौ ।

अत्यन्तै मिहेनती मित्र अमिट थेवे २०४४ सालमा बिटिश आर्मीमा भर्ती भए तर एकपटक पनि छुट्टीमा घर समेत आउन नपाई भवितव्यमा परेर स्वर्गिय भए उनी । पढाइ ठिकठाकै भएका अमिट, अत्यन्तै इमान्दार अनि असल व्यक्ति र आर्मीको लागि आवश्यक पर्ने हरेक बिधामा अव्वल थिए । प्रिय मित्र “अमिट थेवे” लाई मेरो व्यक्तिगत, समकक्षी साथीहरुको तर्फबाट र भानु माविको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मोक्ष प्राप्तिको कामना गर्दछु ।

भानु स्कुल अध्यनको क्रममा एकपटक अत्यन्तै लामो हिडाइ =को अनुभव लिएको छु, जुन अनुभवको श्रेय मित्र अमिट थेवेलाई नै जान्छ । रजिष्ट्रेशन नम्बर नबुझाएकाहरुले पर्सि बिहान १० बजेभित्र बुझाउन भनी दिउँसो दुई बजेतिर विद्यालय प्रशासनबाट जानकारी प्राप्त भयो । दुर्भाग्यवश मेरो रजिष्ट्रेशन नम्बर पनि ल्याउनुपर्ने भयो, मैले भोलिपल्ट बिहानै सिनाम जाने निधो गरे । बिहान ४ः३० बजे फुङलिङको घरबाट प्रस्थान गरेर कामी डाँडा, थेचम्बु केराबारी, डुम्रिसे, थुम्बेदिन हुँदै ९ः१५ बजे बिहानै सिनामको घरमा पगे । अहिले जस्तो संचार सुबिधा नभएकोले म आउने खबर मेरो घरमा थाहा दिन सकिन तथापी मौज्दात खानामा हतार-हतार मेरी आमाले तिते माछाको झोल थप पकाएर, १५ मिनेटमा खाना खाएर सिनाम स्कुलसम्म दौडदै जाँदा बिहानको प्रार्थना भेला भइरहेको थियो । मैले तत्कालिन प्रधानाध्यापक श्रद्धेय गायत्री प्रसाद नेपाललाई मेरो समस्या सुनाए, उहाँले १० मिनेटमै स्व. शिव थेवे सर र इन्द्र गुरुङ सरमार्फत मेरो काम सम्पन्न गरिदिनु भयो । काम सकिनासाथ दौडदै घर (सिनाम पन्चमी) फर्किएर दुई पाथी चिउरा (खाजाको लागि) बोकेर दिउँसो १ बजे फुङलिङ हानिए । फर्कदा मलाई ६ घण्टा ४५ मिनेट लागेको थियो तर त्यो दिनको लामो हिडाइले, अन्तिममा नाङ्खोल्याङबाट घरसम्म पुग्न निकै कठिन भएको थियो । धेरै लामो हिडाइको तोडले ३ दिन सामान्य ज्वरो नै आएको सम्झना छ मलाई ।

बिपरित लिङ्गी साथीहरुको सामिप्यता मन पराउने उमेर भएर पनि होला ? कहिलेकाहीँ मेरा खुट्टा लुलो हुने अनि ओठ तालु सुक्ने समस्याले भानु स्कुलका समकक्षी केती साथीहरु मसँग नजिकिन खोजेको आभाष हुन्थ्यो । केही साथीहरुबाट पठाइएका मनोदशा चिठीमार्फत पढ्ने सौभाग्य पनि नजुरेको भने हैन तर उनीहरुसँग दोहोरो सम्बाद हुन नपाइ भानु छोड्नु परेकोले कहिलेकाहीँ ती प्रियजन कहाँ छन् ? के गर्दैछन् ? कति नाती नातिनीहरु भए ? मेरो मनले उनीहरुलाई खोजी रहन्छ ।

ताप्लेजुङकै गर्व गर्न लायक फुङलिङको लाखे जात्राको रौनक महिना दिनसम्म चलिरहन्थ्यो । यो जात्रामा खेलाइने फुटबलले अझ विशेष महत्व राख्ने गरेको छ । गठेमङ्गल, रोपाई, गाईजात्रा, श्रीकृष्ण जन्माष्ठमी र लाखे विसर्जनको राती समेत अत्यन्तै ठूलो जनसभागिता हुने गर्दथ्यो । बजार आसपासका स्थानीय साथीहरुसँग राती जात्रामा डुल्ने र भोक लागेपछि उनीहरुको घरमा गएर काँक्रो खाएर भोक टार्ने गरिन्थ्यो ।

भानुजन माध्यमिक विद्यालय ताप्लेजुङ

म एक साधारण विद्यार्थी थिए, तर पढाइमा मेरो आफ्नो विशेषता थियो । म जहिले पनि एकपटक सबै पुस्तकको स्वः अध्ययन गर्थे । नबुझेका विषयहरु सुक्ष्म तवरले केलाउने र शिक्षकलाई सोध्ने अनि बुझ्ने गरेको थिए, जसले मलाई पढ्नुपर्ने विषयका सार यानेकी विषयगत बुझाईलाई सहज बनाउथ्यो, त्यही पद्धतिले मलाई परिक्षामा पास हुनुको चिन्ताबाट जहिले टाढा राख्थ्यो ।

हाम्रो स्कुले जीवनमा अहिलेको जस्तो इन्टरनेटको सन्जाल थिएन तर भाग्यमानीले मात्र पाउने प्राकृतिक सामाजिक संजाल भने प्रशस्त नै थिए, जो जसले जति बढी प्रयोग गथ्र्यो ? उ उति धेरै हिडडुल गर्ने गथ्र्यो । प्राय: साथीहरु र आफन्तको घरका चाडपर्व, मेलो पर्म, काक्रो,सुन्तला, कटुस, दहि-मोहीको साक्षी हुने सौभाग्य पनि उनीहरुले नै पाउने गर्थे । मेरो ठुलो बुबाकी छोरी मुना श्रेष्ठ पनि मेरो समकक्षी भएकाले धेरै जनासग नजिकिन मलाई सहज भएको थियो । मलाई मेरा साथीहरुले निकै सद्धाव र शुभेच्छाका साथ हेर्ने भएकैले होला ? म धेरै साथीहरुको घरमा पुगेर खाना समेत खाएको छु, तर कोहि कसैको घरमा एकरात बिताएको सम्झना भने छैन ।

समग्रमा भानु स्कुल ताप्लेजुङको शिक्षाको हकमा एउटा ठूलो अध्याय हो । हालका प्रधानध्यापक आदरणीय किशोर कुमार राई सिनाम स्कुलमा मेरो समकक्षी हुनुहुन्थ्यो । सानै उमेरदेखि तीक्ष्ण बुद्धिका किशोर, अत्यन्तै दृढ, उच्च मनोवल भएका, विद्धान व्यक्तिले मात्र सम्बोधन गर्दा उहाँको समग्रताको जोखाई निकै कम हुन्छ । भानु स्कुलको बलियो जग, हालका प्रधानाध्यापक किशोर राईको उच्च ब्यबस्थापकीय क्षमता अनि उच्च नैतिकता, आम गुरुहरुको समर्पण, बि.ब्य.स. र सम्बन्धित जनप्रतिनिधिहरुको अथक मिहिनेतकै कारण हाल यो विद्यालयमा दुई हजार अधिक विद्यार्थीहरु अध्ययनत छन् र एक नमुना बिद्यालयको रुपमा विकास हुने क्रममा छ । कुनै पनि मुलुकको विकासको जरा भनेकै गुणस्तरीय शिक्षा नै हो । हरेक मानिसको आ-आफ्नै क्षमता हुने भएकोले कितावको पढाईलाई मात्र विकल्पको रुपमा लिई कोहि कसैको क्षमता जोखिनु आफैमा ठूलो भुल हो । खेलकुद, संगीत व्यवसायिक शिक्षा, विद्यार्थीको रुची हेरेर सीपमूलक अध्ययन, मौलिकता, भाषा संस्कृति र नैतिक शिक्षाको अध्ययन तथा तथा मौजुदा पाठयक्रमलाई परिमार्जन गरी विश्व स्तरीय पाठयक्रम तयार गरेर यो विद्यालयलाई पूर्ण आवसीय विद्यालयमा रुपान्तरित गरिनु आजको हाम्रो पहिलो आवश्यकता हो । यसै आधारमा विकास हुँदै गरेको सिरिजङघा-१ को सिनाम स्कुलको क्षमता र गुणस्तर वृद्धि साथै ताप्लेजुङकै प्रदेश “ख” मा समेत कल्पना गरिएको भानुकै मापदण्ड अनुसारको एउटा आवासीय विद्यालय आजको टड्कारो आवश्यकता हुन् र यसलाई हाम्रो विकासको रोडम्यापको एक नम्बर आवश्यकतामा दर्ज गरिनु पर्दछ ।

विद्यालय भन्ने बित्तिकै सामान्य एक दुई वटा भवन, बढीमा एउटा भलिबलसम्म खेल्न मिल्ने खेल मैदान भए पुग्ने सोचका साथ नेपाल सरकारले असरल्ल थापेका शैक्षिक ढोक्साबाट विद्यार्थीको समग्र विकास हुँदैन र यसका लागि सरकारले शिक्षालाई प्रथम प्राथामिक्तामा राखी मापदण्ड अनुसारका समस्त पूर्वाधारको वि कास गरिनु पर्दछ साथै समाजले समेत पूर्वाधार निर्माणको लागि बिशिष्ट योगदान दिन अपरिहार्य भइसकेको छ । काठमाण्डौको बुढानिलकण्ठ नजिकैको ५७६ रोपनी जमिनमा फैलिएको बुढानिलकण्ठ स्कुलमा सरदर विद्यार्थी संख्या ११३६ जना र शिक्षक ८० जना कार्यरत छन् भने हाम्रो जिल्लाको भानु माबि. ५४ रोपनी जमिनमा ५४ नै जना शिक्षकले २००० अधिक विद्यार्थी प्राध्यापन गराइरहेको अवस्थाले सामान्य सुधारका बाटाहरु के कस्ता रहेछन् ? यही परिदृष्यले दिशानिर्देश गरिरहेको छ । समयसगै फुङलिङ बजारका बच्चाहरुले, धान, मकै, कोदो र कृषिका विभिन्न आयामहरु समेत नचिन्ने अवस्थामा पुग्न सक्छन्, यी यावत विषयहरु र प्राविधिक विषयहरुलाई फिल्डमा तालिम दिन आवश्यक पर्ने जग्गा, मौज्दात ग्राउण्डलाई कम्तिमा एघार साइजको फुटवल ग्राउण्ड विस्तारको लागि यथोचित जग्गाको जोहो, तालिमका आवश्यक औजार र इक्विपमेन्ट खरिद आजको टड्कारो आवश्यकता हो भन्ने मेरो बुझाइ छ ।

मुलुकबाट शिक्षाको लागि विदेशपलायन हुने ठूलो सङ्ख्यालाई तगारो हाली भानु मावि ताप्लेजुङलाई शिक्षाको हव् बनाउन तपाई हामीले कम्मर कस्नैपर्ने दिन आएको छ । फेरि पनि समस्त अभिभावकहरु, विद्यालय व्यवस्थापन समितिका समस्त पदाधिकारीहरु, भानु अल्मुनाइको सदस्यहरु, गुरुजनहरु, मेरा समकक्षीहरु, २०४४ सालदेखि हालसम्म अध्ययनरत भाइबहिनीहरु, प्रत्यक्ष अनि परोक्ष सरोकारवाला श्रद्धेय महानुभावहरुलाई प्रगति उन्नति र आरोग्यताको लागि माता पाथीभरासँग प्रार्थना गर्दै यो ७५ औं जन्म जयन्तीको शुभकामना अर्पण गर्दै अवका दिनमा भानुजन माविलाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अध्ययन प्रतिष्ठाको रुपमा विकास गर्न सबैको जोडवल हुने समर्पण तथा अभिलाषाका साथ बिदा लिए ।
जय भानु । जय ताप्लेजुङ ।।

ई. वीरेन्द्र श्रेष्ठ
ताप्लेजुङ्–ब्याच २०४३

लेखक सिरीजंघा-१ सिनाम, ताप्लेजुङ निवासी ईन्जिनियर वीरेन्द्र श्रेष्ठ लोकपप विधाका पूर्वका चर्चित गायक समेत हुन् । लामो समयदेखि जलविद्युतको विकास निर्माणमा संलग्न हस्ती बरिष्ठ ईन्जिनियर श्रेष्ठ मुलुक समृद्धताको लागि आफ्ना अनेकन फाइदाहरुलाई त्यागेर अनवरत मुलुकको सेवामा लागी परेका छन् । समाज सेवालाई निकै बढावा दिंदैछन् ।

यो पनि पढ्नुहोस्

के नेपालले सन् २०३५ सम्ममा २८५०० मेगावाट विद्युत् उत्पादन गर्न सक्छ ?

सिरिजंघा, तपाईं अनि म

पृथ्वी जयन्ती र क्रान्तिको सार

ताप्लेजुङको विकासको लागि इन्जिनियर वीरेन्द्रले देखे यस्तो सपना

नेपालका राजनीतिक दलको बिरासत अनि आजको आवश्यकता

नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण

प्राकृतिक विपद् र नेपालको अवस्था

आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता

स्थानीय निर्वाचनप्रति नागरिकको झुकाव र हाम्रो आवश्यकता

स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !