
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा आफ्ना अध्यक्ष माधवकुमार नेपालविरूद्ध मुद्दा दायर भएको प्रतिक्रिया दिएको छ । एकीकृत समाजवादीले पार्टी अध्यक्ष नेपालविरुद्ध दर्ता भएको भ्रष्टचार मुद्दा पूर्वाग्रह प्रेरित भएको जनाएको हो ।
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री ओलीको निर्देशनमा भएको आरोप लगाए ।
‘अख्तियारले यस विषयलाई लामो समयदेखि तामेलीमा राखेको थियो,’ उनले भने, ‘अहिले सरासर यो मुद्दा प्रधानमन्त्रीकै निर्देशनमा अघि बढेको देखिन्छ।’ पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने पाण्डेले बताए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद पनि स्वत: निलम्बनमा परेको छ।
काभ्रेको पतन्जली जग्गा प्रकरणमा अख्तियारले अध्यक्ष नेपालसँग यसअघि बयान लिएको थियो भने बिहीबार १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो।
यो पनि पढ्नुहोस्
नेपालको इतिहासमै पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा
पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा