स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि Nepalpatra स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि
७ जेष्ठ २०७९, शनिबार

स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि

एक इन्जिनियरको निर्वाचनप्रतिको दृष्टिकोण


ई. बीरेन्द्र श्रेष्ठ

करिव ४० बर्ष अघि देखिको मुलुकका घटनाक्रम र नेपाल सरकारको विकासका लक्ष्य र उपलब्धि प्रत्यक्ष र त्यो भन्दा अगाडिको परोक्ष अध्ययन गरिरहेको छु । म कुनै अर्थशास्त्री वा वित्तीय विश्लेषक नभएपनि अन्य लाखौ नेपाली नागरिक जो यो मुलुकको समृद्धि खोजेर त्यहाँभित्र आफ्नो स्वाभिमान देख्न चाहने मध्येको एक अविछिन्न पात्र हु ।

मुलुकमा परिवर्तनका हरेक खुड्किलाहरु देखियो भोगियो भने २०३६ साल पछिका प्राय: आन्दोलनहरुमा प्रत्यक्ष वा परोक्ष सहभागी हुने अवसर प्राप्त समेत भएकोमा आफुलाई सौभाग्यशाली ठान्ने गरेको छु । मुलुक संचालनका तीन संयन्त्रहरु (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) छन्, संचालनका विधि, प्रक्रिया, ऐन, संविधानहरु परिमार्जन हुँदै क्रुर एकात्मक राणा शासन – पंचायत – प्रजातन्त्रका बाटा पार गर्दै संसारकै उत्कृष्ट मोडालिटीको संघीय लोकतान्त्रिक मुलुक नेपाल बन्न पुगेको पनि झन्डै १० बर्ष भई सक्यो । स्वभाविक रुपमा हामी प्राणी जगतको उच्च बर्गमा पर्ने मानव जाती भएकोले हामी आफ्नो विकास र अनुकूलन क्षमतामा आफुलाई अव्वल सावित गर्दै समस्त जगतलाई आफ्नो अधिनमा ल्याउने दुस्प्रयत्न गरिरहेका हुन्छौ ।

१०४ बर्ष ल़ामो राणा शासनमा पनि नेपालमा विकास नभएको पनि हैन । १७०० सुबिधा सम्पन्न कोठाहरु भएका निजी निवास राणा प्रधानमन्त्री चन्द्र शमशेरले २५ लाख रुपैया खर्चेर एक बर्षमै सिंहदरबार बनाएका थिए । यस्ता अनेकन दरवार र राजपरिवारका बिलासिताको लागि अनेकन संरचनाहरु बनेका छन् भने बिशेषत दरवारको लागि बिजुली आपूर्ति गराउन ५०० किलोवाट क्षमताको फर्पिंग लघु जलबिद्युत आयोजना आज भन्दा १०० बर्ष अगाडि नै एसियाको दोश्रो जलबिद्युत आयोजनाको रुपमा हाम्रो बिकास र जलबिद्युतको इतिहासमा आज पनि फर्पिंग बिद्युत आयोजनाको नाम सुनौलो अक्षरले हाम्रो इतिहास बनेको छ ।

सन १८१४-१८१६ मा नेपाल र अंग्रेज बीचको युद्ध पश्चात नेपालमा युरोपियन र अन्य बिदेशीहरुको आगमन बढेको देखिएपश्चात नेपालमा अंग्रेजी, भूगोल, इतिहास, कुटनीतिक ज्ञान भएका राजनीतिज्ञको अभाव खड्किएतापनि सन् १९०६-१९०७ मा जंग बहादुरको बेलायत भ्रमण पश्चात बेलायतको प्रगति र विकासबाट प्रभावित भएर आफ्ना परिवारको लागि बेलायतबाटै शिक्षक ल्याएर सन् १९१० मा निजी बिद्यालय संचालन गरेका थिए ।

सन् १९३३ मा रणोंदिप सिंह राणा श्री तिन महाराज भएपछि दरवार निकट र दरवारमा काम गर्नेका छोराहरुले पनि यस स्कुलमा पढ्न पाए भने सन् १९४२ मा बीर शम्शेरले दरवार हाईस्कुलको निर्माण गराएर सन् १९४८ मा सम्पन्न भएको थियो । सन् १८७२ पश्चात नेपालमा शिक्षा अभाव खड्किएको इतिहासले आज सन् २०२२ पुग्दा हामी कुन बिषयमा कहाँ छौ र बिकसित मुलुकमा शिक्षाको पहुच के कति भयो र हाम्रो अनुपात कहा छ भन्नेमा विश्लेषण हुनु र राजनीतिमा बिषयगत ज्ञानको आवश्यक्ता र मापदण्ड निर्धारण हुन् नितान्त जरुरी छ ।

राजा पृथ्बीनारायण शाहले मुलुक एकीकरण जस्तो महान कार्य गरेपश्चात ल़ामो समय शाह बंश र नेपालको नाम बिश्व इतिहासमा गुमनाम रहेकोमा बि. स. २०११ मा राजा बनेका महेन्द्र बीरबिक्रम शाहको करिव १७ बर्षे कार्यकालमा उल्लेखनीय र मनन योग्य कामहरु भएका थिए । नेपालमा पूर्व-पश्चिम राजमार्ग, अरनिको राजमार्ग, पृथ्बी राजमार्ग, त्रिभुवन बिश्वविद्यालयको निर्माण तथा संचालन, स्वास्थ्य, भूमिसुधार, नयाँ मुलुकी ऐन, विकेन्द्रिकरण लागू, राष्ट्रिय सुरक्षा, उद्योग स्थापना गरि परनिर्भर्तामा कमि ल्याउने जस्ता उल्लेख्य कार्य गरी चीन, भारत र अन्तराष्ट्रसँग समेत राष्ट्र संघमा सामेल भई सुमधुर सम्बन्ध बनाउन सफल भएका थिए । उभो गतिमा गइरहेको नेपालको बिकास र समृद्धि महेन्द्रको देहान्त पश्चात राजा बीरेन्द्रले सत्ता सम्हाली सकेपश्चात ओरालो लागेको प्रष्ट देखिन्छ ।

बेलायतमा अध्ययनको असरले होला व्यक्तिगत स्वतन्त्रताप्रति राजा बीरेन्द्र निकै उद्धार देखिए तर मुलुकको विकास र आर्थिक समृद्धिमा उनको ध्यान नै नपुगेर अर्थतन्त्र सिथिल बन्दै गयो, यहाँ एक कुरा के प्रष्ट हुन् जान्छ भने मुलुकले व्यक्तिगत स्वतन्त्रता जति-जति खुल्ला बनाउदै गयो उति-उति मुलुकको विकास र आर्थिक समृद्धि बढाएर जानु पर्ने हुन्छ भने शतप्रतिशत युवा दस्ताहरुलाई मुलुकले उचित रोजगारीको व्यवस्थापन गरी शून्य बेरोजगारको सुचाकांकमा मुलुक पुग्न र पुर्याउन आजको आवश्यक्ता हो नत्र “खाली दिमाग सैतानका बास” भन्ने कथन पुष्टि हुन् जान्छ ।

प्रजातन्त्रको बहाली पश्चात मुख्य राजनीतिक दलहरुले रोजगारीको सिर्जना, स्वरोजगार, पर्यटन, कृषिमा उल्लेख्य सुधार गराई आयात बन्द गरि निर्यात गर्ने लक्ष्य लिनुपर्ने, बिदेशी र छिमेकी मुलुकलाई बिजुलीको उद्योग स्थापना गर्न दिई चालिसौ हजार मेगावाट उत्पादन गरी यसबाट अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नि:शुल्कमा प्राप्त हुने बिजुलीले मुलुक उज्यालो पार्ने हों भने त्यो बिजुलीको रोयल्टीको रकमले मुलुकको बिकास गर्ने हों, उच्च पहाडी भेगका खाली जमिनहरुमा जडिबुटी खेती गरी र गर्न दिई राजश्व र रोजगारी सिर्जना गर्ने हों भने विश्व कै सस्तो, सुरक्षित र भरपर्दो पर्यटकीय गन्तब्य नेपाललाई बनाएर मुलुकको अर्थतन्त्र सुधार मात्र नभएर हाम्रो मुलुकलाई संसारकै समृद्ध मुलुक बनाउन केहि समय लाग्ला जस्तो मलाई लाग्दैन, बिडम्बना चुनाव आउछ त्यही सोच बेगरको मानिसलाई अध्यक्ष, मेयर, सांसद बनाएर मन्त्री, प्रधानमन्त्री चुन्ने गरेका छौ ।

म्युजिक र राजनीतिको फण्डा उस्तै उस्तै लाग्यो : दशौँ/बीसौं बर्ष संगीत सिकेका यस विधामा पारंगत अधिकांश मानिसहरु संगीत गुरु वा संगीतकारको रुपमा पाईन्छन, पर्फोमर याने की सिंगर हुनलाई त्यो विधाको राम्रो ज्ञान भए उत्तम तर व्यक्ति भित्रको प्राकृतिक क्षमता र भीड समेट्न सक्ने क्षमता भएको गायक सफल हुने बिश्व इतिहासले प्रष्ट पारेको छ । एकाध एरेन्जर र एकाध बाध्यबादक बाहेक म्युजिकमा लाग्ने सवैको चाहना सिंगर हुने नै हुन्छ भने झै राजनीतिमा लागेका एकाध बाहेक प्राय: मानिसको चाहना कार्यकारी नै बन्ने भन्ने हुँदो रहेछ जुन मुलुकको समृद्धिमा अहितकारी बनेको हाम्रो कथा र इतिहास छन् ।

राजनीति यस्तो खेल हो जहाँ खेलाडीको एकपटक प्रवेश हुन्छ र खेल खेल्छ भने अनुरुप गोल गर्न सकेन भने उ स्वयम् अक्षम घोषणा गरेर बाहिरिन्छ र कहिले पनि प्रवेश हुदैन बिडम्बना यहाँ त्यहाँ खेलाडीलाई पटक-पटक खेलाइन्छ, कार्यकर्ताले उसलाई देवत्वकरण गरिदिन्छन र बाँचुन्जेल आफ्नो नेता बनाएर हिड्छन् । राजनीति शास्त्रले प्रति्पादन गरेका नियम परिवर्तित हुदै जाने भएकोले उमेर परिवर्तनसगै मानिसमा आएको परिवर्तनले समेत मानिसको बिचार, दृढ ईच्छा शक्ति र युवा पुस्ताका आवश्यक्ताको पहिचान गर्ने क्षमताको कमि हुदै जाने भएकोले मुलुकमा युवा शक्तिको एक्यबद्धतामा स्खलन हुने भएकोले र युवा शक्तिलाई सदुपयोग नगरिन्जेल मुलुकको गति सहि बाटोमा जान नसक्ने भएको हुँदा सोही अनुरुपको नेतृत्व बर्ग हुनुपर्ने टड्कारो आवश्यक्ता हाम्रो मुलुकलाई परेको सवै बर्ग समुदायलाई अनुभूत हुन् आवश्यक छ ।

स्थानीय चुनाव होस् वा संघको चुनाव, पदिय गरिमा र कार्यकारी पदमा जाने व्यक्तिको लागि नेतृत्वमा जाने मानिसहरुको क्षमता निर्दिष्ठ हुन् जरुरी छ । आन्तरिक पार्टीको चुनावमा जाने व्यक्तिहरुले संगठनको जिम्मेवारी लिने र नेतृत्वमा पुगेपछि आफ्नो संगठनलाई कसरी पालिका, नगर र संघसम्मको नेतृत्वमा पुर्याउने र कस्तो मानिसलाई स्थानीय र संघको चुनावमा लैजादा त्यो ठाउले विकास, आर्थिक समृद्धिका पाटाहरु पहिचान गरी दिगो विकास गर्न सक्ने व्यक्तिको छनौट हुनु पर्नेमा समग्र पार्टीमा त्यो नभई शक्ति सन्तुलन, माथिल्लो शक्तिलाई चाकडीको आधार, पैसाको रवाफ, नातावाद, जातियता, क्षेत्रियता र संगठनका नेताहरुनै उपयुक्तताको खोजी नगरी आफू टिकट लिएर जाने प्रबृत्तिले दशकौंदेखिको जनताको विकास र समृद्धिको उत्कण्ठामा फेरि पनि तुषारापात हुने निश्चित छ ।

स्थानीय निर्वाचनलाई मात्र मध्यनजर गर्ने हो भने पनि तालमेल जोड घटाउ जे जस्तो प्रक्रियाबाट पनि नेतृत्वको लागि छानिने उम्मेद्वारको छनौट बिधि र मापदण्ड केवल पार्टीका कार्यकर्ताको सिफारिसमा मात्र नभई योग्यता, क्षमता, निष्ठा, पारदर्शीता, नैतिकवान असल व्यक्तिको खोजीमा बिशेष ध्यान दिइएन भने मुलुकले चाडै अर्को बिकराल आन्दोलन वा क्रान्तिको चोट खप्नुपर्ने र मुलुकको उधोगतिको यात्रा नरोकिने प्रष्ट देखिन्छ । चुनाव हो सवै दललाई जित्न र जिताउन कम्मर कसेर लाग्न परिहाल्यो, यद्यपि जनताको चाहना राम्रो मानिसको उम्मेद्वारी खोजेका छन् । त्येसैले उपयुक्त उम्मेद्वारको सिफारिस समग्र दलको आजको आवश्यकता हो ।

*नेपालको सुदूर पूर्वी जिल्ला ताप्लेजुङमा जन्मिएका बीरेन्द्र श्रेष्ठ नेपाली संगीत क्षेत्रमा लोक पप विधामा अत्याधिक मात्रामा प्रिय भएर चिनिएका गायक तथा जलविद्युत क्षेत्रका हस्ती बरिष्ठ इन्जिनियर हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !