
काठमाडौं । काठमाडौँ जिल्ला अदालतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञा रिट बिहीबार खारेज गरेको छ । काठमाडौँका न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले श्रेष्ठको निषेधाज्ञा रिट खारेज गरेसँगै दुई अनलाइन (नेपालखबर र बिजमाण्डु) ले समाचार हटाउन नपर्ने भएको छ ।
मौर्यको इजलासले यसअघि न्यायाधीश पिताम्बर शर्माको इजलासले समाचार हटाउन दिएको आदेश पनि बदर गरिदिएको हो । गत जेठ २५ गते श्रेष्ठको निवेदनमा शर्माको इजलासले समाचार हटाउन आदेश दिएपछि विभिन्न टीकाटिप्पणी भएका थिए ।
नेपालखबर र बिजमाण्डुमा समाचार प्रकाशित भएपछि समाचारले आफ्नो प्रतिष्ठामा आँच पुगेको भन्दै श्रेष्ठ अदालत गएका थिए। न्यायाधीश मौर्यको इजलासले निवदेन नै खारेज गरिदिएपछि यसअघिको अल्पकालीन अन्तरिम आदेश स्वतः निष्क्रिय भएको छ।