१९ फाल्गुन २०८०, शनिबार

सिरिजंघा, तपाईं अनि म


सिरिजंघा गाउँपालिका

काठमाडौँ । लिम्बु भाषा तथा लिपिको सर्जक तथा संरक्षक त्येअङ्सी सिरीजङ्घा सिन थेवे तेल्लोकमा जन्मिएका थिए । हाम्रो पालिका उनै महान व्यक्तित्वको नामबाट नामाकरण हुनु अत्यन्तै सुखद पक्ष हो । यसले पहिचानको खोजीको समग्र उत्तर बोकेको छ । खासमा पहिचान भनेको मागेर, झगडा गरेर पाउनु पर्ने र कोहि दिने साथै कसैले लिने विषय नै होइन । यो त सदियौदेखि तपाईं हामीले स्वयं अर्जिएका विषय हुन् । तपाईं हामीलाई चिनाउने र त्यो नामले समग्रतामा परिचय बोक्ने विषय हो ।

नेपालमा सूर्याेदयलाई प्रथम चुम्वन गर्ने हिमाल कंचनजंघाको पूर्वी भेग सिरिजंघा गाँउपालिकामा पर्छ । सन् १८४८ तिरै बेलायती सर डाल्टन हुकरको टिमले यसको अध्ययन गरेको थियो । सन् १८५२ सम्म कंचनजंघालाई विश्वकै अग्लो हिमाल मानिएको थियो भने १८५२ को सर्भे पश्चात मात्र विश्वको तेस्रो हिमालको रुपमा मान्न थालिएको हो ।

झण्डै ८५० मिटर अल्टिच्युडको सोसुङ्गा, काबेली दोभानदेखि ८५८६ मिटर अल्टिच्युडको कंचनजंघाको चुचुरोलाई हिसाव गर्दा ७७०० मिटर अधिकको अल्टिच्युट विविधता भएको हाम्रो सिरिजंघा गाउँपालिकाको एक नम्वर वडा सिनामको पञ्चमी बजारदेखि खान्दिम्बे, जोरपुल, पेदाङ, खेवाङ, याम्फुदिन पुग्दा देखिने संसार र याम्फुदिनबाट तरुन्देन, शेराम, रामजेर हुँदै कंचनजंघा बेसक्याम्प पुग्दा देखिने ताप्लेजुङ अत्यन्तै फरक छ । सिजनको फल स्वास्थ्यलाई उत्तम हुन्छ भनेझैं, हामी हिमाली जिल्लामा छौ, हिमाली जिल्लाको प्राकृतिक रस पनि हिमालमै हुन्छ, यानेकी सिरिजंघादेखि फक्ताङलुङ सम्मको ताप्लेजुङ भित्रको पदमार्ग संसारकै मनमोहक मार्गमा पर्दछ ।

ई. वीरेन्द्र श्रेष्ठ

आज भन्दा ४० वर्ष अगाडिसम्म सिजनमा दैनिक ३०० जनासम्म बिदेशी पर्यटक इलामबाट हिड्दैहिड्दै आएर सिनाम पञ्चमी मुनिको झोलुङ्गे पुल हुँदै हिमाल जाने गर्थे, उनीहरुले त्यहाँका पसलहरुमा किनमेल गर्ने कुखुरा, कोदोको जाँड, रक्सी, सागसब्जीको कारण ती व्यापारी परिवारको आर्थिक अवस्था ह्वात्तै माथि आएको थियो । उ बेला पर्यटकहरु अहिलेको सिरिजंघामा मात्रै करिब दुई हप्ता बिताउने गर्थे । अहिले ती पर्यटकहरु ताप्लेजुङ आउन छोडिसकेका छन् । हाम्रोमा किन आएनन् ? पर्यटनबाट हुने आम्दानीको स्रोत कहाँ छ ? हो यसैले, अव बिशेषत: सिरिजंघा र फक्ताङलुङले आफ्नो सम्भावनाको खोजी गर्नै पर्दछ ।

आम्दानीको बाटा नबनाई राज्यको बजेट खर्च गर्नु भनेको मुलुकको ढुकुटी दोहन गर्नु हो भन्ने बुझाई एक स्थानीय जनप्रतिनिधि (अध्यक्ष, मेयर) को मात्र होइन आम जनता कै हुनुपर्ने र जनतालाई सुसूचित गराउने जिम्मा तपाईं हाम्रो कांधमा आईसकेको सबैले बुझ्नु जरुरी भई सकेको छ ।

हालसम्मको तथ्यांक अनुसार नेपालमा कूल ६५२० मेट्रिक टन अलैची उत्पादन हुने र सोको झण्डै ९३% उत्पादन हाम्रो प्रदेशको रहेको छ । कूल उत्पादनको ४५% देखि ४८% अलैची उत्पादन ताप्लेजुङकै मात्र छ । कूल उत्पादित अलैचींलाई प्रतिमन (४० केजी बराबर एक मन) को रु एक लाखले निर्यात गर्न सके, हालकै उत्पादनले झण्डै सोह्र अरब रुपैया अलैचींबाट नेपालले पाउने देखिन्छ । नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत, कार्यान्वयन ईकाइ यानेकी जोन अन्तर्गत अलैची र मकै जोनले ताप्लेजुङमा काम गरिरहेका छन् । किसानलाई उचित अध्ययन, अनुसन्धान, बिउ, मल, बिषादी र स्थिर बजारको सुनिश्चितता सरकारबाट भए, दशौ गुणा उत्पादन बृद्धि हुने, व्यापार अरबबाट खरबमा पुग्ने र स्थानीय सरकारले यसैबाट ठूलो आम्दानीको स्रोत बनाउनेमा दूई मत नै छैन ।

समुन्द्री सतहदेखि २५०० मिटर माथिका अधिकांश जमीनहरु खाली रहेका र २५०० देखि ३५०० मिटर सम्ममा खेती गर्न सकिने चिराइतो सुरुमा आफै उम्रिएकाहरुलाई काटेर रु ४०० प्रति मन बेच्ने गरेको र बि.स. २०८० मा ५०,००.०० पचास हजार सम्ममा बिक्री भएको तथ्यांकले देखाउछ । मन र क्वीन्टलमा बेचिएका चिराइतोबाट सयौ गुणा महंगा औषधीमा परिणत भई हामीले किनेर खाने नियती भोगिरहेका छौ । ताप्लेजुङको चिराइतोको गुणस्तर नं. १ मा पर्ने र यसका अलावा कुड्की, पांचऔले, बिख्मा, पाखनवेद, हडचुर, केन्जो, बुडीहोक्तो, बनलसुन, शम्तीगुम्बा, लोठसल्ला आदी सिरिजंघामा पाइने बहुमुल्य जडीबुटी हुन् । चेरी निकासी, बिचौलिया र यावत बिषयमा सरकारको ध्यान नपुगेको कारण अरबौ रुपैयाका यस्ता जडीबुटीबाट उल्लेख्य लाभ लिन नसकिरहेको अवस्था छ ।

तल्लो भेगमा खाद्यान्न, फलफूल, माछा मासुजन्य विषयको आधुनिक तर अर्गानिक मात्र खेती गर्न उत्पादनको लागि स्थानीय तथा राज्य सरकारको तर्फबाट आर्थिक तथा उच्चतम प्रामाणिक प्रविधि र उच्च स्तरका प्राविधिक खटाई, कामैले कृषकलाई उत्पादन गर्न र वजार व्यवस्थापन गर्न सहयोग गरी अत्यन्तै उर्बर जमिनको सदुपयोग गर्न ढिला भईसकेको छ । हामी आफ्नो उत्पादनले आफु स्वःनिर्भर मात्र होइन, स्थानीय सरकार योजनाबद्ध भई लाग्ने हो भने धेरै खाद्यान्न निर्यात गर्न सक्ने बन्न खासै समय नलागेको विश्व इतिहास र कथाहरुले प्रष्ट पारेका छन् ।

संसारकै उच्च कार्वन उत्सर्जन गर्ने मुलुक अमेरिका, चीन र भारतमध्ये चीन र भारतको बीचमा रहेको, यी दुईको अनुपातमा अत्यन्तै सानो मुलुक नेपाल, हाम्रो आन्तरिक कारण भन्दा दुई ठूला छिमेकी र विश्वव्यापी कारणले हाम्रो मुलुक मात्र होइन, संसारमै हिमालहरु उच्च जोखिममा परेको र गएको ५० बर्षमा १/३ (एक तिहाई) हिँउ पग्लिसकेको र पर्यावरणको क्षतिलाई अझै नरोक्ने हो भने, आउने ५० बर्षमा अर्को १/३ हिमाल पग्लिएर हाम्रा सुन्दर हिमालहरु नांगो हुँदैछन् । हामी आफै अनुमान गर्न सक्छौं, यद्यपि हिमालमा हिँउ नरहे, हाम्रो पर्यावरणको अवस्था कस्तो रहला ? गएको साल मामांखे, मेहेले लगायतका स्थानमा भएको प्राकृतिक विपदलाई नियाल्दा, सुरक्षित जीवन हरेक मानिसको पहिलो अधिकार भनेझै, सिरिजंघामा सुरक्षित स्थानको खोजी गरेर एकीकृत बस्तीको योजना ल्याउन अत्यावश्यक भई सकेको छ । विपद आईलागेपछि सहयोगमा जुट्नु कर्तव्य मात्र नभई हामी सनातन संस्कार बोकेकाहरुको लागि यो धर्म वा पुन्यकर्म समेत हो तर विपद न्यूनीकरणका उपाय अवलम्बन गरिनु अझ ठूलो पुन्य हो भन्ने सबैले बुझ्न जरुरी छ ।

केहि समय अघि उद्घोष भएको ‘कंचन्जंघाको पानी हाम्रो आम्दानी’ को सम्भाव्यता अध्ययन भई सकेको हो ? र यस्ता प्राकृतिक स्रोतलाई आम्दानीको स्रोत बनाउन सकिने हो र यसमा मुनाफा राम्रो भए सिरिजंघाबासीले नै लगानी गरी निर्माण गरिहाल्ने वातावरण सिर्जना गरिनु पर्दछ ।

डोजरे राजनीतिले अक्रान्त हाम्रो मुलुक अनि यसको एउटा हिस्सा ताप्लेजुङ पनि यसबाट अछुतो नरहेको विधितै छ । आफ्ना समर्थकहरुको घर करेसाहरुमा बाटो पुर्याउदा सम्पूर्ण बजेट सकिएको तर सडक र विकास गन्तब्यहिन भएका प्रसस्त उदाहरणहरु हाम्रा सामु प्रसस्तै छन् । यो बेथितिलाई रोकी, योजनाबद्ध तवरले द्रुत सडक निमार्ण आजको आवश्यक्ता हो । यसैबाट कमाई खान पल्केका र यसैको लागि राजनीतिलाई पेशा बनाउनेहरुबाट मुक्ति दिलाउन अर्को ठूलो कसरत गर्नुपर्ने अवस्था छ । तर आफ्नो जन्मभूमिको लागि सबैले थितीको लागि लड्ने हो भने हरेक विषयका निधान सहज प्राप्त गर्न सकिन्छ ।

झण्डै २००० मेगावाट क्षमता बोकेको ताप्लेजुङका जलविद्युत आयोजना र यी आयोजना सम्पन्न भई सकेपछि रोयल्टी वापत मात्र झण्डै १०० करोड पहिलो १५ वर्षलाई पाउने र दोस्रो १५ वर्षमा ५०० करोडसम्म रोयल्टी पाउने अवस्था रहने हाम्रो जिल्लामा हाल बर्षेनी ६५ करोड आसपास मात्र विकास बजेट राज्यबाट पाईरहेका छौं । हो यसै कारण हामीले सुनिरहेको उखान “सुनको कचौरामा भिख” को सार्थकता खोजिरहेका त छैनौ ? हैन भने हामी किन जिल्लाभित्रका सम्भावनाहरु उजागर गरेर आफै स्वावलम्वी बन्ने मात्र होइन अत्यन्तै विकसित जिल्लाको रुपमा ताप्लेजुङलाई चिनाउन किन जुटिरहेका छैनौ ?
जलविद्युतमा मध्यम क्षमता बोकेको सिरिजंघाका कावेली, ईवा, फावा खोलाहरुमा आयोजनाहरु निमार्ण हुने क्रममा छन् । समस्त प्रवर्धकहरुलाई हार्दिक आभार व्यक्त गर्दै, सामाजिक विकासका कामहरु (CSP), रोजगारी, दहत्तर-बहत्तर करमा राज्यले व्यवस्था गरे अनुरुपको भए नभएको चेक गर्नु नपर्ने वातावरण सिर्जना होस भन्ने ताप्लेजुङवासीले कामना गरिरहेका छन् । जमाना पारदर्शिताको आयो तर बिडम्वना धेरैमा पारदर्शिताको खडेरी छ र ती आयोजनालाई सामाजिक अडिट कुनै दिन हुन्छ ? आफु र योजना समेत समस्यामा परिन्छ कि भन्ने खासै हेक्का नराखेको यत्रतत्र देखिएका छन् ।

विगत १० वर्षदेखि ताप्लेजुङलाई नियाल्दा, चाड पर्वको अवसरमा, गाँउका क्लब र विभिन्न समुहहरुले पालिकाका हरेक वडा र टोलहरुमा समेत फुटबल, भलिबल लगायतका खेलहरु र सांगीतिक कार्यक्रमहरु गर्ने गरेका पाइन्छ तर यति लामो समयको प्रयासमा खासै खेलको राष्ट्रिय स्तरमा गुणस्तर पुगेको देखिएन । यदि हामीले स्थानीय सरकारसग मिलेर सिरिजंघामा कुनै एक बिधाको तालिम केन्द्र संचालन गरी गाँउ-गाँउबाट साना-साना विद्यार्थीलाई नियमित शिक्षासंगै खेल प्रशिक्षणमा सहभागी गराउन सकियो भने १० बर्षमै हाम्रा ती आजका साना भाइबहिनीहरु राष्ट्रिय खेलाडी बन्ने निश्चित छ । यसतर्फ सम्बद्ध सबै निकायकोे ध्यान जावस भन्ने कामना गर्दछु ।

समाजमा चेतना अभावको कारण स्वास्थ्यमा खरावी आई ठूला रोगको शिकार बनिरहनु परिरहेको अवस्था छ । गाँउगाँउमा स्वास्थ अनि सामाजिक काम कर्तव्यको चेतना अभिवृद्धि कार्यक्रम संचालन तथा स्थानीय सरकारले गाँउ-गाँउमै नियमित स्वास्थ्य परिक्षण हुने वाताबरण सिर्जना गरिनु र यसको उत्तरदायीपूर्ण अभिलेखिकरण साथै आवश्यकीय नियमन आजको हाम्रो हिमाली जिल्लाको आवश्यकता हो ।

प्रत्येक वडामा भएका माद्यमिक स्तरका विद्यालयलाई उचित विद्यार्थी संख्या नपुगेको र यी विद्यालयको गुणस्तरीय संचालन गर्न मुलुकको राज्यकोषले नधान्ने सबैले बुझेका छौ । नतिजायुक्त शिक्षामा लगानीबिना कुनै पनि गाँउ, समाज र मुलुकको विकास र जनताको आर्थिक समृद्धि सम्भव नै छैन, यसर्थ मौजुदा पालिकामा एउटा विद्यालयलाई पूर्ण आवासीय बनाई अन्तराष्ट्रिय स्तरको विद्यालय बनाउन के गर्नुपर्छ ? सम्बन्धित निकायहरुसंग परामर्श लिने-दिने काम भई सिरिजंघामा नेपालकै नमुना विद्यालय बनाउन र “विकसित अनि समृद्ध सिरिजंघा” मा सबैको जोडबल होस् ।

(सिरिजंघा सरोकार समाजको छैठौं वार्षिक उत्सवको अवसरमा इन्जिनियर श्रेष्ठले राखेको मन्तव्यलाई लेखको रुपमा उतारिएको)

लेखक सिरीजंघा-१ सिनाम, ताप्लेजुङ निवासी ईन्जिनियर वीरेन्द्र श्रेष्ठ लोकपप विधाका पूर्वका चर्चित गायक समेत हुन् । लामो समयदेखि जलविद्युतको विकास निर्माणमा संलग्न हस्ती बरिष्ठ ईन्जिनियर श्रेष्ठ मुलुक समृद्धताको लागि आफ्ना अनेकन फाइदाहरुलाई त्यागेर अनवरत मुलुकको सेवामा लागी परेका छन् । समाज सेवालाई निकै बढावा दिंदैछन् ।

यो पनि पढ्नुहोस्

पृथ्वी जयन्ती र क्रान्तिको सार

ताप्लेजुङको विकासको लागि इन्जिनियर वीरेन्द्रले देखे यस्तो सपना

नेपालका राजनीतिक दलको बिरासत अनि आजको आवश्यकता

नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण

प्राकृतिक विपद् र नेपालको अवस्था

आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता

स्थानीय निर्वाचनप्रति नागरिकको झुकाव र हाम्रो आवश्यकता

स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !