१० भदौ २०८३, बुधबार

काैशल्य गोत्रीय सिजापती भण्डारीका एक जिउँदो इतिहासको अन्त्य


श्रीप्रसाद भण्डारी

काठमाडौँ । ताप्लेजुङका पूर्व जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन भएको छ । काैशल्य गोत्रीय सिजापती भण्डारीका अग्रज व्यक्तित्व भण्डारीको हिजो २०८३ साउन १७ गते आइतबार दिउँसो ३ बजेर ३६ मिनेट जाँदा ८९ वर्षको उमेरमा निधन भएको हो ।

जन्म

श्रीप्रसादका पिता राइटर मनप्रसाद भण्डारी क्षेत्रीका दुई श्रीमतीमध्ये जेठी श्रीमतीतर्फबाट ३ भाइ छोराहरु र १ छोरी तथा कान्छी श्रीमतीको तर्फबाट २ भाइ छोराहरु र ४ बहिनी छोरीहरु भएका थिए । पिता मनप्रसाद तथा उनकी कान्छी श्रीमती माता मनधरा प्रसाई भण्डारीको कान्छा छोरा रहेका श्रीप्रसादको ताप्लेजुङ जिल्ला हाल सिरिजङ्घा गाउँपालिका-५, पेदाङ साबिक पेदाङ गाउँ विकास समिति-२ मा वि.सं. १९९४ साल मंसिर ८ गते जन्म भएको थियो । हाल उहाँ शिवसताक्षी नगरपालिका–९ दुधे निवासी हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरा र सात जना छोरी रहेका छन् ।

राजनीतिक जीवन

ताप्लेजुङ जिल्लामा श्रीप्रसाद भण्डारी पञ्चायती व्यवस्थामा एक स्थापित नाम हो । वि.सं. २०१८ सालदेखि ताप्लेजुङको राजनीतिमा सक्रिय हजुरबुबा श्रीप्रसाद (मेरा हजुरबुबा लैन बहादुर भण्डारीका जेठा बडिबुबा राइटर मनप्रसाद भण्डारीका कान्छा छोरा) ले प्रधानपञ्च, ताप्लेजुङ जिल्ला पञ्चायत सदस्य, जिल्ला पञ्चायत उपसभापति हुँदै २०३९ सालसम्म जिल्ला पञ्चायत सभापतिको जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएको थियो ।

२०१८ सालदेखि २०३९ सालसम्म २१ बर्षसम्म पदमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएर निरन्तर जनसेवामा आफ्नो जीवन समर्पित गर्नुभयो । उहाँ वि.सं. २०३३ को निर्वाचनमा ताप्लेजुङ जिल्ला पञ्चायत सभापतिमा निर्वाचित हुनुभएको थियो ।

उहाँ २०१८ सालमा चैत महिनामा ताप्लेजुङका १८ ग्राममध्ये खेवाङ ग्राम पञ्चायतको प्रधानपञ्च बन्नुभयो । २४ वर्षको उमेरमा २०१८ सालदेखि २०२३ सालमा जिल्ला पञ्चायत सदस्य बन्नुभएको उहाँ २०२३ सालदेखि २०२८ सालसम्म जिल्ला पञ्चायत उपसभापति हुनुभयो । उहाँले २०२८ सालदेखि २०३३ सम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभयो र २०३३ सालदेखि २०३९ सालसम्म जिल्ला सभापति हुनुभयो । मेरा बुबा रन बहादुर भण्डारीले पनि २०३८ सालमा श्रीप्रसाद हजुरबुबा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा उम्मेदवार हुँदा पुरै जिल्लाभरीका गाउँपालिका चुनाव प्रचार-प्रसारमा सहयोग गर्न एक महिना हिड्नु भएको थियो ।

उहाँ दुई कार्यकाल जिल्ला उपसभापति, एक कार्यकाल कार्यवाहक सभापति र एक कार्यकाल जिल्ला सभापति हुनुभएको थियो । निर्वाचित तथा कार्यवाहक दुवै भूमिकामा गरी ताप्लेजुङ जिल्लामा नेतृत्वको जिम्मेवारी निर्वाह गरेका उहाँको योगदान सदैव स्मरणीय रहनेछ ।

पञ्चायतकालभरी राजनीतिमा सक्रिय उहाँले एउटा इमानदार, समर्पित र निस्कलंन नेताको परिचय बनाउनुभयो । घरको खाएर समाजको सेवा गर्ने त्यो जमानामा उहाँले पनि एक सुक्का अरूको नलिई आफ्नो पुर्ख्यौली सम्पतिबाट पुरै २१ वर्ष ताप्लेजुङको राजनीतिमा समर्पित हुनुभयो ।

समाजसेवा

हाम्रा एक अग्रज व्यक्तित्व, कुशल, इमान्दार विकासप्रेमी, कर्तव्यनिष्ट हजुरबुबा (बुबाका काका, हजुरबुबाका ठूलोबुबाका छोरा) पेदाङ राष्ट्रिय माध्यमिक विद्यालयका संस्थापक जग्गादाता साथै उक्त विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहनुभएका पेदाङका एक असल, अग्रणी अभिभावक हुनुहुन्थ्यो । उहाँले आफ्नो गाउँठाउँ र जिल्लामा धेरै नै सामाजिक कामहरु गर्नुभएको थियो ।

उहाँ र उहाकी धर्मपत्नी मदन कुमारी भण्डारीको यश, मानप्रतिष्ठा, कृति, समाजिक सेवाभावलाई जीवन्त राख्न र उहाँका सन्ततिले आफ्ना आमाबुबाप्रति गर्नुपर्ने कर्तव्यलाई पनि मनन् गर्दै “श्री श्रीप्रसाद-मदन कुमारी भण्डारी” अक्षयकोष खडा गरी यस काठमाडौं-खेवाङ्ग हातेमालो समाजमा पन्ध्र लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । हरेक वर्ष शिक्षा क्षेत्रका ६ जना उज्वल नक्षेत्र (तीन जना छात्रा, तीन जना छात्र) लाई पच्चीस हजारका दरले पुरस्कृत र प्रोत्साहन गर्ने उद्धेश्यसहित यस अक्षयकोषको पुरस्कार स्थापना गरिएको छ ।

उहाँले आफ्नो सम्पूर्ण जीवन समाज, राष्ट्र र जनताको सेवामा समर्पित गर्नुभयो । ताप्लेजुङ जिल्लाको विकास, सुशासन र जनहितका लागि उहाँले अनेकौं महत्वपूर्ण सार्वजनिक तथा राजनीतिक जिम्मेवारीहरू अत्यन्त इमानदारी, निष्ठा र दूरदर्शिताका साथ सफलतापूर्वक निर्वाह गर्नुभएकाे थियो भनेर उहाँकी छोरी निर्मला भण्डारीले बताउनुभएको छ । “सुखमा नमातिनु र दुःखमा नआतिनु, आत्मालाई साक्षी राखेर आफ्नो जीवन देश र समाजका लागि निस्वार्थ भावले समर्पित गर्नु, असल आचरण र सत्यको बाटोमा हिँड्नु” भन्ने उहाँले दिनुभएको महान् आदर्श शिक्षा सदासर्वदा शिरोधार्य गर्दै आफ्नो जीवन पूर्ण निष्ठाका साथ बिताएको स्मरण पनि उहाँकी छोरी निर्मलाले गर्नुभएको छ ।

मनप्रसाद राइटरको समाजसेवा र प्रसिद्धिको चर्चा

श्रीप्रसादका पिता मनप्रसादले गाउँमा रहँदा पेदाङबाट बाहिर आवतजावत गर्न एउटा फलामे लट्ठाको झोलुङ्गेपुल, तावाखोलामा एउटा फलामे झोलुङ्गेपुल, पेदाङबाट तेल्लोक जाने नाङ्गदेवा खोलामा काठेपुल, गाईवस्तु र मानिस हिंड्न हुने बाटो, आदि आफ्नै खर्चमा बनाउनुभएको थियो । यसका अतिरिक्त मनप्रसादले अनेकौं धारा, बाटो, पाटीपौवा, चौताराहरु पनि बनाउनुभएको थियो ।

मनप्रसादले २ पटक तुलादान (व्यक्तिको शरीरको तौल बराबरको वस्तु जस्तै सुन, चाँदी, एकबिटे र जोरबिटे पैसा, अन्न वा फलफूल दान) गरेका थिए रे । मनप्रसादले आफ्ना पुरेत नन्दराम घिमिरेलाई मेहेलेको माँगदिनमा अन्दाजी ३० रोपनी जति जग्गाको घरबारी दिएर भूमिदान गरेका थिए रे । मनप्रसाद राइटरको कञ्चनजङ्घा र कुम्भकर्णको फेदीमा पर्ने साबिक याम्फुदिन गाविसमा पर्ने बारुले खर्कमा २५०० रोपनी जति जग्गा थियो । उनीसँग एकमुखे रुद्राक्ष, दाहिने शंख, स्यालको सिङ्ग, सर्पको मणिसमेत थियो रे भन्ने कथन थियो । उनीले आफ्नो समयमा वार्षिक रुपमा ५०० मुरी जति धान राख्दथे भनिन्छ । उनले रेग्मी र बस्नेत थर गरेका सहयोगी परिवारलाई घरबारी दिएर समेत राखेका थिए ।

लेखक राजेश्वर थापाका अनुसार सत्यहाङ्मा पन्थका संस्थापक महागुरु फाल्गुनन्द लिङ्देन घुन्सा जाँदा मनप्रसादले महागुरुको इच्छा बमोजिम घुन्सा जाने बाटोमा विभिन्न चौतारा, पाटी बनाइदिनुभएको थियो भने महागुरुलाई माङहिम बनाउन र होमयज्ञ गर्न पनि सहयोग पुर्याउनु भएको थियो ।

धर्मकर्म र सामाजिक सेवाका कर्मबाहेक उनले आफ्नो तथा छरछिमेकका गाउँहरुमा कुनै झैँझगडा हुँदा त्यसको समाधान गरिदिने, आपत्विपत्मा परेकालाई सरसहयोग गर्ने, दान पुण्यका कर्म गर्ने गर्नुहुन्थ्यो भनेर लेखक थापाले उल्लेख गर्नुभएको छ । पेदाङमा उहाँले दान दिएको जग्गामा पहिले बनेको प्राथमिक विद्यालयमै हाल मा.वि. सञ्चालन भइरहेको छ ।

तावानागीबाट पश्चिम दिशाका साहु–महाजनको चर्चा

ताप्लेजुङ जिल्लाको तावानागीबाट पश्चिम दिशामा पर्ने साबिकका पाँच वटा गाउँ विकास समितिका साहु–महाजनको चर्चा हुने एउटा प्रसिद्ध कथन थियो । जसअनुसार पेदाङका भण्डारी, तेल्लोकका भट्टराई, सिनामका थेवे, मेहेलेका कडरिया र खेवाङका बाहुन (दाहाल र गौतम) भन्ने नाम प्रसिद्ध थियो । जसमध्ये पेदाङका साहु राइटर मनप्रसाद भण्डारी, तेल्लोकका महाजन भर्तध्योज भट्टराई तथा राइटर मान बहादुर भट्टराई, सिनामका महाजन भिम बहादुर थेवे, मेहेलेका सुबेदार पदम बहादुर कडरिया साथै खेवाङका प्रेमलाल गौतमका बुबा साहु तुलसीराम गौतम र आमा धैली गौतम (धैली बुढी) तथा अर्का खड्क प्रसाद दाहाल (एकचने माइला) का बुबा साहु दधिराम दाहाल (एकचने बुढा) थिए । यीमध्ये पेदाङका साहु राइटर मनप्रसाद र सिनामका महाजन भिम बहादुर धनी थिए भन्ने कथन थियो ।

मेरो अनुभूति प्रेरणाको स्रोत

सानो छँदा स्कूलमा पढ्दा म पढाईमा सधैं नै सर्बोत्कृष्ट रहे । जसलाई उहाँले कदर गर्दै म ३ वा ४ कक्षामा पढ्दा गाउँमा भएको झैँ-झगडा डाँडाघर (श्याम भण्डारी काकाको घर) मा मिलाउँदा यो रन बहादुरको जेठो छोरा गोपाल नातीले पनि पढ्नमा राम्रो र इमान्दार छ यसलाई पनि आफ्नो धारणा राख्न दिनुपर्छ भनेर त्यो समयमा म जस्तो सानो ३ वा ४ कक्षामा पढ्ने फुच्चे केटालाई त्यस्ता राजनीतिज्ञ र अन्य भद्रभलादमीको सभामा पनि आफ्नो धारणा राख्न दिएर समाज घेटेको घटनाको बारेमा यूवालाई मूल प्रवाहमा जोड्ने र समान अवसर दिने नीति समावेशिताको सिद्धान्तलाई अनुशरण गर्ने उहाँ समावेशीकरणको एक आदर्श मार्गदर्शक हुनुहुन्थ्यो ।

अर्को घटना एसएलसी परिक्षामा मैले ताप्लेजुङ जिल्ला प्रथम भए । उहाँ हामी सवै भण्डारीको अभिभावक भएकोले मेरो बुबा मैले एसएलसी पास गरेपछि सरसल्लाह लिन जानु भएको थियो । उहाँ मेरो एसएलसीको नतिजाले धेरै खुसी हुनुभयो रे बुबाले भन्नुभएको । उहाँले कलेज पढ्न जाँदा गाउँपालिकाको सिफारिस र स्कूलको सिफारिस लागेमा छात्रवृति पाउन सजिलो हुन्छ भनेर सल्लाह दिएकोले मलाई कलेज पढ्दा कलेजले दिने छात्रवृति पाउन सहज भएको थियो । उहाँ बालबालिका वा व्यक्तिले राम्रो व्यवहार, प्रयास वा उपलब्धि देखाउँदा त्यसको प्रशंसा, पुरस्कार वा अन्य सकारात्मक प्रतिक्रिया दिएर त्यही व्यवहारलाई निरन्तरता दिन प्रेरित गर्ने सकारात्मक प्रोत्साहनको नीतिको समर्थक हुनुहुन्थ्यो । हजुरबुबाले दिएको हौसला र मार्गनिर्देशन मेरा लागि सदैव प्रेरणा स्रोतको रुपमा रहनेछ ।

श्रीप्रसादको पेदाङको मूलघरको चर्चा

उहाँको घर भनेको हाम्रो पेदाङका भण्डारीको मूलघर थियो । सो घर पहिला दरवारभन्दा कम थिएन, जगजग बत्तीझैँ बल्दथ्यो, एउटा छुट्टै आध्यात्मिक शक्ति भएजस्तो भान हुन्थ्यो । सो घरमा काम गर्ने सहयोगी पनि थिए, पाहुना कुनै दिन टुट्दैन्थे, पाहुनालाई ८४ व्यन्जन खानाको मेजमान हुन्थ्यो । बिचरा हजुरआमालाई कत्ति प्रेसर हुन्थ्यो होला, पाहुनाको सत्कार गर्न र घर सम्हाल्न भनेजस्तो लाग्छ अहिले सम्झदा । दशैँमा हजुरबुबा र हजुरआमाको हातको टिका लगाउँदा हामी गर्व महसुस गर्दथ्यौ । तिहारमा देउसीभैलोको रौनक छुट्टै मजा हुन्थ्यो ।

हामी भण्डारीको कुलदेवता उहाँकै घरमा राख्ने गरिन्थ्यो । देवाली कुलपूजा उहाँकै घर नजिकको पूर्वदक्षिणमा रहेको टार खेतमा प्राय: गरिन्थ्यो भने हाम्रो भण्डारीको गोठधूप पूजा पनि उहाँकै घर नजिकको पश्चिमदक्षिणमा रहेको टारी खेतमा गरिन्थ्यो । ताप्लेजुङको याङरुप क्षेत्रमा हाम्रो पेदाङका भण्डारीको जस्तो भव्य र अथितिलाई विभिन्न परिकार बनाएर स्वागत गर्ने गरी देवाली कुलपूजा अरुको हुँदैन्थ्यो ।

श्रीप्रसादका भान्जाहरुको चर्चा

ताप्लेजुङ जिल्लामा पेदाङ र भण्डारी भन्नेबित्तिकै हजुरबुबा श्रीप्रसाद भण्डारीको नाम अझै पनि पहिलो नम्वरमै आउँछ । उहाँका जेठी दिदी जानुका र जेठा भिनाजु नन्दराम कडरिया जो मेरी आमाका जेठा मामा हुनुहुन्थ्यो । नन्दराम हजुरबुबाले पनि सानोमा हाम्रो घर आउँदा हामीलाई पढ्नमा र हाम्रो बुबाआमालाई हामी छोरालाई पढाउन प्रोत्साहन र हौसला दिनुहुन्थ्यो । उहाँका जेठी दिदी जानुका र जेठा भिनाजु नन्दराम कडरियाका जेठा छोरा उहाँका भान्जा गौरीमान कडरिया नेपाल विद्युत प्राधिकरणका निर्देशक हुनुभयो भने साहिला छोरा पूर्ण कडरिया विगतमा सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक हुँदै नेपाल सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालय (हालको पूर्वाधार विकास मन्त्रालय) को सचिव हुनुभयो । गौरीमन र पूर्ण मामालाई पढ्नमा हौसला र प्रोत्साहन उहाँहरुका मावलीका हजुरबुबा श्रीप्रसादका पिता राइटर मनप्रसाद नै गर्नुभएको भन्ने कुरा सुनिन्थ्यो ।

काैशल्य गोत्रीय सिजापती भण्डारीका अभिभावक

हामी सवै काैशल्य गोत्र सिजापति भण्डारीका अभिभावक, छहारी र आडभरोसा दिने हजुरबुबा नै हुनुहुन्थ्यो, आज हजुरले नै छोडेर जाँदा हामी वास्तवमै टुहुरा भएका छौं । ताप्लेजुङ जिल्लाको नेतृत्व गरिसकेका ताप्लेजुङको गौरव रहेका ऐतिहासिक धरोहर एवं निष्कलंक जनप्रतिनिधि हुनुहुन्थ्यो । हजुरबुबाले पछ्याएको सादगी जीवन, नि:स्वार्थ समाजसेवा, निष्कलंक सार्वजनिक जीवन भावी पुस्ताका लागि पनि प्रेरणाको स्रोत रहनेछ । हाम्रो भण्डारीको अभिभावक मात्र नभएर एक सच्चा देशभक्त गुमाएका छौं ।

सम्मान

स्वर्गीय हजुरबुबाले वि.सं. २०२९ वैशाख १ गते तत्कालीन राजा वीरेन्द्रबाट नेपालको सेवा र विशिष्ट योगदानका लागि प्रदान गरिने एक ऐतिहासिक तथा प्रतिष्ठित विभूषण (पदक) गोरखा दक्षिणबाहु पदवी प्राप्त गर्नुभएको थियो ।

मृत्यु

उहाँ लामो समयदेखि दमको बिरामी थिए र केही दिन पहिला मात्र स्वास्थमा जटिलता देखिएपछि झापाको बिर्तामोडमा अवस्थित बिएण्डसी अस्पताल भर्ना गरिएको थियो । अस्पतालले उहाँलाई डिस्चार्ज गरेर दुधेस्थित घरमा ल्याएको करिब आधा घण्टापश्चात नै उनको दु:खद निधन भएको हो ।

अन्त्यमा

अन्त्यमा भन्नुपर्दा हामी काैशल्य गोत्रीय सिजापती भण्डारीका एक जिउँदो इतिहासको अन्त्य भएको छ । ताप्लेजुङ जिल्लाका अग्रज सबैको मनमुटुमा बसेका, सहयोगी भावानाले ओतप्रोत भएका सकारात्मक सोच भएका हजुरबुबाको निधनले पेदाङ गाउँका साथै झापा जिल्लाको दुधेदेखि देश-विदेशमा रहेका सम्पूर्ण काैशल्य गोत्र सिजापति भण्डारी बन्धुहरु, आफन्तहरु र नातागोतालाई पुरै स्तब्ध बनाएको छ ।

दिवंगत हजुरबुबाको आत्माप्रति नेपालपत्र परिवार र यसको सम्पादकको नाताले म गोपाल भण्डारीको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन हजुरआमा, कुमार काका र काकी, दिज्यूहरु देवी, बिष्णु, कमला, निर्मला, बिमला, उर्मिला, प्रमिला र इन्दिरामा तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

ॐ शान्तिः शान्तिः शान्तिः ॥

*लेखक गोपाल भण्डारी नेपालपत्र डटकमका सम्पादक हुन् ।

यो पनि पढ्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !