काठमाडौँ । ताप्लेजुङका पूर्व जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन भएको छ । ताप्लेजुङका पूर्व जिल्ला पञ्चायत सभापति भण्डारीको आज ८९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको हो ।
पिता राईटर मनप्रसाद भण्डारी क्षेत्री तथा माता मनधरा प्रसाई भण्डारीको कान्छा छोरा रहेका भण्डारी ताप्लेजुङ जिल्ला हाल सिरिजङ्घा गाउँपालिका-५, पेदाङ साबिक पेदाङ गाउँ विकास समिति-२ मा जन्म भई हाल शिवसताक्षी नगरपालिका–९ दुधे निवासी समाजसेवी तथा पूर्वजनप्रतिनिधि भण्डारीको आज २०८३ साउन १७ गते आइतबार दिउँसो ३ बजेर ३६ मिनेट जाँदा दुःखद निधन भएको हो ।
वि.सं. १९९४ साल मंसिर ८ गते जन्मेका स्वर्गीय भण्डारीले वि.सं. २०२९ वैशाख १ गते तत्कालीन राजा वीरेन्द्रबाट गोरखा दक्षिण बाहु पदवी प्राप्त गरेका थिए भने वि.सं. २०३३ को निर्वाचनमा ताप्लेजुङ जिल्ला पञ्चायत सभापतिमा निर्वाचित भई २०३९ सालसम्म जनसेवामा समर्पित रहेका थिए ।
काैशल्य गोत्र सिजापति भण्डारीका एक अग्रज व्यक्तित्व, कुशल, इमान्दार विकासप्रेमी कर्तव्यनिष्ट भण्डारी पेदाङ राष्ट्रिय माध्यमिक विद्यालयका संस्थापक जग्गादाता साथै उक्त विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका पेदाङका एक असल, अग्रणी अभिभावक थिए ।
भण्डारी लामो समयदेखि दमको बिरामी थिए र केही दिन पहिला मात्र स्वास्थमा जटिलता देखिएपछि झापाको बिर्तामोडमा अवस्थित बिएण्डसी अस्पताल भर्ना गरिएको थियो । अस्पतालले उनलाई डिस्चार्ज गरेर दुधेस्थित घरमा ल्याएको करिब आधा घण्टापश्चात नै उनको दु:खद निधन भएको हो ।
दिवंगत भण्डारीको भोलि सोमबार बिहान ११ बजे कन्काइ आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने सम्पूर्ण आफन्तजन, इष्टमित्र तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ ।
स्वर्गीय भण्डारीको निधनको खवरले सम्पूर्ण काैशल्य गोत्र सिजापति भण्डारी अत्यन्त मर्माहत भएका छौं । दिवंगत भण्डारीको आत्माप्रति नेपालपत्र परिवार र यसका सम्पादक गोपाल भण्डारीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।









