२१ बैशाख २०८१, शुक्रबार

संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाँणिनी तपोभूमि


पाँणिनी तपोभूमि

पृष्ठभूमि : पाँणिनी, अर्घाखाँची स्थित पाँणिनी तपोभूमि हजारौं वर्षअघि पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदमीमा आएका पाँणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको किंवदन्ती छ । संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाँणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल पनि हो ।

परिचय

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा अवस्थित पाणिनी तपोभूमि एक धार्मिक तथा पर्यटकीय महत्व वोकेको ऐतिहासिक स्थान हो । नेपाली संस्कृत अंग्रेजी आदि भाषा वाङ्मयमा पाणिनी ऋषिको जति चर्चा हुन्छ, त्यत्ति नै महत्व बोकेको छ पाणिनी तपोभूमि अर्घाखाँचीले ।

करिब ५० रोपनी क्षेत्रफलमा फलिएको, पाल्पा सदरमुकाम तानसेनबाट र अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट करिब समदुरिमा अवस्थित पाणिनी तपोभूमि ‘पणेना’ यी दुवै ठाउँबाट ३१ कि.मि.को दुरीमा पर्छ । नेपाली व्याकरण लेखिएको स्थानको रुपमा परिचित यो भुमीवाट उत्तरी भागमा त्रिवेणीधाम दुर्वाशा गुफा नजिकै अवलोकन गर्न सकिन्छ ।

महत्व

पाणिनीले आठ ओटा व्याकरणीय ग्रन्थ तयार पारे जसमा आठ ओटा अध्याय थिए त्यसैले त्यस ग्रन्थलाई अष्टाध्यायी व्याकरण भन्ने गरिन्छ । पाणिनीले त्यस्ता व्याकरण रचना गरे जसमा एउटा अक्षर पनि अनर्थक छैन वा त्यस्तो परिवर्तन गर्ने स्थान नै छैन । व्याकरणकारहरुमध्ये सर्वश्रेष्ठ व्याकरणकार पाणिनी ऋषि हुन् ।

ऋषि पाणिनीको समय यत्ति नै हो भनेर किटान गरिएको छैन तैपनि विभिन्न विद्घानहरुले आ–आफ्ना धारणाहरु व्यक्त गरेका छन् । जसमध्ये कसैले इ.पू पाँचौ शताब्दी, छैटौ, सातौ, बाह्रौँ र चौबिसौ जस्ता मतहरु पाइन्छन् । गौतम बुद्धको समयभन्दा पहिले भएको पनि मानिन्छ । विद्घानहरुका अनुसार पाणिनी ऋषिका नामहरु पनि धेरै छन् जस्तै गोत्र, स्थान आदिका अनुसार उनका जति धेरै नाम भएपनि सबै नामहरु उत्तिकै लोकप्रिय छन् ।

इतिहास

पाकिस्तानको शलातुर भन्ने ठाउँमा जन्मेका पाणिनी धनी बाबु (सामन) का पुत्र थिए । बाबु धनी भएकाले हुन सक्छ, उनले तक्षशिला विश्वविद्यालयमा पढ्दा खासै चासो वा ध्यान देखाएनन् र आफ्ना सहपाठी साथीहरुसँग पराजित भएर बाबुआमाले उनलाई मावलिघर पाटलिपुत्र (पटना) पठाए र त्यहाँ उनले तक्षशिला एउटा विद्यालयमा पठनपाठन गर्न थाले जुन विद्यालयका कुलपति आफ्नै मामा (व्याडि वर्षचार्य) थिए ।

केही समय त्यहाँ पढेपछि परिक्षामा आफ्ना साथि कात्यायनसँग उनले हारे । महर्षि पाणिनी दुःखित भएको देखेर उनकी माइजू (गुरुआमा) ले हिमाली क्षेत्रतिर गई शिवको आराधना गरे सफलता मिल्न सक्छ भन्ने सुझाव पाणिनीलाई दिइन् र उनी हिमालय खोजि गर्दै हिँडे । विश्व भ्रमण गरे धेरै ठाउँ घुमे हिमाली क्षेत्र खोज्दै जाँदा उनले अर्घाखाँचिको पुर्वि भागमा रहेको एउटा सुन्दर ठाउँ फेला पारे र त्यही आफ्नो तन, मन र धन लगाएर भगवान शिवको तपस्या गरे ।

उनले तपस्या गरेको ठाउँमा स्यम् भगवान शंकर प्रकट भई १४ पटकसम्म डमरु वजाई उनलाई वरदान दिएर गए र उनले त्यही ठाउँमा बसी १४ शुत्र मूल भएको व्याकरण रचना गरे । पछि उनी पाटलिपुत्र (पटना) फर्के र आफ्ना सहपाठी कात्यायनलाई पराजित गरे र उनको व्याकरणलाई विश्वप्रसिद्घ व्याकरण मानिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

विगत २८ वर्षदेखि प्रत्येक वर्ष जेष्ठ महिनाको शुरुवातमा यहाँ श्रीमद्भागवत महापुराण, शिव महापुराण, बत्तिस करोड दिव्यदिप प्रज्वलन जस्ता धार्मिक गतिविधिहरु हुँदै आएका छन् । जहाँ प्रत्येक दिन हजार भन्दा बढी भक्तजनहरु तथा मानिसहरु यस तपोभूमिमा आउने गर्दछन् साथै यहाँ श्रावण र माघ महिनाभरि नै विभिन्न धार्मिक कार्यक्रम तथा मेला लाग्ने गर्दछ । त्यस बखत यो तिर्थभूमिमा आई स्नान गरे रोग ब्याधी नलाग्ने र सबै मनका मनोकांक्षा पूरा हुने विश्वास छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

उनी जन्मेको ठाउँ पाकिस्तानमा पर्ने लाहौर हो पहिले शलातुर शब्दको शब्दभ्रंस हुँदै जाँदा हलाथुर, हलाहुर, लाहुर र लाहौर भएको पाइन्छ । उनको पाँणिनी तपोभुमिमा तपस्या गर्दै गर्दा सिंहको आक्रमणबाट मृत्यु भएको मानिन्छ । विश्वप्रसिद्घ पाणिनीको प्राण वियोग त्रयोदशी तिथिमा भएको पाइन्छ, त्यसैले त्रयोदशी तिथिको दिन पाणिनी व्याकरण पढिदैन ।

प्राकृतिक सौन्दर्य

पाणिनी ऋषिले तपस्या गरेर अष्टाध्यायी व्याकरण तयार पारेकै कारण अर्घाखाँचीको पूर्वी भाग पश्चिम पाल्पाको सिमानामा पर्ने पणेना भन्ने ठाउँ पाणिनी ऋषिकै नामबाट रहेको हो । पणेना र पोखराथोक गाविसको माथि लेकपट्टि उच्च पहाडी भू(भागमा पर्ने ‘पाणिनी तपोभूमि’ अति मनोरम रमणीय स्थलको रुपमा परिचित भइसकेको छ । यो एउटा ठूलो जङ्गलको बीचमा अवस्थित छ ।

जैविक विविधता

यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्साका दृष्टिले १००० प्रकारका जडिवुटी तथा मनोरमका तवरले हराभरा सदावहार जंगल र विभिन्न प्रकारका चरिचुरुंगी र जानवर पाईन्छन । यस तपोभूमि वरिपरि रहेको जंगलमा १ हजारभन्दा बढी प्रकारका जडिबुटी र सयौ प्रकारका जङ्गली पशुपंक्षिहरु पाइन्छन् । यस ठाउँको ठीक बीच भागमा एउटा ठूलो दह (ताल) छ जसले सबैको ध्यान एकपटक आफूतिर तान्ने गर्दछ ।

पर्यटकीय महत्व

र्घाखाँचीको पोखराथोक र छिमेकी जिल्ला पाल्पाको तिनधारेबाट केही मिनेट हिडे पछि त्यस स्थानमा पुग्न सकिन्छ । यस क्षेत्रको व्यापक प्रचार प्रसार गर्न सके धार्मिकऐतिहासिक र पर्यटकिय क्षेत्रबाट नेपालीहरु लाई फाईदा हुनसक्छ । यो क्षेत्र पाणिनीले तपस्या गरेको र व्याकरण उत्पति भएको हो भन्ने विभिन्न प्रमाण भएको संस्कृतविद्हरु बताउछन् । यस क्षेत्रको व्यापक प्रचार–प्रसार गर्न सके अर्घाखाँची लगाएतका नेपाली जनतालाई फाईदा पुग्ने हुँदा पर्यटकिय महत्व रहेको छ।

पर्यटकीय सम्भावना

यो ठाँउ प्रकृति प्रेमि, अनुसन्धानकर्ताका लागि महत्वपूर्ण छ । अर्को तर्फ ग्रामीण पर्यटनको विकासका लागी संस्कृति, धार्मिक र प्रकृति उत्तिकै महत्वका विषय हुन्छन । पाणिनी तपोभूमिलाई विश्वसामु चिनाउन पणेना र यस आसपास (ंसमग्र लुम्बीनी) का स्थानीयहरु विश्वप्रसिद्घ १०८ फिटको ज्वर्ति्लिङ्ग निर्माणमा लागि परेका छन् प्रत्येक वर्ष जेठ महिनामा हुने श्रीमद्भागवत् महापुराणबाट आर्थिक सहकार्य हुदै आइरहेको छ गतवर्ष महिला वाचकबाट सम्पन्न भएको थियो भने यसवर्ष नेपालकै एकमात्र १४ वर्षीय व्यास श्री धर्मानन्द अर्यालबाट महापुराण सु-सम्पन्न भयो । ठूलो दह (ताल) को बीच भागमा १०८ फिटको ज्वर्ति्लिङ्ग स्थापना गर्ने कार्य शुरु भइसकेको छ।

आकर्षणहरु

यो एउटा आकर्षणको केन्द्रबिन्दु पनि बनेको छ यो तालको प्रमुख विशेषता भनेको तालभित्रकै उत्तरतर्फको पानी कालिगण्डकीमा मिसिन आउछ भने दक्षिणतर्फको पानी बाडगङ्गामा मिसिन आउँछ ,यसका साथै मनै लोभ्याउने धरै मन्दिरहरु, यज्ञशाला, पाकशाला, भ्युटावर, अति सुन्दर बगैँचा, पाणिनी ऋषिको लोभ लाग्दो मूर्ति आदि यहाँका लागि बिर्सिन नसक्ने विशेषता हुन् र अर्को एउटा अति दुर्लभ बिशेषता भनेको एउटै स्थानबाट दुवै खुट्टा एकै ठाउँमा राखि सुन्दर हिमालय, तराईका समानान्तर फाँटहरु, पहाडका बस्तीहरु र भारतको गोरखपुरसम्म नाङ्गा आँखाले देख्न सकिन्छ । त्यो क्षणमा साँच्चिकै स्वर्गीय आनन्द प्राप्त हुन्छ ।

जङ्गलमा पाइने लालीगुँरास अर्को महत्व र आस्थाको रमण हो लालीगुँरास फुल्ने मौसममा जङ्गल पुरै राताम्मे हुने गर्दछ, त्यतिबेला त्यहाँको वातावरण नै लालिगुराँसमय बन्न पुग्दछ । त्यति मात्रै पनि होइन सयौ भन्दा बढी प्रकारका वन्यजन्तुहरु आ(आफ्नै तालमा नाँचिरहेका हुन्छन्, गाइरहेका हुन्छन् । लाग्छ यो प्रकृतिले हामीलाई स्वागत गर्न यो सबै काम गरिरहेको छ, यिनीहरुले पनि हामीसँगै खुशी मनाइरहेका छन् वा हामीसँग बाँडिरहेका छन् ।

विश्वमै छैन यस्तोे ठाउँ जहाँबाट हिमाल, पहाड, तराई र भारतका समेत केही स्थानहरु अबलोकन गर्न सकिन्छ । यहाको मुल विशेषतामा ताल,पाणिनी मन्दिर,तपोस्थल,व्याकरण उच्चारण स्थल, शिवमन्दिर, धर्मशाला, पाकशाला, यज्ञ स्थल, अवलोकन गर्न भ्यु टावर रहेका छन ।

कसरी पुग्ने ?

करिब ५० रोपनि क्षेत्रफलमा फलिएको, पाल्पा सदरमुकाम तानसेनबाट र अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट करिब समदुरिमा अवस्थित पाणिनी तपोभूमि ‘पणेना’ यी दुवै ठाउँबाट ३१ कि.मि.को दुरीमा पर्छ ।

यो पनि पढ्नुहोस्

विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तुको जगदिशपुर ताल

पर्यटकको आकर्षण बन्दैछ इलामको पानीटार

शान्ति खोज्दै मानिसहरु पुग्ने रुपन्देहीको धार्मिक तथा पर्यटकीय स्थल ग्लोबल पिस पार्क

गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह

रूपन्देहीको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको धनी सैनामैना पर्यटकीय क्षेत्र

पाल्पाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तब्य रम्भादेवी मन्दिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !