१९ बैशाख २०८१, बुधबार

सन्दीपको मुद्दामा आज पनि थुनछेक बहस, लामिछानेको तर्फबाट तीन वकिलले बहस गर्दै


सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । सन्दीप विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि हिजो बुधबार मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा हिजो हेर्दाहेर्दैमा राखिएको थियो । हिजो सन्दीपका तर्फबाट दुई कानुन व्यवसायीहरूले बहस गरेका थिए भने आज तीनजना कानुन व्यवसायीहरूले बहस गर्ने भएका छन् ।

सन्दीपको पक्षबाट हिजो अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले बहस गरेका थिए । लामिछानेविरूद्ध सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको मुद्दाको अदालतमा उनीसँग मंगलबार बयान लिएर सकिएको थियो ।

अदालतका सूचना अधिकारी दीपक दाहालका नुसार हिजो इजलासमा ९ जना वकिलले बहस गरेका थिए । पीडितको पक्षमा ४ जना सरकारी वकिल, ३ जना वकिल र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरेका थिए ।

बहस सकिएपछि इजलासले अव केही दिनभित्रै आदेश जारी गर्ने छ । लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर भएको थियो । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा थुनछेक बहस सकिएपछि अदालतबाट आदेश आउनेछ ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । लामिछानेविरुद्ध नाबालिकमाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस्

सन्दीपका वकिलको जिकिर : किशोरीको उमेर १८ वर्ष कटिसकेको धलौटीमा रिहा गर्नुपर्छ

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !