२६ बैशाख २०८१, बुधबार

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा


सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि आज बुधबार मुद्दा हेर्दाहेर्दैमा अर्को दिनका लागि राखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

लामिछानेविरूद्ध दायर भएको मुद्दाको आजदेखि थुनछेक बहस सुरु भएको हो । लामिछानेविरूद्ध सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको मुद्दाको हिजो अदालतमा उनीसँग हिजो बयान लिएर सकिएको थियो ।

आज इजलासमा ९ जना वकिलले बहस गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । पीडितको पक्षमा ४ जना सरकारी वकिल, ३ जना वकिल र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरेका छन् ।

सन्दीपको पक्षबाट अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले बहस गरेका छन् । थुनछेक बहस भोलि पनि जारी रहने बताइएको छ । बहस सकिएपछि इजलासले अव केही दिनभित्रै आदेश जारी गर्ने छ ।

लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा थुनछेक बहस सकिएपछि अदालतबाट आदेश आउनेछ ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !