२२ बैशाख २०८१, शनिबार

सन्दीपका वकिलको जिकिर : किशोरीको उमेर १८ वर्ष कटिसकेको धलौटीमा रिहा गर्नुपर्छ


सन्दीप लामिछाने

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेका वकिलले जन्मदर्ता सच्याएर नागरिकता निकालेको प्रमाण पेश गरेकोले किशोरीको उमेर १८ वर्ष कटिसकेको देखिएकोले अभियोग पुष्टि हुने प्रमाण नभएको भन्दै धलौटीमा लामिछानेलाई छोड्नुपर्ने जिकिर गरेका छन् ।

सन्दीपको पक्षबाट दुई कानुन व्यवसायीहरूले अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले बहस गरेका थिए । अधिवक्ता सापकोटाको अनुसार जाहेरवालीको जन्मदर्ता अनुसारको जन्ममिति कायम भएमा उनको उमेर १९ वर्ष स्थापित हुने दावी गरे ।

उनका अनुसार आरोप लगाउने किशोरी २०६१ साल असार १८ गते जन्मिएको भनी दर्ता भएको जन्मदर्ता फेला परेको छ । सापकोटाले जबर्जस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको समेत दावी गरे ।

जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस प्रारम्भ भएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस प्रारम्भ भए पनि सुनुवाइ नभ्याएकाले हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको छ ।

सो मुद्दामा सरकारी वकिलका तर्फबाट चार जनाले बहस गर्दै लामिछानेले बलात्कार गरेको जिकिर गरे । भोलि लामिछानेका तर्फबाट बहस हुनेछ । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । संहिताको दफा २१९ को उपदफा (३) देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । लामिछानेविरुद्ध नाबालिकमाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !