२९ बैशाख २०८१, शनिबार

पहिलो खेलमा रोहितको शतकमा नेपाल चार विकेटले विजयी


नेपाल विजयी

काठमाडौँ । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । आज शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो ।

कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्टइन्डिज ‘ए’लाई पराजित गरेको हो । वेस्ट इन्डिजले प्रस्तुत गरेको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितका लागि कप्तान पौडेलले सर्वाधिक ११२ रनको योगदान दिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे । यसैगरी दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, गुल्शनकुमार झाले अविजित ९ तथा विवेक यादवले ७ रन जोडे ।

वेस्ट इन्डिजका म्याथ्यु फोर्डे र ओबेड म्याकोयीले समान दुई-दुई विकेट लिए । किमो पाउलले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’का कप्तान चेजले ४५ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए । चेजले १४६–४ को स्थितीबाट एडिम एलिनेसँग तेस्रो विकेटका निम्ति ५७ रनको साझेदारी गरेका थिए ।

ओपनर एलिक अथानाजेले २५ बलमा पाँच चौका र तीन छक्कासहित ४७ रन थपे । केसी कार्टीले ३८, कडिम एलेयनेले १४ र एन्ड्रे फ्लेचेरले १३ रन बनाए ।

बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए । नेपालले वेस्टइन्डिज ‘ए’विरुद्ध आइतबार दोस्रो खेल खेल्नेछ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल आउँदो शनिबार हुने तय छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !