, कुन देवी-देवताको उपासाना गरे के-के फल प्राप्त हुन्छ ?

कुन देवी-देवताको उपासना गरे के-के फल प्राप्त हुन्छ ?

कर्म, उपासना तथा फल प्राप्ति एक शास्त्रीय विवेचना

सुरेन्द्र प्रसाद सिग्देल

सुरेन्द्र प्रसाद सिग्देल

कुन देवी-देवताको उपासाना गरे के-के फल प्राप्त हुन्छ ?

यस्य स्मरणमात्रेण जन्मसंसार बन्धनात् ।
विमुच्यते नमस्तस्मै विष्णवे प्रभविष्णवे ।।
–विष्णुसहस्रनाम १

मानवले जन्म लिएर भगवान्को नाम मात्र स्मरण गरेमा संसार बन्धनबाट मुक्त हुन्छ भनेर विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ । साथै ग्रन्थहरूमा कर्म गर कर्म नगरे तिमीले जीवन निर्वाह गर्न सक्तैनौ भनेर पनि भनिएको पाइन्छ ।

एक क्षण पनि कर्म नगरी कुन वस्तछ ।
गुणका वशमा पर्दा जगतै सब गर्दछ ।
–कोमल गीताः३।५

मनुष्यहरू केही न केही कर्म नगरि कर्मरहित भएर एकक्षण पनि रहन सक्तैनन्, कर्म गर्ने इच्छा नहुँदा नहुँदै पनि गुणको वशमा अर्थात् गुणाधिन भएर कर्म त गरेकै हुन्छ । (सत्वगुण, रजगुण र तमगुण)

नियत कुरु कर्म त्वं कर्मज्यायो ह्यकर्मणः ।
शरीरयात्राऽपि च ते न प्रसिद्धेदकर्मणः ।।
–गीता ३।८

हाम्रो धर्मले नियत, निर्देश, नियमन गरेको कर्मलाई गरिरहनु पर्दछ किनभने केही नगरी वस्नु भन्दा कर्म गरेर वस्नु असल, राम्रो, योग्य तथा कल्याणकारी हुन्छ । हामीले एउटा कुराको हेक्का, ख्याल, राख्नु पर्दछ कि यदि केही पनि कर्म नगरि बस्यौं भने जीवनयापन तथा निर्वाह गर्न सक्तैनौं र भोकभोकै परी परिवारबाट पनि हेलित हुन पुग्दछौं । तसर्थ जीवन निर्वाहको लागि पनि नित्य कर्म गर्नु पर्दछ ।

सन्ध्या स्नानं जपश्चैव देवतानां च पूजनम् ।
वैश्वदेवं तथाऽऽतिथ्र्यं षड्कर्माणि दिनेदिने ।।
बृद्ध प.स्मृति –(व्याख्या,पाण्डव गीता सुरेन्द्र प्र.सिग्देल)

गृहस्थले सनातन धर्मको मर्म अनुसार षड्कर्म अर्थात्, स्नान,जप,पूजा,पाठ,माता-पिता गुरु मान्यजन, अतिथिको आदर-सत्कार वलिवैश्वदेव र तीर्थाटन आदि गर्नुृ भनेर उल्लेख गरेको पाइन्छ । उक्त कर्म गरेर आफ्नो जीवन निर्वाहको मार्गलाई सरल, सरस तथा सुगम वनाउनका खातिर साधनको रूपमा निराकार ब्रह्मलाई साकार स्वरूपको कल्पना गरी भगवान् तथा देवताहरूको उपाशना गर्नुपर्ने वेद, उपनिषद, पुराण, स्मृति आदिले मार्ग प्रशस्त गरे अनुसार गर्नु बुद्धिमानी ठहर्दछ । तसर्थ यहाँ श्रीमद्भागवत महापुराणमा वर्णित दृष्टान्त भगवान् तथा देवताहरूको उपाशना गरेमा सोहि बमोजिमको प्रसिद्धि तथा फल प्राप्ति हुने प्रसङ्ग सङक्षेपमा सुसूचित गराउन चाहन्छु ।

गृहस्थ जीवनमा, अझ भनौं यो भौतिक सुविधाले युक्त भएको आजको युगमा संसाधन वन्दोवस्तीका सामान घर परिवार पालन-पोषण गर्न शिक्षा-दीक्षा दिन तथा सन्तानको षोडश-कर्म-संस्कार गर्न बुद्धि, बल, धन, ऐश्वर्य, आरोग्य, प्रतिष्ठा आवश्यक पर्ने भएको हुँदा यस युगका मनुष्यको बढी महत्वकांक्षा हुने भएकाले आफ्नो चाहना अनुसारका फल प्राप्तिका लागि विभिन्न देव देवीहरूको उपासना गरे इच्छा अनुसारको फल प्राप्ति हुने शास्त्रीय मत छ । यसै सम्बन्धमा धेरै कुराहरु उल्लेख गर्नु भन्दा श्रीमद्भागवत महापुराणमा वर्णन गरिएका मुख्य मूल्यवान् केही दृष्टान्त उल्लेख गर्न चाहन्छु ।

ब्रह्मवर्चसकामस्तु यजेत ब्रह्मणस्पतिम् ।
इन्द्रमिन्द्रियकामस्तु प्रजाकामः प्रजापतीन् ।।
धर्मार्थ उत्तमश्लोकं तन्तुं तन्वन् पितृन् यजेत् ।
रक्षाकामःपुण्यजनानोजस्कामो मरुद्गणान् ।।
–भागवत्ः२।३।२ र ८

ब्रह्म तेजको इच्छा भएमा बृहस्पतिको, इन्द्रियको विशेष शक्तिको कामना भएमा इन्द्रको, सन्तालको लालसा भएमा प्रजापतिको धर्म उपार्जनको लागि विष्णु भगवान्को उपासना गर्नु, विद्या अर्थात् ज्ञान प्राप्तिको लागि शिव भगवान्को उपासना गर्नु, अर्थ उपार्जन अर्थात् सम्पत्तीका लागि अष्टबसुहरुको (ध्रुव, पावक, धर, अनल, सोम, प्रत्यूष र प्रभास) आदिको उपासना गर्नु, वंश परम्परा रक्षाको लागि पितृहरूको (कब्यवाहन, सोम, यम, अर्यमा, अग्निष्वात्ता, सोमपा, वर्हिषद्) साथै महाभारतको सभा पर्वमा सात पितृहरूको नाम केही फरक उल्लेख गरेको पाइन्छ जसमा वैराज, अग्निष्वात्ता, सोमपा, गाह्र्यपत्य, एकश्रृङ्ग, चतुर्वेद र कलाको नाम पाइएतापनि तर्पण गर्दा पहिला उल्लेख गरेकै पितृहरूलाई आह्वान गरि तर्पण गर्ने प्रचलन छ ।

सन्तान प्राप्तिको लागि प्रजापतिहरुको ( दक्ष, रुची) लक्ष्मीको कामनाभएमा मायादेवीको, तेजको कामना भएमा अग्निदेव, धन प्राप्तिको कामना भएमा वसुहरूको, वीरता तथा बल प्राप्तिको इच्छा भएमा रुद्र भगवान्को, “अन्नाद्यकामस्त्वदितिं स्वर्गकामोऽदितेःसुतान्”-भागवत धेरै अन्नको चाहना भएमा अदितिको, स्वर्गको कामना भएमा इन्द्रादि देवताहरुको खजानाको इच्छा भएमा बरुणदेव, राज्यको इच्छा भएमा मनुहरू (स्वयम्भूव,स्वरोचिष,वैवश्वत आदि) दीर्घायुको कामनामा अश्विनी कुमारहरू, सबैको स्वामी/मान्यजन हुन चाहेमा परमपिता ब्रह्माको, पत्नीको कामना भएमा उर्वशीआदि अप्सराको, पति पत्नीमा परस्पर प्रेम राख्न चाहेमा माता पार्वतीको उपासना गर्नु भनी कामना अनुसार पूजा-आजा, उपाशना, भक्ति गर्नु भनेर श्रीमद्भागवत पुराणमा उल्लेख भएको पाइन्छ ।

*काठमाडौँ कपन निवासी सुरेन्द्र प्रसाद सिग्देल लेखक हुनुहुन्छ । उहाँको पाण्डव-गीता पुस्तक र रामायण रहस्य नामक सोधमूलक धार्मिक ग्रन्थ नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित  छ । 

यो पनि पढ्नुहोस् 

नरसिंह जयन्ती तथा अवतार

सीता एक पौराणिक रहस्य तथा सीता चरित्र