, सीता एक पौराणिक रहस्य तथा सीता चरित्र

सीता एक पौराणिक रहस्य तथा सीता चरित्र

माता सीताको एक पौराणिक दृष्टान्त चरित्र

Surendra Prasad Sigdel

सुरेन्द्र प्रसाद सिग्देल

आज सीता जयन्ती अर्थात्, सीताको उत्पत्ति भएको दिन, माता सीताको एक पौराणिक दृष्टान्त चरित्रको रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छु । भगवान् रामले देवताहरूको प्रार्थनालाई स्वीकार गरी पृथ्वीको भू-भार उतार्नु भएको हुँदा विभिन्न क्षेत्र तथा देश-देशान्तरबाट वशिष्ठ, विश्वामित्र, कण्व, च्यवन, रैभ्य, नमुच, अगस्त्य आदि ऋषि मुनिश्रेष्ठहरू रामलार्ई अभिनन्दन गर्न अयोध्या जानु भएको दृष्टान्त विभिन्न रामायणमा पाईन्छन् । यसरी उक्त ऋषिहरूले रामको अभिनन्दन गर्न अयोध्या आएका ऋषिमुनि गणहरूले विभिन्न प्रकारले प्रशंसा गर्न लागे ।

ऋषि अगस्त्यले भगवान् रामलार्ई रावण बध गरेकोमा जगत्को फेरी उत्पन्न भए समान भयो जुनकि यस लोकमा रावणसरह भयदायक अरू कुनै दुष्ट छैनन्, तपाईंले त्यसलाई मारेर यस लोकको उद्धार गर्नुभयो भनी वारम्बार रामको जय जयकार गर्नुभयो । यसरी रावण बधको विभिन्न ऋषिमुनिहरूले प्रशंसा गरीरहेको वेला सीताले परिहासपूर्वक हास्दै भन्न लागिन “परिहास इवाभाति प्रशंसनमिदं द्विजा” यो प्रशंसा परिहास हो । हे मान्यवर रावण धेरै दुराचारी दुष्ट थियो यो सत्य हो तापनि रावण बध खास प्रशंसायोग्य छैन यो परिहास मात्र हो ।

जानकीको यस्तो वचन सुनी ऋषिमुनिहरू दुःखित हुन पुग्नु भयो, यस्तो देखी सीताले डराई–डराई ऋषिमुनिहरूलाई नमस्कार गरी भन्न लाग्नु भयो । हे मुनिवर मेरो विबाहपूर्व मेरो माइतीमा (पिताको घर मिथिला हालको जनकपुरमा) एक जना अतिथि ब्राह्मण आई चार महिना त्यहिँ वस्ने आशय प्रस्तुत गर्नु भयो र मेरो सेवा गरेमा देवतातुल्य हुन्छौं भन्नुभयो । अतिथिगणको त्यो वचन सुनी देव तथा द्विज भक्तिमा परायण मेरो पिता जनकले ब्राह्मणलाई आवश्यक पर्ने भक्ष–भोज्य तथा यज्ञ–यज्ञादिको लागी आवश्यक पर्ने सामाग्रीको व्यवस्था गरी सेवा सुश्रुषा गर्नका लागी मलार्ई आज्ञा गर्नु भयो ।

मेरो सेवाभाव, धैर्य, अनुकूलताबाट सन्तुष्ट हुँदै एक दिन परमात्मावेत्ता ब्राह्मणदेबले मलार्ई आपूmले देखेको आश्चर्यपूर्ण कथाहरू सुनाउन लाग्नु भयो । कथा सुनाउने क्रममा पुष्करद्वीपको मध्य भागमा मनसोत्तर नाम भएको मर्यादापर्वत जुन दशसहस्र योजन व्यास भएको विश्वकर्मा स्वयं आफैले तयार गरेको स्थान छ । त्यसै स्थानमा विश्रवा मुनि कि कैकसी नाम गरेकी पत्नी जुन सुमाली राक्षसकी कन्याद्वारा दुई पुत्र उत्पन्न भए ।

“एकः सहस्रवदनो द्वितियो दशवक्रकः ।
जन्मकाले सुरैरुक्तमाकाशे रावणद्वयम् ।।”

जसमा एउटाको दश टाउको र अर्कोको सहस्र टाउको थियो । दुई वटा रावणले जन्म लिएकोमा एउटाले भगवान् शिवलाई प्रसन्न पारेर कुवेरको राज्य (कुवेर भनेको आफ्नै सौतेनी आमाको छोरा, दाजुको स्र्वणपुरी लङ्कालाई आफ्नो अधीन गराई त्रिलोक आफ्नो वसमा पारेको) र अर्को सहस्र टाउको भएको रावण जो मेरू पर्वतलाई सस्र्यूंको गेडासमान र सागरलाई गाईको खुरको खाल्टोसमान मानी संसारलाई तृण बराबर नगनी इन्द्र, किन्नर, गन्धर्व, यक्ष, नाग, विद्याधर आदिलाई पराजित गरी वशमा पारी राज्य गरिरहेको छ ।

उसको राज्यमा स्वर्ग, मत्र्य पाताल तीनै लोकमा दुर्लभ रत्न वैदुर्यमणि, कल्पवृक्ष, पारिजात सवऋतुमा पाइने विभिन्न रुख, फूल, लतायुक्त रमणीय वन, उप-वन जसमा सबै प्रकारका पशुपंक्षी, स्थावर जंगमले युक्त भएको छ । त्यसै राज्यमा (पुष्करद्वीप) बास गरी सबै लोकका वासीहरूलाई त्रास देखाएर निवास गरेको छ । हे सीता ! यो हजार मुख भएको रावण अत्यन्त बलवान छ, कस्तो बलवान भने इन्द्रादि लोकपालहरू त मेरो दाससरह छन् भनेर हेलत्व गर्दछ ।

पाताल विवरे स्वर्गं स्वर्गे पातालमेककम् ।
करोमि सहसैवाहं मानवानां तथैकताम् ।।
मेरूप्रभृतिशैलांश्च चूर्णयाम्यणुसंख्यया ।
देवलोकं नृणां कुर्यानृलाकं त्रिदिवौकसाम् ।।

अर्थात् पाताललाई स्वर्गमा, स्वर्गलाई पातालामा तथा सबै मनुष्यलाई एकै ठाउँमा राख्न सक्ने सुमेरु आदि ठूला पहाडलाई चूर्ण-चूर्ण गर्न सक्ने तथा देवलोकलाई मनुष्य लोकमा र मनुष्य लोकलाई देवलोकमा परिणत गर्न सक्ने शक्तिशाली सहस्रवदन रावणको कथा मलार्ई सुनाउनु भएको प्रसङ्ग सम्झेर हाँसेको हुँ मैले हजूरहरूको खिल्ली उडाएको होइन भनी सीताले उक्त अभिनन्दन सभामा ऋषिमुनिहरूसँग माफ माग्दै उक्त ब्राह्मणले मेरो पिताजी र मलार्ई आशिर्वाद दिएर तीर्थयात्रातर्फ जानु भएको प्रसङ्ग भनेपछि

लोकानां रावणाज्जातं नामयौगिक मेतयोः ।
कनिष्ठो दशकण्ठोऽयं शितिकंठप्रसादतः ।।
राघवो वचनं श्रुत्वा सीताया वीर्यवद्र्धनम् ।
सिंहनादं विनद्योच्चैः सर्वानाज्ञाप्रयत्प्रभुः ।।
मुनऽयोद्यैव गंतव्यं रावणस्य जयाय वै ।
लक्ष्मणं भरतं चैव शत्रुघ्नं चादिशत्प्रभु ः ।।
मित्र सुग्रीव हे राजन्सर्वे जाम्बवदादयः ।
गच्छामः सहितास्तस्त्र सैनिकैः सह मंत्रिभिः ।।

माता सीताजीले सहस्रवदन रावणको विषयमा सुनाएपछि तत्क्षण युद्ध गर्नका लागी भगवान् रामचन्द्रले सिंहनाद गर्दै आफ्नो भाइहरू भरत, लक्ष्मण, शुत्रघ्न तथा मित्रहरू सुग्रीव, जाम्बवन्तका साथै हनुमान, विभीषण, सुमन्त्र आदिलाई लडाईको लागी प्रस्थान गर्न आज्ञा दिनु भयो र पुष्पक विमानमा युद्ध गर्नका खातिर क्षणभरमै पुष्करद्वीपमा पुग्नु भयो । यसरी भू-युद्धका खातिर सहस्रवदन रावणलाई महाभयङ्कर सिंहनाद गरी लल्कार्नु भयो ।

आफ्नो राज्यमा सिंहनाद सुनी सहस्रवदन रावण सेनासहित बाहिर आयो र रामसँग युद्ध गर्न लाग्यो, कस्तो युद्ध भने जुन यहाँ वर्णन गर्न सकिँंदैन । यो युद्धमा प्रयोग भएका हातहतियार युद्ध गर्ने वीरहरूका बारेमा पनि वर्णन गर्न कठिन पर्ने भएकोले यहाँ घोरयुद्ध मात्र भनी वर्णन गरीएको छ । यसरी राम र सहस्रवदन रावणको घोर युद्ध भयो । तव रावणले यी तुच्छ जातिलाई मारेर केही यश नपाइने देखि वायव्यास्त्र प्रयोग गरी सबैलाई आ-आफ्ना घर सहरमा पुर्याई दियो ।

ते सर्वे स्वगृहं प्राप्ता अस्त्रवेगेन विस्मिताः ।
क्व स्थिताः क्व समा यातामन्यंत स्वप्न एव तैः ।।

आफू कहाँ थिएँ कहाँ आईपुगें भन्ने यकिन नभई सवै वीरहरू स्वप्न देख्न लागे । प्रलयरूपी पवनको वेगले घाइते भएका भरत, लक्ष्मण, शत्रुघ्न, हनुमान, सुग्रीव, नल, नील, अङ्गद आदि वानर सेना तथा विभीषणादि राक्षसहरू जुन अत्यन्त वीर पराक्रमी थिए । यसरी रावणले वायव्यास्त्रद्वारा सवैलाई निक्षेप गर्यो तर त्यो वायव्यास्त्रले राम र सीतालाई कुनै प्रभाव पार्न सकेन । राम र सीता पुष्पक विमानमा यथावत रहनु भयो । यस्तो अवस्था देखी रामले पनि अनेक प्रकारको शस्त्र-अस्त्र प्रहार गरी रावणको महासेनालाई खण्ड-खण्ड पार्नु भयो । यसरी राम र रावणको महाघोर युद्ध भयो ।

कस्तो युद्ध भन्छौं भने यहाँ वयान गर्न नसकिने जस्तै तुमुल, रोमहर्षण लगायत जे–जति युद्ध कौशलहरू छन् ती सवै युद्ध भयो तर रामले त्यो राक्षसलाई परास्त गर्न सक्नु भएन । यहाँ धेरै कालसम्म युद्ध भैरह्यो । युद्धको सबै वर्णन गर्न कठिन हुने भएकोले संक्षेपमा प्रस्तुत गरीएको छ । तब रामले ब्रह्मदत्त महाँवाँण जुन ब्रह्माद्वारा निर्मित इन्द्रादि देवताको तेजद्वारा वेष्टित अगस्त्यजीबाट दिईएको दशानन् रावण मार्नका लागि समर्थ भएको बाण विभिन्न वैदिक मन्त्रबाट अभिमन्त्रित गरी प्रहार गर्नु भयो ।

तव त्यो सूर्यको समान तेज भएको तीनै लोकको प्रकाशमय पार्नेवाला बाण आकाशमार्गबाट मनको गतिभन्दा पनि शिघ्र गतिमा चल्ने शत्रुनाशक त्यस्तो वाणलाई त्यो राक्षसले हुँ ! हुँकार गरी हातले समाती भाँची दियो । तव भगवान् राम “मग्ने तिस्मंञ्छरे रामो विमना इव तिस्थवान्” त्यो बाण भङ्गग भएपछि राम विमन (विस्मय भई) किंकर्तव्यविमूढ हुनु भयो । त्यस बेलै त्यो राक्षसले बहुतै धारिलो बाण रामकन मार्नाका निमित्त प्रहार गर्यो । यो बाण रामको छातीलाई भेदन गरी पृथ्वीलाई समेत चिरी पातालमा पुग्यो त्यो बाण लागे पछि राम मूच्र्छित भई पुष्पक विमानमा लड्नु भयो ।

भित्वा महीं च सहसा पाताल तलमाविशत् ।
ततो रामो महावाहुः पपात पुष्पकोपरि ।।
रामं तथाविधं दृष्ट्वा मुनयो भयविह्वला :।
हाहाकारं प्रकुर्वंतः शान्तिं जेपुश्च केचन ।।

जव राम अचेत हुनु भयो तव सव प्राणीहरू हाहाकार गर्न लागे । पर्वतहरू, वनजंगलहरू तथा पृथ्वीसमेत कम्पायमान् भइन् । ऋषिजनहरू हा राम ! भन्दै वन्दन गर्न लागे चारैतिर हाहाकार मच्चिन लाग्यो । त्यस्तो देखी सहस्रमुखी रावण रणक्षेत्रमा नृत्य गर्न लाग्यो । आकाशबाट उल्कापात हुन लाग्यो त्यस्तो अनिष्ट देखी प्राणीहरू अव प्रलय हुन लाग्यो भनी त्राीह-त्राहि भए । रामचन्द्रलाई यसप्रकार मूच्र्छित भएको देखि मुनिजनहरू डरले व्याकुल भए र हाहाकार गरी शान्तिपाठ गर्न लागे भने वशिष्ठ प्रवृत्ति आदि ऋषिहरू रामचन्द्रलाई सीताले यस रावणको रहस्य सुनाएकोमा गाली गर्न लागे । यसप्रकार ऋषिमुनिहरूको वचन सुनी सीताजीले मुर्छित रामचन्द्रलाइं आलिङ्गन गरी महाभयंङ्कर शब्द गरी अटृहास गर्न लाग्नु भयो र आफ्नो पुरानो स्वरूप त्यागी स्वरूप प्रजहौ देवी महाविकटरूपिणी । महाविकट रूप धारण गर्नु भयो ।।

कस्तो रूप भने,–
स्वरूपं प्रजहौ देवी महाविकटरूपिणी ।
क्षुत्क्षामाच कोटराक्षी चक्रभ्रमितलोचना ।
दीर्घजंघा महारावा मुण्डमाला विभूषणा ।।
अस्थिकिंकिणिका भीमा भीमवेगपराक्रमा ।
खरस्वरा महाघोरा विकृता विकृतानना ।।
चतुर्भुजा दीर्घतुंडा शिरोऽलंकरणोज्वला ।
ललज्जिह्वा जटाजूटैर्मण्डिता चण्डऽरोमिका ।।
प्रलयांभोदकालाभा घंटापाशबिधारिणी ।।

शव्दद्वारा वयान नै गर्न नसकिने रूप जस्तै कोटराक्षी चक्र समान तेजिलो भ्रमित आँखा भन्नाले चलायमान आँखा लगाएर चारैतिर नजर घुमाएकी लामो लामो खुटृा महाभयङ्कर महाकाय टाउकाको मालाको गहना लगाएकी मनुष्यको हाडहरू लिएकी अति पराक्रम गर्नेवाली “खरस्वरा” अति तिखो शब्द गर्ने, अति डरलाग्दी भएकी विकृतमुख भएकी चारहात भएकी, आकाश जस्तो ठूलो पेट भएकी लामो जिव्रो भएकी, प्रलयसागर तथा कालको समान रूप गरी पुष्पकबाट ओर्लिई खड्ग हातमा लिई बाजले झम्टे जस्तै गरी रावणको रथमा आक्रमण गरी एक निमेष मैं सहस्रशिरकारी,–

शिरांसि रावणस्याशु निमेषान्तर मात्रतः।
खड्गेन तस्य चिच्छेद सहस्राणीय लीलया ।।

रावणका अति बलवान सेनालाई मारी सवका शिरहरूको भकुन्डो (कन्दुक) खेली माला लगाई नृत्य गर्न लागिन् र यसै अवसरमा उनको रौंबाट विभिन्न आकार भएकी सहस्र मातृका देवीहरू ठूलो स्वरले हाँस्दै-हास्दै प्रकट भएर जानकीको सहायता गर्न लागे । ती मातृकाहरू कुन–कुन भने,–
प्रभावति विशालाक्षी, पालिता गोनसी तथा ।
श्रीमति बहुला चैव तथैव वहुपुत्रिका ।।
अप्सुजाता च गोपाली बृहदंवालिका तथा ।
जयावति मालतिका ध्र्रुवरत्ना भयंकरी ।।

जस्ता नाम भएका सहस्रमातृकाको यहाँ वयान गर्न नसकिने भएकोले केही मातृकाको मात्र नाम वयान गरीएको हो । विभिन्न नाम गरेका, विभिन्न रङ भएका, विभिन्न रूप धारणा गरेका भयंकर रूपवाली वयानै गर्न नसकिने आकार–प्रकारका मातृकाहरूले जानकीसँगै पर्वत समान राक्षसहरूको सर्वनाश गरी तिनीहरूको टाउको हातमा लिएर क्रीडा गर्न लागे । कस्तो क्रीडा भने त्यो राक्षसको हाड, मासु, रगतले व्याप्त रणस्थलमा नृत्य गर्न लागे । जानकीको त्यस्तो महाअघोर नृत्यदेखी पृथ्वी समुद्रमा डुङ्गा डोलायमान भएभैंm डोलायमान हुन लागिन् ।

पर्वत चलायमान्, तथा सागरहरू उछल्न लागे, यस्तो अवस्था देखी देवताको विमानहरू आकाशबाट खस्न लागे, सूर्यका घोडाहरू आफ्नो पथ त्याग्न लागे, जानकीको अटृहास तथा मातृकाहरूको हुँकार सुनी लोक प्रलय भयो भन्ने जानी लोकमै त्राहि–त्राहि भए । यसरी सृष्टि अस्तव्यस्त देखिन थाल्यो, साथै जानकीको पदभार सहन गर्न नसकी पृथ्वी पातालतिर जान लागेको देखी देवताहरू महादेवसँग प्रार्थना गर्न लागे, देवाताहरूको प्रार्थना सुनी भगवान् महादेव शवरूप धारण गरी जानकीको चरणतलमा सुत्नु भयो र पृथ्वीलाई भारहीन गराउनु भयो ।

भगवान् महादेवले पृथ्वीलाई त स्तम्भीत पार्नु भयो । तर अन्य लोकमा जानकीको ताण्डव नृत्यलाई सहन गर्न नसकी हाहाकार मच्चियो अव संसार भङ्ग हुन लाग्यो भनी इन्द्रादि देवता जय ! जयकार गर्न लागे । स्तुति गर्न लागे । “रावण सगणं हत्वा जगतां सुखहितम् । किं पुनर्नृत्यक लया जगत्संह्ृियते त्वया ।। यस्तो ब्रह्माजीको वचन सुनी देवताहरूलाई भन्न लागिन् । मेरो पति बाण लागी मृतसमान पुष्पकमा सुतिरहनु भएको छ भने म कस्को लागि हित चिताउँछु एकै गाँसमा चराचर जगतलाई खाई दिन्छु भनी हुँकार गर्नलाग्नु भयो । तव सीताको यस्तो वचन सुनी भगवान् ब्रह्माजीले रामलार्ई स्पर्श गरी चेतना गराई दिनु भयो । भगवान् रामलार्ई चेतना भएपछि जानकीलाई नदेखी रणभूमिमा महाभयंकर रूपवाली महाकालीलाई ताण्डप नृत्य गरीरहेको देखी डराई आँखा चिम्लनु भयो ।

सीताले महाकालीको रूप लिई सम्पूर्ण राक्षसलाई मार्नु भएको सम्पूर्ण वृतान्त ब्रह्माजीले रामजी समक्ष विस्तार गर्नुभयो । हे राम ! सीताबिना तपाई पनि केही गर्न सक्नु हुन्न । तर यिनीसहित तपाईले जगत् उत्पन्न गर्न तथा नष्ट गर्न सक्नु हुन्छ भन्ने तथ्य प्रमाणित गर्न सक्नु हुन्छ । भगवती सीताले यो रूप धारणा गरी समूल राक्षसहरूको सर्वनाश गर्नु भयो । यो कुरा सुनिसकेर भय त्याग गरी साक्षात् निर्गुण, निराकार, सत्, असत् व्यक्तिदेखि रहित भई जानकीलाई हेर्नु भयो तव जानकीको रूप देख्नु भयो ।

भगवान् रामले यस्तो रूप देखी तपाई को हुनुहुन्छ म तपाईलाई चिन्दीनँ मलार्ई आफ्नो यथार्थ वर्णन गर्नुहोस् भन्दा परमेश्वरी भन्नुहुन्छ,–

मां विद्धि परमां शक्तिं महेश्वरसमाश्रयाम् ।
अनन्यामव्ययामेकां यां पश्यन्ति मुमुक्षवः ।।
अहं वै सर्व भावानामात्मा सर्वांतरा शिवा ।
शाश्वति सर्वविज्ञाना सर्वमूर्तिप्रवर्तिका ।।

हे राम ! म महेश्वरको आश्रितवाली परमशक्ति शिवा सम्झनुस्, म नै कहिल्यै नाश नहुने अविनाशी एक हुँ, मुमुक्षुजनले मात्र मलार्ई देख्न र जान्न सक्दछन् । सवै भावको आत्मा, सवै प्राणीको अन्तष्करणमा विराजमान हुने शिवा हुँ । म नै अनन्त निरन्तर रहने हुँ । मलार्ई बाहिरी आँखाले देख्न सकिंदैन । म नै ज्ञान र विज्ञान हुँ । सवै प्राणीहरूलाई संसारबाट तारण गर्ने तारणहार हुँँ । त्यसैले म तपाईलाई दिव्य चक्षु दिन्छु तव मेरो ईश्वरीय पद हेर्नुहोस् भनी ईश्वरीय पदको दर्शन दिनु भयो ।

भगवान् रामले,– “नाम्नामष्टसहस्रेण तुष्टाव परमेश्वरीम्” ।। परमेश्वरीलाई एकहजार आठ नामबाट स्तुति गर्न लाग्नु भयो र भन्नु भयो हे ! देवी यो तपाईको ईश्वरीय रूप देखी म भयभीत भैरहेको छु । यो रूप छाडी शान्त, सौम्य रूप देखाउनु होस् भनी बारम्बार प्रणाम गर्नु भयो । तब देवी खुशी भई रामलार्ई वरदान दिनको इच्छा राखी भन्न लाग्नु भयो । हे राम ! जुन वरको इच्छा छ माग्नु होस् भन्दा भगवान् रामले त्यो तपाईको ईश्वरीय रूप मेरो हृदयबाट कहिल्यै नहटोस् र मेरा सबै भाइ वानर, सहृदयी तथा विभीषणादि भित्रहरूसँग फेरि मिलन होस् भन्दा तथास्तु भनी वरदान दिनु भयो र आफ्नै पुरानै निललोहीत रूपमा समागम् भई सीताकै स्वरूपमा परिवर्तन हुनु भयो । त्यसपछि आकाशबाट पुष्पवृष्टि हुन लाग्यो ।

भगवती सीताले सहस्रवदन रावणलाई मार्नु भयो । यसरी रावणलाई मारी आफ्नो अयोध्या धाम जानु भयो र भगवान् रामले आफ्ना भाइका साथ बाह्र हजार वर्ष राज्य गर्नु भयो भनी अद्भुत रामाणमा समेत उल्लेख गरेको प्रसङ्ग सार सङ्क्षेपमा नेपाली भाषामा भाव विस्तार गरेको छु । यसरी सीताजीले शिवाको रूप धारण गरी सहस्रवदन रावणको समूल नष्ट गर्नुभयो । यस्तो दश टाउको भएको लङ्कापति रावणको सम्बन्धमा विभिन्न पुराण, उपनिषद् तथा रामायणमा पनि वर्णन भएकोले पढ्न तथा सुन्न पाइन्छ र तिनले गरेका राम्रा नराम्रा कार्यहरूको हाम्रो समाजमा ठुलै प्रभाव समेत पारेको छ । तर अद्भुत रामाणमा वर्णन गरेको सहस्रवदन रावणको वारेमा अन्य कुनै पुराण, उपनिषद् तथा धार्मिक ग्रन्थमा कहिँ कतै उल्लेख गरेको नपाइएको हुँदा हाम्रा पौराणिक, धार्मिक गुरु, तथा विद्वान बर्गहरूले अध्ययन, अनुसन्धान गरी सुसूचित गराउनुनै हुनेछ भन्ने यो लेखक तथा जिज्ञासुहरू अपेक्षित् छन् ।

सीताको लीलाकै विषयमा अर्को एउटा सानो दृष्टान्त छ ।“सीप सासु प्रती भेष बनाई । सादर करइ सरिस सेवकाई”। भगवती सीताले आप्mना जती सासुहरु छन् त्यती नै भेष बनाएर सासुको सेवाशुस्रुषा गर्नु हुन्थ्यो । यो रहस्य रामजीलाई मात्र थाहा थियो भनेर सन्त तुलसीदासजीले मानसमा वर्णन गर्नु भएको छ ।

माता सीताको चरित्रको सम्बन्धमा यी तलका उपनिषद्का वाक्यले रामायण अर्थात् ”रामस्य अयनं “ रामजीको घर, “रामः अय्यते प्राप्यते अनेन तत्“ जसबाट रामको प्राप्ति हुन्छ त्यही रामायण हो । “सीताया चरितं महत्”अर्थात् सीताको महान चरित्र नै रामायण हो । कसरी सीताको चरित्र भयो भन्ने जिज्ञासा हुनु स्वभाविकै हो । यस भनाइलाई यस वाक्यले पुष्टि गर्दछ । “रमायया चरितम् रामम्”

साभार : रामायण रहस्य, नेपाल प्रज्ञा प्रतिष्ठान, लेखक, सुरेन्द्र प्रसाद सिग्देल

*काठमाडौँ कपन निवासी सुरेन्द्र प्रसाद सिग्देल लेखक हुनुहुन्छ । उहाँको पाण्डव-गीता पुस्तक प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

सीता उत्पत्ति दिवस र यसको सान्दर्भिकता

नेपालकी राष्ट्रिय विभुति माता सीता र उनको पतिव्रता