२३ बैशाख २०८१, आइतबार

कांग्रेसलाई बलियो बनाउने अठोट बोकेर जनतामाझ जाऔँ : महामन्त्री थापा


गगनकुमार थापा

गोदावरी, ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बलियो र सबल बनाउने अठोट बोकेर जनतामाझ जानुपर्ने बताएका छन् ।

कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठककोे आज समापन गर्दै उनले महासमिति बैठकपछि पार्टीलाई बलियो र सबल बनाउने गरी जनतामाझ जानुपर्ने बताए ।

महामन्त्री थापाले हामी अभिभावक र सेवक भएकाले राम्रो काम गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । विसं २०४६ देखि हालसम्म नेतृत्वमा रहेका सबैको सम्पत्ति छानबिन गर्ने अठोट कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले भने, “काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिनुपर्छ । भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई कांग्रेसले वरपर राख्न हुदैन ।” उनले पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

“कांग्रेसले चार वर्षमा १२ लाख नयाँ सदस्यता थपेर आगामी निर्वाचनमा देशकै सबैभन्दा धेरै मत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ”, महामन्त्री थापाले भने । बदलिँदो कांग्रेस र बलियो कांगेसको आडमा आगामी १५ वर्षमा देश निर्माणको सपना पूरा गर्ने उनको भनाइ थियो ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकले देशमा सुशासन र समुन्नतिलाई अगाडि बढाउन कांग्रेस एक ढिक्का भएको सन्देश दिएको बताए । “महासमिति बैठकमा देशको पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्मका समस्यालाई देख्ने र सुन्ने मौका पायौँ । यसको समाधानका लागि कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ”, उनले भने ।

महामन्त्री शर्माले मुलुकलाई नेतृत्व गर्ने पार्टी कांग्रेस भएको उल्लेख गर्दै आगामी दिनमा पार्टीबाट उठाउने उम्मेद्वार भूगोलबाट छान्ने प्रवृत्तिलाई अगाडि बढाउनुपर्ने बताए । महासमिति बैठकबाट पारित कुरालाई पार्टीले अक्षरश पालना गर्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीलाई बलियो बनाउनका लागि देशभरका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए । “समावेशी, समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेकाले आज संसद्मा महिला, मधेसी, मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । यो कांग्रेसको देन हो”, उनले भने ।

कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीले महासमिति बैठकमा प्रस्तुत प्रतिवेदन कार्यान्वयन गरेर अगाडि बढ्न सके पार्टी झन् बलियो भएर अगाडि बढ्ने बताए । “कांगेस एकढिक्का भयो भने कसैले हराउन सक्दैन”, उनले भने ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी (डिना) उपाध्यायले पार्टीभित्र उठेका महिला सहभागितालाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताए । उनले गठबन्धनका कारण कार्यकर्ताले रुखमा भोट हाल्न नपाउँदा निराशा उत्पन्न भएको उल्लेख गरे । कांग्रेसले आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने उनको भनाइ थियो ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले महासमिति बैठकले पार्टीलाई नविन दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरे । “कांग्रेसले कसैलाई काखा र कसैलाई पाखा लगाएर हिँड्दैन । जनतालाई केन्द्रमा राखेर अगाडि बढ्छ”, उनले भने ।

कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बैठकबाट प्राप्त सुझावलाई समेटेर पार्टीको विधानलाई परिस्कृत गर्दै लैजानुपर्ने बताए । उनले वर्तमान समयमा आमजनतामा देखिएको निराशालाई कांग्रेसले चिनुपर्ने धारणा व्यक्त गरे । कांग्रेसले सबैलाई समेटेर अगाडि बढ्ने तागत राख्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले कांग्रेसले अन्य पार्टीसँग समय र परिस्थितिअनुसार गठबन्धन गर्नुपर्ने बताए । उनले पार्टीलाई तीन वर्षपछि एक्लै लड्ने पार्टी बनाउन सबै लाग्नुपर्ने उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !