२६ बैशाख २०८१, बुधबार

सञ्चारमन्त्री शर्मा र इजरायली राजदूतबीच शिष्टाचार भेट


रेखा शर्मा र हनान गोडर गोल्डबर्गर

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रको विकासका लागि इजरायलसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताइन् । नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री शर्माले कृषिमा यसको प्रयोग गर्न चाहिरहेको बताइन् ।

पहिलेको तुलनामा सूचना प्रविधिको क्षेत्रमा नेपालले पनि उल्लेख्य विकास गरेको जानकारी दिंदै मन्त्री शर्माले सूचना प्रविधिलाई राज्यको प्राथमिकतामा राखिएको बताउइन् । ‘हामीले सरकारको नीति तथा कार्यक्रममार्फत पनि यो स्पष्ट गरेका छौं कि अब नेपालमा सूचना प्रविधि प्राथमिकताको क्षेत्र हो’– उनले भनिन्– ‘डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको छ ।’

देशभरि सूचना सञ्चारको पहुँच विस्तार तीब्र गतिमा भइरहेको उल्लेख गर्दै उनले यसमा प्रधानमन्त्रीको उच्च प्राथमिकता रहेको मन्त्री शर्माले जानकारी गराइन् । इन्टनेटको फोजी सेवा देशभरि पुर्याउने कामलाई अन्तिम चरणमा पुर्याइएको उल्लेख गर्दै मन्त्री शर्माले फाइभजी सेवा पनि परीक्षणका लागि क्रममा रहेको बताइन् । उनले नपालले आफ्नै स्याटेलाइट राख्ने सवाललाई पनि प्रथामिकतामा राखेको उल्लेख गर्दै सस्तो र गुणस्तरीय स्याटेलाइट राखेर सूचना प्रविधिको विकासलाई नयाँ आयाम दिने सरकारको सोंच रहेको बताइन् ।

राजदूत गोडरले पछिल्लो समय नेपालले चाँडो चाँडो विकास गरिरहेको बताए । आफू लामो समयदेखि नेपालमा रहेको उल्लेख गर्दै उनले पछिल्लो समय सूचना प्रविधिलगायत सबै क्षेत्रमा नेपालले तीब्र विकास गरिरहेको बताए ।

नेपालको एउटा प्रदेशको हाराहारीमा रहेको इजरायलले सूचना प्रविधिमा धेरै विकास गरेको औल्याउँदै उनले सूचना र सञ्चारको क्षेत्रमा प्रभावकारी सेवा भएन भने अबका दिनमा विश्व समुदायमा प्रतिष्पर्धा गर्न कठिन हुने भएकाले पनि विश्वले यस क्षेत्रमा चाँडोचाँडो विकास गरिहेको बताए ।

नेपालमा धेरै हिमाली र पहाडी क्षेत्र भएकाले सबै ठाउँमा बराबरी सञ्चार सुविधा पुर्याउन कठिनाइ देखिएको उल्लेख गर्दै उनले नेपालले आफ्नै स्याटेलाइट राख्न सकेको हकमा निकै प्रभावकारी हुने सुझाव पनि दिए । भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !