२३ बैशाख २०८१, आइतबार

देश बदल्न कांग्रेस बदलिनुपर्छ : महामन्त्री थापा


गगनकुमार थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बदलिन कांग्रेस बदलिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘प्रथम काठमाडौँ सम्मेलन’ लाई उद्घाटन गर्दै उनले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको उल्लेख गरे ।

“एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री बन्ने कुराले आज एकसाथ कांग्रेस, एमाले, माओवादी जस्ता पुराना पार्टी सङ्कटमा परेका छन्, जनताले नयाँ खोजेकाले यसलाई रुपान्तरण गर्न जरुरी छ”, उनले भने । प्रजातन्त्रमा एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री हुने देश कुनै नभएको उनको भनाइ छ ।

महामन्त्री थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको उल्लेख गरे । दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उहाँले उल्लेख गरे ।

उहाँले कांग्रेस बदलिएमात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुटन सबैलाई आग्रह समेत गरे । महामन्त्री थापाले कांग्रेस सकियो भनेर नआत्तिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

उनले गठबन्धन सरकार परिवर्तन हुनसक्ने भए पनि कांग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !