१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बन्दै


कमलबहादुर शाह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन् । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेसंगै कांग्रेसका शाहलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सुदूरपश्चिममा एमालेको सरकार ढलेको हो । सुदूरपश्चिम प्रदेशसभाबाट विश्वासको मत नपाएसंगै मुख्यमन्त्री राजेन्द्र रावल स्वतः पदमुक्त भएका छन् ।

रावलले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेपछि उनी पदमुक्त भएका हुन् । मुख्यमन्त्री रावलले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्ताव अस्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका हुन् ।

ध्वनि मतमार्फत विश्वासको प्रस्तावमा मत विभाजन हुँदा विश्वासको मतको प्रस्तावको छलफलको विपक्षमा धेरै मत देखिएपछि रावल पदमुक्त भएका हुन् । विश्वासको मत लिने समयसीमा सकिँदा समेत नागरिक उन्मुक्ति पार्टी प्रदेशसभाको बैठकमा उपस्थिति नै भएन ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि अब उपधारा ३ अनुसार सरकार बन्ने भएको छ । अब प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा ठूलो दल काँग्रेसको संसदीय दलको नेता शाहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रक्रिया सुरू हुने छ ।

५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा १९ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ । कांग्रेस संसदीय दलका नेता शाहले अब आफूले मुख्यमन्त्रीमा आजै दाबी पेश गर्ने सम्भावना रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, नेकपा (एमाले) का १०, नेकपा (माओवादी केन्द्र) का ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ जना सांसद रहेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिममा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री रावल पदमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !