२३ बैशाख २०८१, आइतबार

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए सरकारलाई स्वीकृति


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति पौडेलले आगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा सरकारलाई नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएका हुन् ।

यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनको सुरक्षाका लागि राष्ट्रपति पौडेलले सरकारलाई सेना परिचालनको स्वीकृति दिएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रिय सुरक्षा परिषदको गत वैशाख १० गतेको बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को वैशाख १० गतेको निर्णय तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को वैशाख १० गतेको पत्रको आधारमा सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको जानकारी दिएकी छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८१ साल वैशाख १५ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को मिति २०८१/१/१० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०८१/१/१० को निर्णय तथा प्रधानमन्त्रीको २०८१/१/१० को पत्रको आधारमा उल्लेखित कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।’

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था अनुसार उनले स्थानीय तहको निर्वाचनमा सेना परिचालनको स्वीकृति दिएका हुन् ।

यस्तो छ हेर्नुस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !