२३ बैशाख २०८१, आइतबार

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत


यामलाल कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । आज बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् ।

कुल ४० सदस्यीय कर्णाली प्रदेशसभामा उपस्थित ३६ जना सांसदमध्ये आजको प्रदेशसभा बैठकबाट कँडेललाई तीन दलका २३ मत पाएका हुन् भने विपक्षमा १२ मत र एक सांसद तटस्थ रहे ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन् भने कांग्रेसका एक सांसद निलम्बनमा परेका छन् ।

मुख्यमन्त्री कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् । कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्‌मा अनुपस्थित रहे ।

प्रदेशसभाका सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेललाई परेको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको घोषणा गरिन् । कँडेललाई प्रदेश प्रमुख तिलक परियारले गत चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !