२२ बैशाख २०८१, शनिबार

पूर्वमन्त्री अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय


महोम्मद अफ्ताव आलम

रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । आज बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले पूर्वसांसद आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

जिल्ला अदालत रौतहटले आलमलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गर्दै आलमसहित ४ जनालाई जन्मकैद (२० वर्ष) को फैसला गरेको हो ।

जन्मकैदको सजाय पाउनेहरुमा आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हो ।

रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आज अन्तिम सुनुवाइ भएर फैसला भएको हो । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आलम दोषी ठहर भएका हुन् ।

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा घटना भएको १२ वर्षपछि २०७६ साल असोज २६ गते आलम पक्राउ परेका थिए ।

आलम बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दामा आलम पुर्पक्षका लागि जेल चलान भएका थिए । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !