२५ बैशाख २०८१, मंगलबार

सत्ता गठबन्धनको निर्णय : संसद्मा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने


सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक

काठमाडौं । सत्ता गठबन्धनका दलको बैठकले संसदका सबै दलसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत माग्ने निर्णय गरेको छ ।

आज आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले सरकारका लागि संसद्मा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको हो ।

साथै बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निणर्य गरेको छ । न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गर्ने पनि बैठकले निणर्य गरेको छ ।

बैठकमा सत्ता साझेदार दलहरूबिच संघीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा समेत छलफल भएको छ । सत्ता साझेदारीका बारेमा मूलभूत रूपमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिटै सार्वजनिक गर्ने पनि बैठकले निणर्य गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !