२५ बैशाख २०८१, मंगलबार

एउटै जिल्ला बागलुङबाट माओवादी केन्द्रमा तीन सचिव चयन


दीनानाथ शर्मा देवेन्द्र पौडेल र हितमान शाक्य

बागलुङ । बागलुङका तीन नेता नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकसाथ पुगेका छन् । शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य सचिवमा चुनिएका हुन् ।

शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उनीहरुसहित २० पदाधिकारी चयन गरेको थियो । पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का हुनुहुन्छ । तीनै नेता पार्टी स्थायी समिति सदस्य हुन् । शर्मा विसं २०६८ शिक्षामन्त्री भएका थिए ।

शाक्य अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्षसमेत हुन् । माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जिल्लाले केन्द्रीय नेतृत्व पाउनु सुखद् रहेको बताए । “अग्रज, पार्टीमा योगदान दिनुभएका र योग्य व्यक्तित्व नेतृत्वमा पुग्नुभएको छ”, उनले भने, “योसँगै जिल्लामा पार्टी निर्माण र सङ्गठन सुदृढीकरणमा पनि सकारात्मक योगदान रहने हाम्रो विश्वास छ ।”

उनले जिल्लाले नेताहरू जन्माए पनि जनस्तरमा पार्टी निर्माणको गति अपेक्षितरूपमा अगाडि बढ्न नसकेको उल्लेख गरे । स्थायी समिति बैठकले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङलाई चयन गरेको छ ।

यस्तै बैठकले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ ।

दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की सचिवमा चयन हुनुभएको छ । कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !