१५ बैशाख २०८१, शनिबार

कांग्रेस नेता प्रदीप गिरीको असामयिक निधन


प्रदीप गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको असामयिक निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको आज शनिबार राती ९ः३० बजे निधन भएको हो ।

घाँटीको क्यान्सरबाट पीडित गिरीको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो । उनको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. पंकजकुमार बर्मनले पनि साँझ साढे ९ बजे उपचारका क्रममा नेता गिरीको निधन भएको जानकारी दिए ।

विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो । नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय भएका थिए ।

उनी २०२४ सालमा बनारसमा नेपाल छात्र संघमा निर्वाचित भएका थिए । उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा क्षेत्र नम्वर ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भइ संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए ।

यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए । नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका थिए ।

गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक थिए ।

बौद्धिक नेताको छवि बनाएका गिरी लामो समय कांग्रेसमा रहेर राजनीति गरेतापनि उनलाई अन्य राजनीतिक दलका नेताहरुले पनि उनलाई उत्तिकै सम्मान गर्छन् । नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका गिरी कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका सहयात्री समेत हुन् ।

अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

निष्ठाको राजनीति गर्ने गिरी पटक-पटक सांसद बनेपनि मन्त्री भने बनेनन्, मन्त्री बन्न लालायित पनि भएनन् । उनको असामयिक निधनले मुलुकले अपुरणीय क्षति व्योहोर्नुको साथै एक इमान र निष्ठाको राजनीतिका शिखर पुरुष गुमाएको छ ।

कांग्रेस संसदीय दलले वक्तव्य जारी गर्दै उनको पार्थिव शरीरलाई भोलि आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ । विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

नेपालपत्र परिवारको तर्फबाट दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ ! साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै गहिरो समवेदना व्यक्त गर्दछौं  !

यस्तो छ हेर्नुहोस् गिरीको निधनमा काँग्रेसले निकालेको शोक विज्ञप्ति

शोक विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !