१५ बैशाख २०८१, शनिबार

निर्वाचनसम्म गठबन्धन कायम रहने सञ्चारमन्त्री कार्कीको दावी


ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म गठबन्धन कायम रहने दावी गरेका छन् ।

कृष्णप्रसाद भट्टराई फाउण्डेशनले आज बुधबार काठमाडौंमा आयोजना गरेको ‘नव-निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई, शुभकामना तथा अन्तर्क्रिया’ कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गठबन्धन निर्वाचनसम्म रहने जिकिर गरेका हुन् ।

मन्त्री कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । उनले जलस्रोत, पर्यटन, कृषि क्षेत्रलाई उपयोग गरेर मुलुकलाई आगामी १० वर्षभित्रमा समृद्ध मुलुकका रुपमा विकास गर्ने योजना गरेको बताए ।

सत्ता गठबन्धनको कार्यदलको बैठकमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गर्दा मन्त्री कार्कीको धारणा बाहिर आएको हो । गठबन्धनको प्रमुख दल नेपाली काँग्रेस आफ्नो एकलौटी बहुमत पुग्नेगरी सिट बाँडफाँट हुनुपर्ने रणनीति अपनाएर अघि बढेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बृहत बाम शक्तिलाई मिलाएर अघि बढ्ने रणनीतिमा छन् ।

यस्तै गठबन्धनकै अर्को सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले पनि सम्मानजनक सिट बाँडफाँटको अपेक्षा राखेको छ । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सिट बाँडफाँटका लागि गठन भएको गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको हो ।

बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा बस्ने गठबन्धनको कार्यदलको बैठकमा आज सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ । आजको बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेश गर्न लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !