२५ बैशाख २०८१, मंगलबार

सार्वजनिक लेखा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश


भरतकुमार शाह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन, २०७९’ आजको बैठकमा पेश गरे ।

उनले प्रतिवेदन पेश गर्नुअघि नेकपा (एमाले) का सांसद राजेन्द्र गौतमले सार्वजनिक लेखा समितिको नेतृत्वको प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने जिकिर गरे । उनले संसदीय मूल्य र मान्यताअनुसार पनि सो समितिको सभापति आफूहरूले पाउनुपर्ने दाबी गरे ।

त्यस्तै बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित संसदीय विशेष समितिमा रहेको सदस्यको नाम हेरफेर गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

यसैगरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएका चार विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए ।

सचिव योगीले प्रस्तुत गर्नुभएको विधेयकमा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’, ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९’ छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !