२२ बैशाख २०८१, शनिबार

प्रचण्डले प्रधानमन्त्री देउवा र सभामुख सापकोटासँग अर्थमन्त्रीका बारेमा छलफल गर्ने


शेरबहादुर देउवा, प्रचण्ड र अग्नि सापकोटा

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री जनार्दन शर्माको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् ।

आज मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले प्रचण्डले प्रधानमन्त्री र सभामुखसंग छलफल गर्ने निष्कर्ष निकालेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री शर्माको बारेमा संसदीय छानबिनको माग गरेपछि प्रचण्डले प्रधानमन्त्री र सभामुखसंग छलफल गर्न लागेका हुन् ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालय लगेर करको दायरा हेरफेर गरिएको भन्दै अर्थमन्त्री शर्माको चौतर्फी चर्को आलोचना भइरहेको छ । मन्त्रालयले सिसिटिभी फुटेज पनि हराएको भनेपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने पनि माग बढ्न थालेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले हिजो प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै संसदीय छानबिनको माग गरेका थिए । प्रमुख प्रतिपक्षी दलका नेताले नै संसदको ध्यानाकर्षण गराएको र सरकारमा चरम दबाब बढेपछि निकासका लागि प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल बाध्य भएका हुन् ।

संसदीय छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउने वा राजीनामा दिएर विवाद समाधान गर्ने भन्ने विषयमा निकास दिन छलफल गर्न लागिएको हो । प्रचण्डले विवादित अर्थमन्त्री शर्माको सेफ ल्याण्डिङको विवाद समाधानका लागि प्रधानमन्त्री देउवा र सभामुख सापकोटासँग छलफल गर्ने भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !