१२ श्रावण २०८१, शनिबार

वेस्ट इण्डिज ‘ए’ र नेपाल बीचको अन्तिम खेल आज हुँदै


रोहित पौडेल

काठमाडौं । वेस्ट इण्डिज ‘ए’ र नेपाल बीचको अन्तिम खेल आज हुँदै छ । ट्वान्टी–२० शृंखलाअन्तर्गत वेस्ट इण्डिज ‘ए’ र नेपाल बीचको अन्तिम खेल आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुन लागेको हो ।

पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल आज दिउँसो १२:१५ मा सुरु हुनेछ । नेपालले अर्को महिना वेष्ट इण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकप खेल्नुअघि आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्न लागेको हो ।

ट्वान्टी–२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इण्डिज ‘ए’ ले शृंखला जितिसकेको छ । पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको हो।

सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इण्डिज ‘ए’ले शृंखला जितेको थियो ।

गत बिहीबारको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सकेको थियो । यो जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृङ्खला सुनिश्चित गरेको हो ।

चार खेल सकिँदा वेस्ट इण्डिजले तीन र नेपालले एक खेल जितेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो

यसै वर्षको जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इण्डिजबिच यो मैत्रीपूर्ण अभ्यास खेल खेलिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो ।

आईसीसी टी–२० विश्वकप जुन २ तारिखदेखि सुरु हुनेछ । नेपालले जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । नेपालको समूह ‘डी’ मा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !