१५ बैशाख २०८१, शनिबार

प्रमुख प्रतिपक्षी दल एमालेद्वारा राष्ट्रियसभाको बैठक अबरुद्ध


राष्ट्रियसभाको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले पेट्रोलियम पदार्थमा लगातार मूल्यबृद्धि गरिँदा जनतामा मारमा परिरहेकाले यसको विषयमा सम्वन्धित मन्त्रीले सदनमा जवाफ नदिएसम्म बैठक चल्न नसक्ने भन्दै राष्ट्रिय सभाको आजको बैठक अरुबद्ध पारेको छ ।

बैठक शुरु हुने बित्तिकै समय मागेर बोल्दै प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खिमलाल भट्टराईले सरकार महँगीको विषयमा अझैसम्म गम्भिर हुन नसकेको बताउँदै महँगी नियन्त्रणका लागि बजारको अनुगमन र नियममा खासै चासो नदिंदा अहिले जनता महँगीको मारमा परिरहेको बताए ।

स्वाचालित प्रणाली अनुसार सरकारले १५ दिनमा एक पटक मात्र पेट्रोलियम पदार्थको मूल्य घटबढ गर्न सक्ने व्यवस्था भए पनि अहिले त्यसलाई मिच्दै सरकारले लगातार मूल्यबृद्धि गर्दा जनता मारमा परिरहेको सांसद भट्टराईको भनाई थियो ।

मुलुकमा आज राज्य बिहीनताको अवस्था सिर्जना भइरहेको छ भन्दै सांसद भट्टराईले सत्ता पक्ष र सरकारका मन्त्रीहरु बाटनै अहिले नियम मिच्ने काम भइरहेको बताए । संस्कृतिमन्त्रीले बोलेको शब्द कहिँ कसैले पनि बोल्न नसक्ने भन्दै सांसद भट्टराईले संस्कृतिमन्त्री अहिलेसम्म पनि पदमा नै बसिरहनु दुःखद भएको बताए ।

अर्थमन्त्रीले बिचौलीयासँग साँठगाँठ गरेर सेटिङमा नयाँ बजेटको करको दरहरुमा हेरफेर गरेको आरोप लगाउँदै सांसद भट्टराईले गत जेठ १४ गते राती १० देखि १२ बजेसम्मको अर्थमन्त्रालयको सीसी फुटेल देखाउन सरकारले किन नसकेको ? भनी प्रश्न समेत गरे ।

एमालेका सांसद भट्टराईले बोलिसके पछि राष्ट्रिय सभाका अध्यक्षण गशेणप्रसाद तिमिल्सिनाले मूल्यबृद्धि जस्तो गम्भिर विषयमा सांसदहरुले निरन्तर कुरा उठाइरहेकाले राष्ट्रिय सभाको अर्को बैठकमा सम्बन्धीत मन्त्रीबाट जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए । सभाध्यक्षको रुलिङ पछि पनि एमालेका सांसदहरुले सम्वन्धित मन्त्रीको चित्तबुझ्दो जवाफ आएपछि मात्र बैठक अगाडि बढ्न सक्ने भन्दै उभिएर विरोध जनाइरहे पछि बैठक स्थगित गरिएको थियो ।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ माथिको मन्त्रालयगत छलफल जारी रहने कार्यसूची रहेको थियो । राष्ट्रिय सभाको अर्को बैठक भोलि असार ८ गते दिउँसो १ बजेका लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !