२५ बैशाख २०८१, मंगलबार

सशक्त प्रतिपक्ष दल एमाले छिट्टै सरकारमा आउन सक्छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सशक्त प्रतिपक्ष भएकाले छिट्टै सरकारमा आउन सक्ने दाबी गरेका छन् ।

आज बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि सुरु भएको छलफलमा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्ष दल जहिले पनि गभर्नमेन्ट इन वेटिङको रुपमा रहने स्पष्ट पारेका हुन् ।

एमाले बहुदलपछि फुत्त आएको पार्टी होइन संघर्षबाट आएको पार्टी भएको स्पष्ट पारे । उनले सत्ता गठबन्धनले प्रतिपक्षलाई सिध्याउने भन्दै स्थानीय तहको निर्वाचनमा राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाए ।

ओलीले सरकारको नीति तथा कार्यक्रम स्वादविहीन भएको टिप्पणी गरेका छन् । नेता ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको भन्दै राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको भनी सरकारको नीति तथा कार्यक्रमको आलोचना गरे ।

उनले त्यस अवसरमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन नसकेको आरोप पनि लगाएका छन् । उनले लोकतन्त्रको आधारभूत मूल्य र मान्यताको रुपमा रहेको निर्वाचन भयरहितरुपमा सम्पन्न हुन नसकेकामा गुनासो गरे ।

उनले राजनीतिक संवादहीनतामा राखिएको, राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षीसँग संवाद नगरिएको आरोप लगाउँदै यस विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले परराष्ट्र नीतिलाई आवेगपूर्ण र सत्तास्वार्थमा सङ्कुचित बनाइएको आक्षेप पनि लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !