१५ बैशाख २०८१, शनिबार

अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविरमा गएकोप्रति एमालेको आपत्ति, संसदमा कुरा उठाउने


केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको तिब्बती शरणार्थी शिविरमा गएकोप्रति कडा आपत्ति जनाएका छन् ।

आज बुधबार बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले नेपालको परराष्ट्र नीतिको स्थापित मान्यताका विपरीत राज्यकै समन्वयमा अमेरिकी उपमन्त्री शरणार्थी शिविर छिरेको भन्दै आपत्ति जनाएका हुन् ।

अमेरिकी मन्त्रीको नेपाल भ्रमणमा नेपालको परराष्ट्र नीतिका स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने प्रकारको व्यवहार भएको भन्दै ओलीले विरोध जनाएका हुन् । भोलि दिउँसो १ बजे बस्ने संसद बैठकमा सो विषय उठाउने भएका छन् ।

यस्तै ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेको बताएका छन् । ओलीले पार्टीले स्थानीय तहको निर्वाचनमा सोचेअनुरूप नतिजा ल्याउन नसक्नुका कारण पार्टीभित्रकै अन्तर्घातका कारण भएको बताएका हुन् ।

अध्यक्ष ओलीले निर्वाचनमा पार्टीभित्रै अन्तर्घातबारेमा गम्भीर समीक्षा गर्न जरुरी भएको र प्रमुखले जितेको ठाउँमा पनि उपप्रमुखले हार्नुले पनि यो कुरा प्रष्ट भएको बताए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामको संक्षिप्त चर्चा गरेर पार्टीका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका ओलीले सरकारले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको चिरफार गर्दै सशक्त, तर्कयुक्त र तथ्यपरक ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए ।

अध्यक्ष ओलीले निर्वाचन परिणाम सन्तोषजनक नभएको समीक्षा गर्दै आगामी निर्वाचनमा थप योजनासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !