२५ बैशाख २०८१, मंगलबार

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी अमेरिकाका दलाल बने : मोहन वैद्य


मोहन वैद्य

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले वर्तमान सत्तामा रहेका कम्युनिष्ट पार्टीहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अमेरिकी साम्राज्यवादको चरम दलाली बनेको आरोप लगाएको छ ।

गत फागुन २५ गतेदेखि २९ गते फागुनसम्म चलेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरूले राष्ट्रिय गद्धारी गरी अमेरिकी साम्राज्यवादको चरम दलाली बनेको आरोप लगाएको हो ।

प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्ने काममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरेकोले ती दलहरुले राष्ट्रप्रति गद्धारी गरी अमेरिकी साम्राज्यवादको चरम दलाली बनेको क्रान्तिकारी माओवादीले निष्कर्ष निकालेको हो ।

केन्द्रिय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न सोमबार महासचिव किरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले संसदमा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा नेकाका साथै कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरुद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भण्डाफोर गर्न अति जरुरी भएको छ ।’

साथै बैठकले सरकारले संसदवाट अनुमोदन गरेको एमसीसीको बारेमा पनि पार्टीको धारणा सार्वजनिक गरेको छ । वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को उक्त बैठकले एमसीसी अमेरिकी साम्राज्यवादद्वारा नेपालमा थोपर्ने धृष्टता गरिँदै आएको एमसीसी सम्झौता विशुद्ध आर्थिक आवरणमा पेस गरिए पनि सारमा हिन्द–प्रशान्त रणनीतिको अभिन्न अङ्ग भएको तथा नेपालको कानुन भन्दा माथि रहेको निष्कर्ष समेत निकालेको छ ।

‘सो प्रस्तावमा हालै संसदमा कथित बहुमतद्वारा अनुमोदन गरिएको एमसीसी संझौताबारे उल्लेख गर्दै भनिएको छ — अमेरिकी साम्राज्यवादद्वारा नेपालमा थोपर्ने धृष्टता गरिँदै आएको एमसीसी सम्झौता विशुद्ध आर्थिक आवरणमा पेस गरिए पनि सारमा हिन्द–प्रशान्त रणनीतिको अभिन्न अङ्ग भएको, नेपालको कानुन भन्दा माथि रहेको, अनेकौं कडा शर्तहरु थोपरिएको तथा ती संशोधन नै नहुने भनिएको, नेपालको राष्ट्रिय हित, असंलग्न परराष्ट्र नीति, राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताका विरुद्ध भएको र अमेरिकाको नवउपनिवेशवादी नीति अनुरुप नेपाललाई सैन्य अखडामा परिणत गर्ने अति घृणित उद्देश्यमा आधारित निकै खतरनाक एवम् हानिकारक रहेको छ । त्यसका विरुद्ध हाम्रो पार्टी लगायत विभिन्न वामपन्थी शक्ति तथा अन्य देशभक्त जनताद्वारा निरन्तर संघर्ष संचालन गरिएको र कैयौं देशभक्त सांसदहरुद्वारा सशक्त आवाज उठाइएको भए पनि त्यस प्रकारको जनअभिमतको घोर अवज्ञा गरी नेकाको नेतृत्वमा रहेको गठबन्धन सरकार तथा त्यसमा आवद्ध माओवादी केन्द्र एवम् एकीकृत समाजवादी जस्ता कम्युनिस्ट नामधारी गुटहरुद्वारा अमेरिकी साम्राज्यवादको दलाली गर्दै कथित व्याख्यात्मक घोषणाको भ्रमजाल खडा गरी संसदको कथित बहुमतको नौटङ्की रचेर सो राष्ट्रघाती संझौता अनुमोदन गरियो । यस स्थितिमा हामीले यस संझौतालाई अनुमोदन गर्ने दलालहरुको सशक्त विरोध तथा भण्डाफोर गर्दै देशको राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको पक्ष र राष्ट्रघाती संझौताको खारेजीका लागि संघर्षलाई निरन्तर अगाडि बढाउँदै जानु पर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकमा महासचिव वैद्यले ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव बहस गरी आवश्यक थपघट तथा परिमार्जनसहित सर्वसम्मत रुपमा पास गरिएको थियो । साथै उक्त पार्टीले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ ।

‘निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने संभावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन वहिष्कारद्वारा नै समुुज्ज्वल हुुने देखिएकोले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अवलम्बबन गरिएको कुरा उल्लेख गरिएको छ । साथै बहिष्कार आन्दोलनलाई दुइ महिने अभियान बनाई सञ्चालन गर्ने निर्णय समेत लिइएको छ ।’ उक्त पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ हेर्नुहोस् बैद्य नेतृत्वको माओवादीले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ हेर्नुहोस् बैद्य नेतृत्वको माओवादीले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु