२६ बैशाख २०८१, बुधबार

प्रतिनिधिसभामा लेखा समितिका सभापतिद्वारा प्रतिवेदन पेश


भरतकुमार शाह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले “सार्वजनिक लेखा समितिको एक्काइसौंँ वार्षिक प्रतिवेदन, २०७८” पेश गरेका छन् ।

बैठकको प्रारम्भमै नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गर्दै ‘वेल’ घेराउ गरेका थिए । नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसद डा. भीमबहादुर रावललाई बोल्ने समय दिएका थिए ।

सांसद रावलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौताका केही असन्तुष्टी सम्बोधन हुनुपर्ने धारणा व्यक्त गर्दै अनुमोदनपछि एमसिसी कार्यान्वयनको अवस्थाबारे जनताले जानकारी पाउनुपर्ने बताए ।

साथै उहाँले भारतीय पक्षबाट नेपालको पश्चिम सीमानामा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको उल्लेख गर्दै त्यसबारेमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद रावलले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता ल्याउन सरकारले गरेका प्रयास बारेमा पनि जानकारी माग गरेका थिए ।

बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको सिमानामा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिहेको सम्बन्धमा नेपाल सरकार किन बोल्दैन भनी प्रश्न गरे ।

साथै उनले सिमाना विवाद समाधानका बारेमा के पहल भइरहेको छ भनी सभामुखमार्फत सरकारसँग जानकारीको माग गरे । प्रतिनिधिसभाको अर्काे बैठक आगामी चैत २ गते १ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !