२१ बैशाख २०८१, शुक्रबार

एमालेको बहुप्रतिक्षित संसदीय दलको बैठक जारी


एमालेको संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहुप्रतिक्षित संसदीय दलको बैठक जारी भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी एमालेको संसदीय दलको बैठकले दुई ठूला निर्णय गर्न सक्ने संकेत देखिएकोले उक्त बैठकलाई राजनीतिक वृत्तको विशेष चासोका साथ हेरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिबारे बैठकमा छलफल हुने बुझिएको छ । हिजो आइतबार सत्ता गठबन्धनका ९८ जना सांसदले जबराविरुद्ध अविश्वासको प्रस्ताव ल्याई प्रधानन्यायाधीश जबरामाथि महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।

बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुनुका साथै प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटा र सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने बारेमा पनि निर्णय गर्न सक्ने संकेत देखिएको छ ।

हिजो आइतबार प्रधानन्यायाधीश जवरालाई सत्तारुढ दलहरूले महाअभियोग लगाएपछि एमालेले एमालेले चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । महाअभियोग प्रस्तावबारे छलफल गर्न आज जारी संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्ने सर्वोच्चका न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । एमालेले यस अघिदेखि नै प्रधानन्यायाधीश जबरासहित पाँचै जनाविरुद्ध महाअभियोग लगाउनुपर्ने जिकिर गर्दै आएको थियो ।

एमालेले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ । सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।

बैठकमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने र महाअभियोग प्रस्ताव दर्ता हुने एमाले स्रोतले बताएको छ । यस्तै एमालेले प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव लगाउने तयारी गरेको छ ।

हिजो आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले महाअभियोग प्रस्तावलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै आपत्ति जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको आरोप लगाउँदै वैशाख ३० गतेमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

सर्वोच्चका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने एमालेको तयारी

सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोगको तयारीमा एमाले

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !