२५ बैशाख २०८१, मंगलबार

कांग्रेस उपसभापतिमा देउवा पक्षका खड्का र कोइराला पक्षका गुरुङ निर्वाचित


पूर्णबहादुर खड्का र धनराज गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का २१२१ र गुरुङले १९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य थिए । यसैगरी खड्का दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार भएका थिए भने गुरुङ सभापति पदका प्रमुख प्रतिष्पर्धी नेता डा. शेखर कोइराला ‘प्यानल’को उम्मेदवार भएका थिए ।

उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार २ मतले मात्र पराजित भएका छन् । सभापति देउवा ‘प्यानल’ कै उनले १९०६ मत प्राप्त गरेका हुन् । समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा. चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आगरेका चार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

कांग्रेसले विधानतहः उपसभापतिको निर्वाचन पहिलोपटक गरेको हो । यसअघि उपसभापति मनोनीत हुने प्रावधान थियो । सोमबारको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भई आज बिहान १ बजे सम्पन्न भएको थियो । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको हो ।

सोमबारको मतदानमा ४७४३ मतदातामध्ये ४६८९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पुनः सभापतिमा निर्वाचित भइसकेका छन् ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुरु गरिएको हो । उपसभापति पदको मतपरिणाम घोषणापछि अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने बताइएको छ । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी-जनजाति १५, खस-आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यकबाट १, अपाङ्ता भएकाबाट १ सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !