२५ बैशाख २०८१, मंगलबार

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङको अग्रता


पूर्णबहादुर खड्का र धनराज गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना पार्टी केन्द्रीय कार्यालयमा आज साँझ ६ः१५ बजेदेखि शुरु भएको हो ।

राति केहीबेर अघिसम्म १३०० मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले ५७८, धनराज गुरुङले ५६२, विजयकुमार गच्छदारले ५१३, डा चन्द्र भण्डारीले ५०४, सुजाता कोइरालाले १८०, महेश आचार्यले १२३ र दिव्येश्वरी शाहले ३५ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिनुभयो । मतगणना तीन स्थानमा गरिएको छ ।

सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिनुभएको थियो । जम्मा ४७४३ मतदातामध्ये ४६७९ मतदाताले मतदान गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा आज मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !