१४ बैशाख २०८१, शुक्रबार

अध्यक्ष ओलीले गरे एमालेको १० औं महाधिवेशनको उद्घाटन


केपी शर्मा ओली

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।  चितवनको नारायणी नदी किनार नारायणगढमा एमालेको महाधिवेशनको भव्य रुपमा उद्घाटन भएसंगै महाधिवेशन औपचारिक रुपमा शुरु भएको छ ।

अध्यक्ष ओलीले राष्ट्रिय झण्डा, पार्टीको निर्वाचन चिह्न (सूर्य) र कम्युनिष्ट पार्टीको हँसिया हथौडा अङ्कित झण्डा फहराएर महाधिवेशन उद्घाटन गरेका हुन् । उद्घाटन हुनुअघि जातजातिगत सांस्कृतिक कला, धून र झाँकी प्रदर्शन गरिएको थियो ।

एमालेको महाधिवेशनको बन्द सत्र भने चितवनको पर्यटकीय नगरी सौराहामा हुनेछ । भोलि मङ्सिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुने भएको हो ।

नेकपा एमालले ५ लाख भन्दा बढी कार्यकर्ता चितवन उतार्ने बताएको छ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ । आज मंसिर १० गतेदेखि १२ गतेसम्म गरी ३ दिनसम्म हुने सो महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता जम्मा भएका छन् ।

एमालेका नेता तथा कार्यकर्ताहरू चितवन पुगेसँगै चहलपहल देखिएको छ । एमाले महाधिवेशन प्रचारका लागि चितवनका विभिन्न ठाउँ सजाइएका छन् । अध्यक्ष केपी शर्मा ओलीका ठूला फोटा सडक किनारमा राखिएका छन् ।

महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन् । प्रतिनिधिमध्ये ५ प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका हुन । प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिलाको रहेका छन् ।

कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उनको भनाइ थियो । महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहनेछन् । उद्घाटन सत्रका दिन ५ हजार स्वयंसेवक परिचालन हुनेछन् ।

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भट्टराईका अनुसार भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडिया लगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आउनेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् । कोरोनाका कारण धेरै देशबाट पाहुनाहरु उपस्थित हुन नसकेको बताइएको छ ।

अध्यक्ष मण्डल र माइन्युट कमिटि बनिसकेका छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने छ ।

मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ । सोही दिन साँझसम्ममा मत परिणाम आउनेछ ।

मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन सम्पन्न गर्न ७ करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशन: उदघाटन समारोहलाई ६ नेताले सम्बोधन गर्दै

सुरक्षाको कारण देखाउँदै अध्यक्ष ओलीले नारायणीमा बोटिङ गर्ने कार्यक्रम स्थगित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !