२५ बैशाख २०८१, मंगलबार

सर्वोच्च र एमसीसी विवादको विषयमा बालुवाटारमा शीर्ष नेताबीच छलफल


प्रचण्ड र देउवा

काठमाडौं । सर्वोच्च अदालतमा उत्पन्न विवादबारे संयुक्त धारणा बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

सत्तारुढ गठबन्धनका तीन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताबीच न्यायालय विवादबारे साझा धारणा बनाउन छलफल हो ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालबीच आज शुक्रबार साँझ भेटवार्ता भएको हो ।

शीर्ष नेताबीच भएको छलफलमा प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवासँग न्यायालय विवादमा कांग्रेसको धारणा सोधेका थिए । छलफलका क्रममा प्रधामन्त्री देउवाले अझै केही दिन परिस्थिति हेरेर मात्र यस विषयमा गठबन्धले निचोड निकाल्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

न्यायलय विवादको विषयमा एकीकृत समाजवादीले गठबन्धनमा आवद्ध दलहरुसँग छलफल गरेर धारणा बनाउने निर्णय परिसकेको छ भने माओवादी, कांग्रेस, जसपा र जनमोर्चाले यस विषयमा निर्णय गरेर पार्टीको आधिकारिक धारणा सार्वजानिक गरिसकेका छैनन् ।

यस्तै भेटवार्ताका क्रममा एमसीसीको विषयमा समेत कुराकानी भएको बुझिएको छ । एमसीसी पास गर्छौं भनेर चिठी लेखेको भन्ने देउवाको अभिव्यक्तिले देउवा-प्रचण्ड सम्वन्धमा खटपट आएको छ भने सिंगो सत्तारुढ गठबन्धनमा नै अहिले तरंग उत्पन्न भएको छ ।

स्कटल्यान्डको ग्लास्गोमा भएको कोप-२६ सम्मेलनमा भाग लिएर स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए ।

आज शुक्रबार ललितपुरको खुमलटारस्थित आफ्नो निवासमा कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी देउसीभैलो टोलीलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने भन्दै थप समयका लागि चिठी लेखेको बताएका छन् ।

यद्यपि ‘प्रचण्ड’ ले एमसीसी सम्झौता पारित गर्छौं भनेर चिठी नलेखिएको स्पष्ट पारेका हुन् । प्रचण्डले एमसीसी संशोधन नगरी कुनै हालतमा पारित नहुने बताएका हुन् ।

उनले विदेशी सहायता स्वीकार गर्नु स्वभाविकै हुने भएतापनि एमसीसीमाथि प्रश्न उठेको बताएका छन् । उनले एमसीसी सम्झौता पहिले सही नै भए पनि बीचमा थपिएका प्रवाधानहरुले प्रश्न उब्जाएको स्पष्ट पारेका छन् ।

एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री देउवाको भनाइले देशभरी तरंग आएको बताउँदै प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताएका हुन् । प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी लेखिएको देउवाको सोही भनाइप्रति तीव्र आपत्ति प्रकट गर्दै खण्डन गरेका हुन् ।

उनले एमसीसी पारित गर्न राजनीतिक दलहरुसँग आवश्यक छलफल गर्नुपर्ने बारेमा चिठी लेखिएको प्रष्ट पार्ने कोशिश गरेका हुन् । उनले एमसीसी पारित गर्ने समय मागेतापनि पारित गर्ने भनेर चिठी नलेखिएको प्रष्ट पारेका हुन् ।

एमसीसी पास गर्न चिठी लेखेको भन्ने देउवाको अभिव्यक्तिले देउवा-प्रचण्ड सम्वन्धमा आएको खटपट र सत्तारुढ गठबन्धनमा उत्पन्न तरंगलाई विषयान्तर गर्न बालुवाटार भएको शीर्ष नेताहरुको छलफललाई लिन सकिन्छ । तर यो छलफलले एमसीसी विवादले गठबन्धनमा सल्लेको आगो निभाउन कत्तिको महत्वपूर्ण भूमिका खेल्यो भन्ने हेर्न केही दिन कुर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

देउवाको भनाइमा प्रचण्डको आपत्ति : एमसीसी पारित गर्ने भनेर चिठी नलेखेको स्पष्टोक्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !