६ बैशाख २०८१, बिहिबार

बागमतीमा आज मतविभाजन, को बन्ला अबको नयाँ मुख्यमन्त्री ?


अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे

मकवानपुर । वाग्मती प्रदेशसभाको आज बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्तावमा मतविभाजन गरिने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी खटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

गत कात्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेको दलगत रुपमा प्रदेशसभाका सदस्यले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । यसअघि कात्तिक ४ गते बागमतीमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी प्रदेशसभा बैठक आजसम्म स्थगित भएसंगै एमाले नेतृत्वको प्रदेश सरकारको आयु एक साता लम्ब्याइएको थियो ।

विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डेको नाम प्रस्ताव गरिसकेका छन् । बागमतीमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति पनि जुटेको छ । एमालेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।

प्रदेशसभामा हाल सत्तापक्ष (नेकपा एमाले) का ४३, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी)का २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा एकीकृत (समाजवादी) का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य रहेका छन् ।

एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । मुख्यमन्त्री शाक्यका पक्षमा एमालेका ४३ जना प्रदेशसभा सदस्य मात्रै छन् ।

वाग्मती विपक्षी गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रबाट २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा (एकीकृत समाजवादी) का १३ र जसपाको एक जना सांसद छन् । वाग्मती विश्वासको मत पाउन ५५ जना सांसद आवश्यक पर्छ । विपक्षी गठबन्धनमा ५९ जना सांसद रहेका छन् ।

प्रदेशसभामा रहेका विवेकशील साझाका ३ सांसद, नेमकिपा २ जना र राप्रपाका २ जना सांसद रहेका छन् । विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताइसकेको छ । मजदुर किसान पार्टी र राप्रपाले अहिलेसम्म कित्ता क्लियर गरिसकेका छैनन् ।

विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छन् । अब पाण्डे नै मुख्यमन्त्री हुने सम्भावना बलियो छ । बाग्मतीमा विपक्षी गठबन्धनका धेरै सांसदले फ्लोर क्रस नगरेमा मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने भएकोले अहिलेको अवस्था हेर्दा पाण्डे मुख्यमन्त्री बन्ने पक्का जस्तै छ ।

गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् । यसरी पहिला एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

यो पनि पढ्नुहोस्

वाग्मतीकी मुख्यमन्त्री शाक्यको पदको छिनोफानो आज हुँदै

वाग्मती प्रदेशसभाको विश्वासको मतका लागि तयारी पूरा

बागमतीमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद एक हप्ता जोगियो

आलोपालो सरकारको नेतृत्व : वाग्मतीमा पहिला पाण्डे र पछि बानियाँ मुख्यमन्त्री बन्ने

अन्तत: वाग्मतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !