२१ बैशाख २०८१, शुक्रबार

१० बुँदे कार्यान्वयन नभएको भन्दै एमालेको तेस्रो धारले बैठक बहिस्कार गर्ने चेतावनी


भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तेस्रो धार नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आज शुक्रबारदेखि शुरु भएर २ दिनसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उपाध्यक्ष रावलसहित तेस्रो धारका नेताहरुले एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग पनि गरेका छन् । उनीहरुले एकता प्रस्तावको अक्षरश: पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रष्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।

यद्यपि अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन् । असार २७ गते भएको १० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि माधवकुमार नेपाल समूहमा रहेका दोस्रो पुस्ताका नेताहरु एमालेमै रहेका थिए ।

आज शुक्रबारको बैठकमा ३ वटा दस्तावेजमा समूहगत छलफल गर्न ८ वटा समूह बनाइएको छ । तर तेस्रो धारका १० नेता निकटका केन्द्रीय सदस्यहरुले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पष्ट नभएसम्म कुनैपनि बैठकमा सहभागी नहुने बताएका हुन् ।

यो पनि पढ्नुहोस्

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् आजका छलफलका एजेण्डाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !