२१ बैशाख २०८१, शुक्रबार

एमाले स्थायी कमिटी बैठक किन अचानक ४ घण्टा पर सारियो ?


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक ४ घण्टा पर सरेर दिउँसो ३ बजेका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठक दिउँसो ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ । आज बस्न लागेको एमाले स्थायी कमिटि बैठकमा तेस्रो धारका नेताहरु पनि सहभागी हुने भएका छन् । तयारी पुरा नभएकाले बैठक ४ घण्टा पछि सार्नुपरेको बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बलकोटमा ओली समूहका नेताहरु र माधव नेपालको साथ छाडेका एमालेको तेस्रो धारका नेताहरुवीच हिजो भएको बार्ता भएको थियो । तेस्रो धारका नेताहरु १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न बालकोट पुगेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएपछि उनीहरु बैठकमा सहभागी हुने भएका हुन् ।एमाले प्रवक्ता प्रदिप ज्ञवालीले हिजो वार्तापछि बोल्दै आज बस्ने बैठकबाट नेपाललाई नयाँ दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना रहेको बताएका थिए ।

यसअघि ओलीले भेट नदिएर निराश भएर पार्टी छोड्ने मनस्थितिमा पुगेका तेस्रो धारका नेताहरु र ओली समूहका नेताहरुवीच निर्णायक वार्तामा भएको थियो । नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो समूहबाट पनि अलग भएका उनीहरुले यसबीचमा एकता पक्षधर केन्द्रीय सदस्य र सांसदहरुको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यन्वयन गर्न अध्यक्ष अ‍ोलीलाई अल्टिमेटम दिएका थिए ।

एमाले विभाजनमा नेपाललाई साथ नदिएका नेताहरूको माग सम्बोधन गर्न १० बुँदे सहमति कार्यान्वयनको ‘टाइमलाइन’ सहित मोडालिटी बन्ने भएको छ । १० बुँदे सहमति अक्षरशः पालना भए एमालेमै बस्ने मनस्थितिमा रहेका नेताहरूवीच हिजो ओलीको वार्ता भएको थियो ।

ओली समूहका केही नेताहरुले १० बुँदे कार्यान्वयन भइसकेको र बाँकी कुरा पार्टी बैठकमा आएर राखे भइहाल्छ भन्नेजस्ता हल्का टिप्पणी गरेको भन्दै ओलीको पनि त्यही कुरा भए एकता कुनै हालतमा सम्भव नहुने तेस्रो धारका नेताहरुले अडान राख्दै आएका थिए ।

नेपालले दल दर्ताका लागि निवेदन दिइसकेको र सनाखत गर्ने बेला संघीय संसद र केन्द्रीय कमिटीमा रहेका नेताहरूले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने भएकाले हिजोको बालकोट छलफललाई निर्णायक मानिएको छ ।

लामो समय माधवकुमार नेपाल समूहसँग रहेका तर उनको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नगएका उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रल गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु पनि बैठकमा सहभागी हुनेछन् ।

नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन् । उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आएका छन् । पार्टी एकताका लागि ओली लचक हुनुपर्ने र नेपालले पनि नयाँ दल खोल्न नहुनेमा उनीहरूको जोड छ ।

यो पनि पढ्नुहोस्

एमालेको स्थायी कमिटि बैठक आज बस्दै, तेस्रो धारका नेताहरु पनि सहभागी हुने

एमालेले बोलायो स्थायी कमिटि बैठक, तेस्रो धारका नेताहरु पनि सहभागी हुने

बालकोटमा ओली र माधव नेपाल छाडेका तेस्रो धारका नेताहरुबीच वार्ता

ओलीले भेट नदिएपछि एमालेको तेस्रो धारका नेताहरु निराश, पार्टी छोड्ने मनस्थितिमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !