१९ बैशाख २०८१, बुधबार

ओलीले भेट नदिएपछि एमालेको तेस्रो धारका नेताहरु निराश, पार्टी छोड्ने मनस्थितिमा


भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे

काठमाडौं । लामो रस्साकस्सी पछि अन्तत: नेकपा एमाले फुटेको छ । नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसंगै एमाले विभाजन भएको हो ।

लामो समयदेखि नेपाललाई साथ दिंदै आएका केही नेताहरुले उनको साथ छोडेका छन् । औपचारिक रुपमै विभाजनको संघारमा पुगिसकेको एमालेमा तेस्रो धारको जन्म भएको हो । नेपालले आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि निवेदन दिएपछि उनको साथ छोडेका तर केपी शर्मा ओली समूहमा पनि लाग्न नसकेका मध्यमार्गी नेताहरुले एमालेमा तेस्रो धार जन्माएका हुन् ।

एमाले विभाजन हुँदा नेपाललाई साथ नदिई पार्टी एकताको लागि जोड दिइरहेका नेपाल समूहका नेताहरू ओलीदेखि पनि निराश हुन थालेका छन् । पार्टी एकताका लागि विघटित कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्न एमाले दोस्रो तहका नेताहरूले जोड दिइरहेका छन् ।

उनीहरूले पार्टी अध्यक्ष ओलीलाई सहमति कार्यान्वयनका लागि आग्रह गरिरहेका छन् । नेपालको साथ छाडेका एमाले नेताहरूको शुक्रवार बसेको बैठकले १० बुँदे सहमति निश्चित समयभित्र कार्यान्वयन गर्नु पर्ने निष्कर्ष निकालेको थियो ।

सहमति कार्यान्वयन नभए एमालेभित्र विद्रोह गर्ने अभिव्यक्ति सो धारका नेताहरूले दिइरहेका छन् । सोही क्रममा सहमति कार्यान्वयन बारेमा छलफल गर्न एमाले उपाध्यक्ष भीम रावलसहित केही नेताहरूले अध्यक्ष ओलीसँग भेटेरै कुरा गर्न चाहेतापनि अध्यक्ष ओलीले उनीहरूसँग छलफल गर्न नचाहेको सो धारका एक नेताले बताए ।

अध्यक्ष ओलीले सहमति कार्यान्वयन गर्न रुचि नदेखाएपछि नेता रावल सहितका नेताहरू एमाले छोड्ने मनस्थितिमा पुगेको बताइएको छ । ती नेताका अनुसार अनुसार अध्यक्ष ओलीलाई रावलले फोन गरेका थिए । लगभग १५ मिनेट भएको कुराकानीमा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत गरेपछि रावल लगायतका नेताहरू निराश बनेका हुन् ।

तेस्रो धारको रुपमा देखिएका नेताहरुमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेका छन् । अध्यक्ष ओलीले आफ्ना समूहका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर अहिले तेस्रो धारमा रहेकी अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाईसकेका छन् ।

तेस्रो धारका ९ जना नेताहरुले विहीबार राति अबेरसम्म बैठक गरेर प्रेस विज्ञप्तिमार्फत आफ्नो अवस्था क्लियर गरेका हुन् । एमालेको अर्को शक्तिको रुपमा आफ्नो धारलाई प्रमाणित गर्न लागेका तेस्रो धारका नेताहरू भावी रणनीति बनाउदै छन् ।

यो पनि पढ्नुहोस्

नेकपा एमालेमा तेस्रो धारको जन्म, भावी रणनीति बनाउँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !